३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ १९, २०८१

टीकापुर । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो ।

टिकापुरस्थित कर्णाली माविकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउनुहुन्छ । “महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, ढाड दुख्ने समस्या हुन्छ”, उहाँ भन्नुहुन्छ, “यस्तो बेलामा स्यानिटरी प्याड किनेर ल्याइदिने, पोषिलो खानेकुराको जोहो गरिदिनेलगायत काममा पुरुष सहयोगी बन्नुपर्छ ।”

महिनावारी भएका बेला छुवाछूतको व्यवहार गर्दा पर्याप्त पानीसमेत खान नपाएर स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पोखरेल बताउनुहुन्छ । “कहिलेकाहीँ विद्यालयमै महिनावारी हुन्छौँ, त्यो बेला कक्षाका सबै साथी बाहिर ननिस्कुञ्जेल उठ्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “शिक्षकसँग पनि भन्न आँट आउँदैन, केटी साथी वा महिला शिक्षकसँग मात्र भन्न सक्छौँ ।”

महिनावारीबारे सङ्कोच नमानी कुरा गर्ने वातावरण घर, समुदाय र विद्यालयमा हुनुपर्छ । जनता राष्ट्रिय मावि सोनाहाफाटाकी आकृति रावलले महिनावारीको समयमा महिलालाई भेदभाव हुने गरेको बताउनुभयो । “महिनावारी हुँदा आवश्यक लुगा तथा सामानको जोहो गर्न घरका पुरुषको सहयोग पाइनुपर्छ । बुबा तथा दाजुभाइले प्याड किनिदिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “घरबाटै सहयोग सुरु हुनुपर्छ । पसलमा प्याड किन्ने वातावरण अनिवार्य चाहिन्छ ।”

कर्णाली मावि सत्तीकी समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताउनुभयो । “आमा काममा भएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ”, उहाँले भन्नुभयो, “बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव कम गर्ने वातावरण बनाउन सघाउनुपर्छ ।”

‘न्यू लाइट एजुकेसन होम’की ओजश्वी भाट महिनावारी हुनु सन्तान जन्माउन वा श्रृष्टि चलाउनका लागि सक्षम हुनु हो भन्ने कुरा छोरीहरुलाई पनि बुझाउनुपर्ने बताउनुहुन्छ । “महिनावारीसँगै शरीरमा आउने शारीरिक, मानसिक परिवर्तनबारे ज्ञान दिनुपर्छ, यस्तो बेलामा घर तथा विद्यालयको वातावरण छोरीका लागि सहज हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “यसमा परिवार र विद्यालय जिम्मेवार बन्नुपर्छ । महिनावारीका समयमा तनावमा हुन्छौँ । यस्तो बेलामा पढाइमा रुचि नलाग्न सक्छ ।”

टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी महिनावारीका नाममा समाजमा अपनाइएका गलत अभ्यास रोक्न आवश्यक भएको बताउनुहुन्छ । “हरेक घरमा महिनावारी भएका महिलालाई सघाउने, सहज वातावरण बनाइदिने कार्यमा पुरुषको साथ आवश्यक छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले महिनावारीमा हुने समस्या र समाधानका उपायबारे समुदाय स्तरमै सिकाउनुपर्छ ।”

महिनावारी स्वच्छता महिलाको स्वास्थ्य, प्रजननसँग जोडिएको कुरा भएकाले स्वास्थ्य र चेतनामा सबै जिम्मेवार बन्नुपर्ने हुन्छ । वरिष्ठ नर्सिङ निरीक्षक कल्पना खड्का कुनै रमाइलो दिन, जन्मदिनलगायतका अवसरमा छोरीहरुलाई स्यानिटर प्याड गिफ्ट दिने पुरुष हुनुपर्ने बताउनुहुन्छ । “महिलालाई प्याड किनेर लगिदिने पुरुष निकै कम भेटिन्छन्”, उहाँले भन्नुभयो, “प्याड किन्न पैसो चाहिन्छ, यो पुरुषको स्वामित्वमा हुन्छ, आवश्यक पोषिलो खानेकुरा जुटाइदिन तथा घरायसी काममा सघाउन पुरुष सहयोगी हुनैपर्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]