०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

अजयकुमार साह
जनकपुरधाम ,२५ असार । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ ।

अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्यारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ ।

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७ गते बेगम खातुन अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी बेगमलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छिन् ।

अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । बेगमकी ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैन् । लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको समीर नदाफले बताउनुभयो ।

दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका समीरको न आफ्नो घर छ, न त काम । उहाँले भन्नुभयोे, “दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाउ रु” उहाँले उपचार खर्च तिर्न नसक्दा आफ्नो श्रीमती र नवजात शिशु घर ल्याउनको लागि भनी चार पाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको बताउनुभयो ।

समीरले आज बिहान राससको कार्यालयमा आएर उपचार खर्च जुटाई दिनका लागि गुहार माग्नुभयो । उहाँले भन्नुभयो, “सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागे, अहिले रु ५० हजार जति सङ्कलन भयो तर अझ रु ६० हजार घटेको छ । तपाईको सञ्चारमाध्यमबाट उपचार खर्च जुटाउनका लागि सम्पूर्ण मनकारीसँग गुहार मागेको छु ।”

उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । यता बेगमको श्रीमान् समीर भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन् । “एउटा झोला र कापी लिएर हिँडेको छु”, दुःख सुनाउँदै उहाँले भन्नुभयो, “कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।” समीरले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । “यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन”, मलिन अनुहारमा उहाँले दुखेसो पोख्नुभयो ।

शल्यक्रिया र औषधिको लागि ऋण खोजेर उहाँले करीब करीब रु ५० हजार उपचारमा रित्याइसक्नुभएको छ । उहाँले भन्नुभयो, “अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन ।” यसरी श्रीमती अस्पतालमा छन्, श्रीमान् पैसाको खोजीमा गाउँ टोलमा भौँतारिँदै छन् । समीरले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न आग्रह गर्नुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ । तर उपचार खर्च चाँडो जुटाउन नसके गाहे हुनसक्ने उहाँको दुःखेसो छ ।

अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनकाअनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]