०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

एमसीसी: माओवादी र एकीकृत समाजवादीमा असन्तुष्टि

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ फागुन। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए । एमसीसी पारित गर्ने सहमतिसँगै दुवै दलको बसेको छुट्टाछुट्टै स्थायी कमिटी बैठकमा नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताले बैठकमा असन्तुष्टि पोखेका थिए । अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा व्याख्यात्मक घोषणासँगै एमसीसी संसद्बाट पारित गर्ने बैठकलाई जानकारी गराउनासाथ उनीहरूले आपत्ति जनाएका थिए ।

‘एमसीसी सम्झौता व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्न सकिँदैन । एमसीसी सम्झौतामा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्नु पार्टी, देश र जनताको हितमा छैन,’ पार्टी बैठकमा पोखरेलले भने ।

माओवादी केन्द्र सुरुदेखि नै एमसीसी सम्झौताको विपक्षमा उभिँदै आएको थियो । एमसीसी सम्झौताका केही सर्त संशोधन नगरी यथास्थितिमै स्वीकार नगर्ने पक्षमा उभिएको माओवादी व्याख्यात्मक घोषणा गरेर स्वीरकार गर्ने निष्कर्षमा पुगेको थियो ।

बैठकमा अध्यक्ष दाहालले आफूले व्याख्यात्मक घोषणा गरी एमसीसी संसद्बाट पारित गर्दा एमसीसी सचिवालयले त्यसलाई ग्रहण गर्नुपर्ने बताए । व्याख्यात्मक घोषणामा समेटिएका विषय स्वीकार नगरिए सोहीअनुसार अगाडि बढ्ने उनको भनाइ थियो ।

यस्तै, एकीकृत समाजवादी पार्टीभित्र समेत असन्तुष्टि देखिएको छ । अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न लागिएकाले नेपालको कानुनमाथि हुने बताए । तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, मेटमणि चौधरीलगायतका नेताले व्याख्यात्मक घोषणासहित एमसीसी स्वीकार गर्नु आपत्तिको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

व्याख्यात्मक घोषणापश्चात् एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजवादीभित्र असन्तुष्ट नेतालाई मनाउन अध्यक्ष नेपाललाई हम्मेहम्मे परेको थियो ।

नेता खनालले एमसीसी संसद्बाट अनुमोदन भएमा चीनलाई असर पर्ने टिप्पणी गरेका थिए । ‘चीन राइज गर्दै छ । चीन राइज भएकोमा अमेरिका आपत्ति गर्दै छ,’ खनालले भने, ‘चीनको राइज (उदय)लाई कसरी रोक्ने भन्ने चिन्ता छ ?

अमेरिकाले एमसीसीका माध्यमबाट नेपालमा राजनीति गर्न खोजेको पनि खनालले टिप्पणी गरे । एमसीसीलाई यथास्थितिमै संसद्बाट पारित गर्नु नेपाल, नेपाली जनताको हितमा नभएको उनले बताए । एमसीसीमा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणासँगै पारित गर्नु आपत्तिको विषय भएको उनले बताए ।

एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले एमसीसी सम्झौता आर्थिक सहयोग मात्रै नभएर सैन्य रणनीति पनि जोडिएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताएका थिए । अमेरिकी आधिकारीले नै एमसीसी सैन्य रणनीतिअन्तर्गगत भनेकाले एमसीसी के हो भन्ने घामजत्तिकै छर्लंग भएको टिप्पणी चौधरीको थियो । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]