१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ चैत्र । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।

सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ ।

पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ ।

होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो । जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ ।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङग््याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ ।

राम खेलए होरी हो
लक्ष्मण खेलए होरी…
रामजीके हाथ कनक पिचकारी
सियाजीके हाथ अबिर झोली….
………………………………………………
का सँग खेलब ऋतु वसन्त
नियर फागुन दूर वसन्त।।।
…………………………………………………
उपवन कुजए चातक कोकिल नानारंग बिरंग
देखि नवीन कुसुम तरू पल्लक थर–थर काँपए अंग…
……………………………………..
जीएब त खेलब अगिले साल….
यस प्रकारका गीत र जोगीरा सरर।।।काबीच उत्साहजनक वातावरणमा आलिङ्गन र सानोले ठूलोको पाउँ छोइ आशीर्वादले वैमनस्यता हराउँछ ।

फागुन पूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवतालाई नैवेद्य चढाउने गरिन्छ, जसलाई मैथिली भाषामा ‘पातरि’ भनिन्छ । राति सामूहिकरूपमा होलिका दहन गरिन्छ ।

संस्कृतिविद् रामदयाल राकेश होली पूर्ण प्रजातान्त्रिक पर्व भएकाले यसमा जातजाति र वर्गमा भेदभाव नगरी धनी, गरीब, उच, नीच सबै मिलेर मनाउने परम्परा भएकाले सदियौँदखि जीवन्त रहँदै आएको बताउछन् ।

उनी भन्छन्, “प्राचीनकालमा त राजा र रैतीले एकसाथ मिलेर होली खेलेको सन्दर्भ कतिपय संस्कृत ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।” सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि समेत नपर्ने मान्यतासमेत रहेको पाइन्छ ।

जनकपुरधामको होली

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट अर्थात आज सोमबार होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ । पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आआफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।

यस अवसरमा यहाँका नाट्य संस्थाको होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ ।

यसरी प्राचीनकालदेखि चलिआएको लामो समयसम्म मनाइने समानताको यो पर्व ओझेलमा पर्न थालेको र केही विकृति पनि देखिन्छ ।

यस पर्वले सृष्टि, प्रगति, स्फूर्ति तथा नयाँ सौन्दर्य प्रदान गर्ने भएकाले एकता र सद्भावको पर्वका रूपमा स्वीकार गर्नुपर्ने धारणा संस्कृतिविद् रामभरोस कापडी ‘भ्रमर’ व्यक्त गर्छन् । प्राध्यापक डा पशुपति झा यस पर्वमाहास्यसम्म क्षम्य भएपनि अनावश्यक मनोरञ्जन क्षम्य हुन नसक्ने बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]