२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

महिला उमेदवारलाई चुनावी खर्च जुटाउनै गाह्रो !

Logo
प्रकाशित आइतबार, बैशाख २५, २०७९

कमलेश ठाकुर
जनकपुरधाम ,२५ बैशाख । विभा ठाकुर र अनिता साह आसन्न स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उमेदवार बनेका छन् । महिला नेतृत्वको आवश्यकता औँल्याउँदै जनकपुरमा पहिलोपटक प्रमुख पदमा यी दुईसहित चार महिलाले उमेदवारी दिएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट ठाकुर र जनमत पार्टीबाट साह मेयर पदमा चुनाव लड्ने जिम्मेवारी पाएपछि अहिले प्रचार–प्रसारमा व्यस्त छन् । तर, एक दर्जनभन्दा बढी पुरुष उमेदवारसँग लड्ने आँट गरेका दुवै जनालाई निर्वाचन खर्चले भने निकै पिरोलेको छ ।

नजिकिँदो चुनावले उत्साहभन्दा बढी तनाव बढाएको ठाकुर बताउँछिन् । यद्यपि, जनताले योगदानको मूल्यांकन गरी मतदान गर्नेमा उनी ढुक्क छिन् । भ्रष्टाचार अन्त्य गर्न नागरिकले पुँजीपतिविरुद्ध लड्नुपर्ने उनले बताइन् ।

“चुनाव लड्ने अवसर त पाएँ । तर, अरू उमेदवार जति खर्च गर्न सक्दिनँ,” उनले भनिन् “बढ्दो निर्वाचन खर्चले हम्मे–हम्मे परेको छ । यो मेरो वा अरू एकदुई जनाको मात्र कुरा होइन, समग्र महिला उमेदवारको समस्या छ ।”

महँगिदो चुनावी खर्चले महिलालाई अवसरबाट वन्चित गर्ने उनको चिन्ता छ । वर्तमान निर्वाचन प्रणालीले ठेकेदार, व्यापारी र ‘दलाल’हरूलाई अवसर दिएको उनले आरोप लगाइन् ।

“मधेसमा महिला नेतृत्व आवश्यक छ । तर, महँगिदो निर्वाचन प्रणालीले दुईचार जनाबाहेक धेरै महिलाका लागि टाढाको कुरा हो,” उनी भन्छिन्, “अबको केही वर्षमा राजनीतिमा वास्तविक नेताभन्दा व्यापारी र ठेकेदार मात्रै हुन्छन् ।”

अर्की महिला उमेदवार अनिता साहको बुझाइ पनि ठाकुरको भन्दा फरक छनै । उनकाअनुसार जनकपुरको सन्दर्भमा एक दिनमा अन्य उमेदवारले ३ देखि ४ लाखसम्म खर्च गरिरहेका छन् । त्यही ठाउँमा आफूले २० हजार मात्रै दैनिक खर्च गर्ने गरेको उनी बताउँछिन् । खर्च धान्नै नसक्ने गरी राजनीति महँगो हुँदै गएको उनले बताइन् । अब इमानका साथ राजनीति गरिरहेकाहरू टिक्नै नसक्ने उनको भनाइ छ ।

भ्रष्टाचार अन्त्य गर्नुभन्दा पहिले निर्वाचन सस्तो बनाउनु जरुरी रहेको उनले बताइन् । निर्वाचनमा भोज भतेर र नोट दिएर मत खरिद गर्ने परिपाटीमाथि सरकारले निगरानी बढाउनुपर्ने उनको माग छ ।

“चुनाव अत्यधिक खर्चिलो भएपछि धेरै सक्षम महिलाहरू पछाडि हटेको देखेकी छु,” उनले भनिन्, “प्रमुख राजनीतिक दलहरूले जित्ने उमेदवार को हो भनेर हेर्छन् । अन्तिममा जित्ने उमेदवार छान्ने प्रमुख आधार नै पैसालाई राख्छन् ।”

हंसपुर नगरपालिका–९ मा वडाध्यक्ष पदमा उमेदवारी दिएकी अनिता कुमारी यादव पनि उस्तै समस्याबाट गुज्रिरहेको बताउँछिन् । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उमेदवारी दिएकी उनले पाँचजना पुरुष उमेदवारसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।

तर, उनलाई पनि पुरुष उमेदवार जति निर्वाचन खर्च जुटाउन कठिनाइ भएको छ । “प्रायःजसो वडाध्यक्ष पदमा पुरुषले नै उमेदवारी दिएका छन् । म निर्वाचित भए कुनै पुरुषभन्दा कम काम गर्दिनँ उनले भनिन् । तर, उनीहरू जति खर्च गर्न सक्दिनँ ।”

स्नातक अध्यन गरेकी यादवका श्रीमान् श्रावण महतो सोही वडामा सदस्य पदको उमेदवार छन् । “ग्रामीण भेगका अन्य महिला हौसला दिन पनि उनले उमेदवारी दिएको बताउँछिन् ।

“गाउँमा महिलामाथि जथाभाबी हिंसा भइरहेको देख्छु,” उनले भनिन्, “तर, कुनै पनि महिला बोल्ने आँट गर्दैनन् । सहेर बस्छन् । उनकाअनुसार लोक लाज र प्रतिष्ठा गुम्ने डरले उनीहरू हिंसा सहने गरेका छन् ।”

महिला जनप्रतिनिधि भए यस्ता विकृति अन्त्य हुने उनको विश्वास छ ।

धनुषामा प्रमुख पदमा १३ जना महिलाले उमेदवारी दिएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा चार जनासहित प्रमुख/अध्यक्ष पदमा १३ जनाको उमेदवारी परेको छ । प्रमुख राजनीतिक दलले उमेदवार नबनाएका छैन भने साना दल र स्वतन्त्र उमेदवार बढी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]