२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

भूमाफियाले हत्याएको गुठीको जग्गा २३ वर्षपछि फिर्ता

Logo
प्रकाशित बुधबार, माघ १४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ माघ ।भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ ।

विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा २०५४ मङ्सिर ११ गते टीकादेवी विमली, सूर्यकुमार विमली र रमेश महर्जनको नाममा कीर्ते मोही हक कायम भएको थियो । राजगुठीमा दर्ता रहेको सो जग्गामा मोही कायम गरिएका तीनै जना व्यक्ति वास्तविक मोही थिएनन् । राजगुठीका मोहीले शतप्रतिशत जग्गा पाउने कानूनी व्यवस्था भएको हुँदा जग्गा हत्याउन षड्यन्त्रपूर्वक कीर्ते मोही खडा गरिएको थियो ।

लामो समयको विवाद र मुद्दामामिला भएपश्चात स्व टीकादेवी विमलीको छोरा केशवप्रसाद विमलीले सोमबार झापाको भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भई गुठीको जग्गा फिर्ता गरिदिनुभयो । नेपाल सरकारको सहसचिवसमेत रहेका विमलीले ‘हक छाड सनाखत’ प्रावधानअन्तर्गत सो जग्गा गुठीलाई नै फिर्ता गरिदिनुभएको मालपोत कार्यालय भद्रपुरका प्रमुख योगन्द्र दुलालले बताउनुभयो ।

उहाँका अनुसार मालपोत कार्यालयले ‘हक छाड सनाखत’को जानकारी गुठी संस्थानमा पठाइदिने र जग्गाको स्वामित्व पूर्णरूपमा गुठीको नाममा फिर्ता हुनेछ । फिर्ता भएको जग्गा विर्तामोड नगरपालिका–३ को कित्ता नं १२० को एक बिघा दुई कठ्ठा १० धुर, कित्ता नं ८२२ को छ कठ्ठा, कित्ता नं ८२५ को १३ कठ्ठा र कित्ता नं ८१५ को सात कठ्ठा आठ धुर रहेको छ ।

सार्वजनिक सम्पत्ति हडपेको आरोप लागेकामध्ये केशवप्रसाद विमलीले मात्र जग्गा फिर्ता गर्नुभएको छ । सूर्यकुमार विमली र रमेश महर्जनले जग्गा फिर्ता गर्नुभएको छैन । अनारमनी दुर्गा मन्दिरको गुठीको जग्गा फिर्ता गराउन स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर अदालतमा मुद्दासमेत हालेका थिए । सर्वोच्च अदालतले २०६६ फागुन ९ गते कीर्ते मोहीकै नाममा मोही हक कायम गरिदिएको थियो ।

विर्तामोडका पत्रकार गणेश पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएलगत्तै नेपाल सरकारका सहसचिवसमेत रहनुभएका विमलीले जग्गा फिर्ता गरिदिनुभयो । स्व डोमालाल राजवंशीले दुर्गा मन्दिरलाई १३ बिघा जग्गा दान दिएपछि त्यही जग्गा गुठीको स्वामित्वमा वर्षौँदेखि रहँदै आएको थियो । हाल सो जग्गामा स्थानीयवासीले डोमालाल रङ्गशाला निर्माण गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]