०४ कार्तिक २०८२, मंगलबार
21-10-2025 , Tue
×

विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ जेष्ठ । धनुषाको मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले स्थानीय तहको निर्वाचनमा घर आएका थिए । आमा–बुवा, श्रीमती, छोरा–छोरी, काका–काकीसहित घर आएका उम्मेदवारका लागि मत माग्न घरदैलोमा पनि हिँडे ।

चुनाव सकिएपछि श्रीमती र छोराछोरीलाई काठमाडौं पठाइदिएर उनले आमाबुबालाई तीर्थ यात्रामा लैजाने सोच बनाए । राजनको टोलीमा आमाबुबा मात्र होइन, काका–काकी र मामा–माइजु पनि थपिए ।

आमा राममाया, बुबा इन्द्रबहादुर, काका पुरुषोत्तम, काकी तुलसा देवी, मामा मकरबहादुर तामाङ र माइजु सुकुमायालाई लिएर उनी १३ गते पोखराका लागि निस्किए ।

मामा माइजु गाउँमै बस्ने गरेका थिए भने बाँकी सबै काठमाडौंमै बस्दै आएका थिए ।

शनिबार पोखराको विभिन्न मन्दिर दर्शन गरेका उनीहरु मुक्तिनाथको दर्शन गर्नका निम्ति आइतबार तारा एयरको जहाज चढेर जोमसोमका लागि उडे । तर उनीहरु कोही पनि मुक्तिनाथ पुग्न पाएनन् । यी ७ जनासँगै तारा एयरको जहाजमा रहेका २२ जनाको दुर्घटनामा मृत्यु भयो ।

‘राजन दाजुले नै तीर्थ यात्रामा जाऔं भनेर योजना बनाउनुभयो’ राजनका बहिनी ज्वाइँ मदन लामाले भने, ‘यत्रो ठूलो घटना हुन्छ भनेर हामीले सोच्न पनि सकेका थिएनौं ।’

मिथिला नगरपालिका–११ मा भेला भएका गोले परिवारका आफन्त ।यो घटनापछि पुरै गाउँ नै शोकमा छ । ‘जहाज सम्पर्कविहीन भएको सूचना आएदेखि नै गाउँ नै चिन्तामा थियो, सबैको मृत्यु भएको खबर आएपछि अहिले रुवाबासी चलेको छ’, वडाअध्यक्ष बेदबहादुर कार्कीले भने ।

उनका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका राजनका मामा गाउँमै पढाउँथे । उनी केही दिनअघि सेवानिवृत्त भएका थिए ।

घर बनाए, सुखभोग गर्न पाएनन्

काठमाडौं बस्दै आए पनि पटक–पटक गाउँ आउने गरेका थिए राजन । गाउँमा उनले पुरानो घर भत्काएर नयाँ निर्माण गर्न सुरु गरेका थिए ।

‘घर लगभग तयार हुनै लागेको थियो, अब केही दिनभित्र निर्माण सम्पन्न हुने अवस्थामा थियो’, वडाअध्यक्ष कार्कीले भने, ‘तर त्यत्रो मिहिनेतले उनले बनाएको घरमा बस्नै पाएनन् ।’

राजनका श्रीमती, एक छोरा र एक छोरी छन् । नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार छोरीले यस पटक एसईई दिएकी छिन् भने छोरा सानै छन् । उनीहरु काठमाडौंमै पढ्दै थिए ।

घटनाले पूरा नगरपालिकालाई नै दुखित बनाएको मेयर महतोको भनाइ छ । ‘नहुनुपर्ने घटना भएको छ, हामी दिवंगत भएका राजनजीको परिवारलाई सक्दो सहयोग गर्न तयार छौं’ मेयर महतो भन्छन्, ‘उहाँको छोराछोरीलाई निःशुल्क शिक्षा दिलाउनेदेखि जीवन यापनका निम्ति पनि सहयोग गर्न तयार छौं ।’

काठमाडौंमै अन्तिम संस्कारको तयारी

जहाज दुर्घटनामा परी ज्यान गुमाउने सातै जनाको एकै ठाउँमा अन्तिम संस्कार गर्ने तयारी छ । सातै जनाको मृत्यु भइसकेपछि राजनका मामाका दुई जना छोरा काठमाडौं गइसकेका वडाअध्यक्ष कार्कीले बताए ।

प्रक्रिया पुर्‍याएर शव हस्तान्तरण गरेपछि काठमाडौंमै अन्तिम संस्कार गर्ने बिषयमा छलफल भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]