१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

उपचार नपाएरै गयो परियारको ज्यान

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए, ‘उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ’ तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारको उपचार नपाएरै मृत्यु भयो।

चार दिनदेखि रूघाखोकी, जिउ दुख्ने र ज्वरोबाट पीडित उनले गाउँकै औषधि पसलबाट औषधि किनेर सेवन गरेका थिए। समस्या झन् बल्झिँदै गएपछि उनी सोमबार साँझ करिब ७ बजेतिर बटेश्वर बजारस्थित आरपी मेडिकल हल पुगे। एकजना सहयोगीसहित मेडिकल पुगेका परियारलाई मेडिकल सञ्चालकसमेत रहेका स्वास्थ्यकर्मी सुबोध साहले जनकपुर जान सल्लाह दिए। ‘ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाम जान भनें,’ साहले भने, ‘मैले उपचार गर्ने अवस्था थिएन, मेडिकलमा हामीले प्राथमिक उपचार गर्ने मात्र हो।’

बिरामीलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएका एम्बुलेन्सचालक रामबाबु महतोले भने, ‘अस्पतालले बेड अभाव भन्दै भर्ना गर्न मानेन। त्यसपछि उनलाई जानकी हेल्थ केयर अस्पताल पुर्‍याएँ। त्यहाँ पनि भर्ना भएन। बिरामीका सहयोगीले त्यहाँबाट फर्केर अर्को अस्पताल पुर्‍याइदिन भनेपछि रामजानकी हस्पिटल लगिदिएँ।’ त्यहाँ पनि भर्ना नलिइएपछि सहयोगीसहित बिरामीले घरै पुर्‍याइदिन भनेको चालक महतोले बताए।

भर्नाका लागि दुवै निजी अस्पतालले परियारसँग धेरै रकम धरौटी राख्न भनेका थिए। जुन उनका लागि सम्भव थिएन। करिब डेढ घण्टासम्म प्रदेश मुकाम जनकपुरधामका विभिन्न अस्पताल चहार्दा पनि उपचार सम्भव नभएपछि घर फर्केको भोलिपल्ट मंगलबार बिहान उनले प्राण त्यागे। एम्बुलेन्स चालक महतोका अनुसार सोमबार राति परियारको अक्सिजन स्याचुरेसन ४५ र तापक्रम ९९ रेकर्ड गरिएको थियो। नागरिक दैनिकमा प्रकाशित समाचार स्रोतका अनुसार मेडिकल हलबाट एम्बुलेन्समा बसेका परियारले श्वास फेर्न गाह्रो भयो भन्दै अक्सिजन लगाइदिन भनेको चालक महतोले बताए। ‘फूल फ्लो’ अक्सिजन दिएर परियारलाई प्रादेशिक अस्पताल पुर्‍याएको चालक महतोले बताए।

‘प्रादेशिक अस्पतालमा धेरैबेर हारगुहार गर्दा पनि भर्ना लिइएन। अन्य निजी अस्पतालले पनि भर्ना नलिएपछि बिरामीलाई पुनः फर्काएर बटेश्वरको मेडिकल हलमा ल्याइदिएँ’, चालक महतोले भने। उनका अनुसार रामजानकी अस्पतालमा चिकित्सकले परियारको शरीरमा अक्सिजन मात्रा जाँच गर्दा ४५ मात्र रहेको बताएका थिए।

सास फेर्न नसकेर छटपटाउँदै रात काटेका परियार मंगलबार बिहानै एकजना सहयोगी साथ फेरि आरपी मेडिकलमा पुगे। मेडिकलका स्वास्थ्यकर्मी साह उनलाई हेर्नेबित्तिकै आतिए। उनले तुरुन्तै जनकपुर लगिहाल्न सल्लाह दिए। पैदलै मेडिकल पुगेका परियार पुगेका फर्किन लाग्दा सिँढीमा ढले। ढलेका उनी उठ्न सकेनन्। त्यहीं उनले प्राण त्यागे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]