०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

कांग्रेसमा लेबी उठाउनै समस्या

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ भाद्र। सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गुनासो गरे। समयमा लेबी उठाउन पछिल्लोपटक भदौ ८ गते केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो।

परिपत्रमार्फत तत्काल लेबी बुझाउन ताकेता गरिएको थियो। परिपत्रमा लेबी नबुझाएको व्यक्ति पार्टीको १४औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार हुन नसक्नेसमेत उल्लेख गरिएको छ। लेबी नबुझाएको व्यक्ति वडा अधिवेशनमा समेत उम्मेदवार हुन नपाउने व्यवस्था पार्टीको नियमावलीमा छ। तर बिहीबारबाट कांग्रेस वडा अधिवेशन हुँदै गर्दा अघिल्लो दिनसम्म कैयौं कार्यकर्ताबाट लेबी उठ्न नसकेको बताइएको छ।

‘लेबी नुबझाउने व्यक्तिले पार्टीको कुनै पनि चुनावमा भाग लिन नपाउने व्यवस्था नियमावलीले गरेको छ। हामीले पनि पटकपटक ताकेता गरेका छौं,’ उनले भने, ‘तर पनि अझैसम्म पूरा लेबी उठ्न सकेको छैन।’ कति संख्यामा लेबी उठ्न सकेन भन्नेबारे हिसाब हुन बाँकी रहेको पनि उनले बताए। ‘कुनकुनबाट लेबी उठ्यो, कहाँबाट उठेन, त्यो हिसाब गर्न बाँकी छ। तर उठ्नुपर्ने लेबी उठ्न सकेको छैन,’ उनले भने। नेपाली कांग्रेस रोल्पा जिल्ला समितिका अध्यक्ष अमर पुनले लेबी उठ्नै नसकेको बताए। उनले भने, ‘अहिलेसम्म रोल्पाबाट एक रूपैयाँ पनि लेबी उठेको छैन।’

कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७६ असार २९ गते बसेको बैठकले नियमावली पारित गरेको थियो। उक्त नियमावली २०७६ साउन १ गतेबाट लागु भएको थियो। नियमावलीमा सार्वजनिक लाभको पदमा निर्वाचित, मनोनीत वा नियुक्त भएका पार्टीसम्बद्ध व्यक्तिले मासिक शुल्क (लेबी) बुझाउनुपर्ने व्यवस्था गरिएको छ। नियमावली पास भएपछि केन्द्रीय कार्यालयले पहिलोपटक २०७७ माघ २० गते ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो। त्यसपछि पनि लेबीका लागि पटकपटक ताकेता गरिएको जनाइएको छ।

नियमावलीमा केन्द्रको कोषमा केन्द्रीय सदस्यहरू, संघीय सांसद तथा प्रदेशसभाका सांसद, पालिका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले मासिक पारिश्रमिकको २० प्रतिशत तथा जिसस सदस्यहरूले मासिक पारिश्रमिकको १० प्रतिशत केन्द्रको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यीबाहेक पार्टीमातहतका विभिन्न समितिमा आबद्ध भएका पार्टी सदस्यहरूले सोही समितिमा लेबी बुझाउनुपर्ने व्यवस्था गरिएको मुख्य सचिव पौडेलले बताए।

अहिले नेपाली कांग्रेसको मुद्दती खातामा १० करोड रूपैयाँ छ। बाँकी करिब २ करोड रूपैयाँ बचत खातामा राखिएको उनले बताए। उनका अनुसार क्रियाशील सदस्यता वितरणबाट यो वर्ष पार्टीलाई धेरै राहत भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]