२२ बैशाख २०८२, मंगलबार
06-05-2025 , Tue
×

मधेस प्रदेशमा म्यादी प्रहरीमा युवायुवतीको आकर्षण

Logo
प्रकाशित सोमबार, चैत्र ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ चैत्र। आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको भिड लागेको थियो।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पहिलो दिन नै प्रदेशका आठवटै जिल्लामा पाँच हजार दुई सय १४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन्। त्यसमध्ये पाँच सय ९८ जना महिला छन्। मधेस प्रदेशमा बेरोजगारीको संख्या उच्च रहेकाले पनि म्यादी प्रहरी भर्नामा युवाहरूको आकर्षण बढी देखिएको सर्वसाधारणको भनाइ छ।

म्यादी प्रहरीका लागि आवेदन दिन आएका धनुषा मिथिला नगरपालिका ढल्केवरका बलबहादुर केसी काेराेना महामारीले भारतमा राेजगारी गुमाएका व्यक्ति हुन्। ‘पहिला भारतको दिल्लीमा बसेर लामो समयदेखि काम गरिरहेका थिएँ तर कोरोना महामारीले रोजगार गुमेपछि घरमै बसेकाे थिएँ । अब ४० दिनकै लागि भए पनि रोजगार पाउने आशमा निवेदन दिन आएको छु,’ उनले भने।

मिथिला नगरपालिका जमुनिवासकी इन्द्रमाया श्रेष्ठले यसअघि पनि म्यादी प्रहरीमा जागिर खाइसकेकी छन् । ‘घरमा कामधन्दा छैन, पाँच वर्षपछि पुनः म्यादी प्रहरी सरकारी जागिर खान आवेदन दिन आएकी छु,’ ४५ वर्षीया उनले भनिन् । यसबाट आउने पैसाले घरपरिवारलाई धेरै राहत हुने उनकाे आश छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिन नै युवाहरूको उच्च रहेको बताए । ‘पहिलो दिन नै युवाहरूको संख्या उच्च थियो,’ उनले भने, ‘दोस्रो, तेस्रो दिन झन् उच्च रहने हाम्रो अनुमान हो । धनुषामा करिब साढे तीन हजार म्यादी प्रहरी चाहिएकोमा पहिलो दिन नै १८ सयभन्दा बढीले निवेदन दिइसकेका छन् । अरु त समय नपाएर भोलि आउने भनेर घर फर्काएका छौं ।’

म्यादी प्रहरीमा भर्ना हुनेले प्रहरी जवानले पाउने मासिक तलब पाउँछन् । म्यादी प्रहरीले ४० दिन तलब पाउने छ । यस हिसाबले म्यादी प्रहरीले ४० दिनको ३० हजार २४० रुपैयाँ र रासनको सात हजार दुई सय, पाेसाक तथा अन्य खर्च ६ हजार र निर्वाचनको अवधिमा यातायातको खर्चबापत एक हजार गरी कुल ४४ हजार ४४० रुपैयाँ पाउने छ । म्यादी प्रहरीमा छनाेट भएकालाई १० दिन तालिम दिने छ ।

म्यादी प्रहरीका लागि प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्मको म्याद तोकिएको छ । मधेस प्रहरी कार्यालयका अनुसार प्रदेशभरिमा २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गरिने छ ।

धनुषामा तीन हजार ४८६, सप्तरीमा तीन हजार १३९, सर्लाहीमा तीन हजार ८८, महोत्तरीमा दुई हजार ७३६, रौतहट दुई हजार ५८९, बारा दुई हजार ५२८, सिरहामा दुई हजार ३३१ र पर्सामा एक हजार आठ सय एकजना म्यादी प्रहरी भर्ना गरिने प्रहरी प्रधान कार्यालयबाट परिपत्र आएको मधेस प्रदेशका प्रहरी प्रमुख उमेश रंजितकारले बताए ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सबभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमै राखिने निर्णय भएको उनले बताए । कुल म्यादी प्रहरी २२ प्रतिशत मधेस प्रदेशमै खटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]