२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

६ लाख ऋण लिएकी खुश्बुले २२ लाख तिरिन्, २९ लाख अझै तिर्नुपर्ने हिसाब!

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२२ श्रावण । दिनभर माइतीघर मण्डलामा धर्ना बसिरहेको एउटा समूह साँझ पर्न थालेपछि उठ्यो। र, गौशाला जाने गाडी चढ्यो। हामीले उनीहरुलाई पछ्यायौं। उक्त समूह गौशाला उत्रियो। दिनभरीको थकान बिसाउन त्यसका सदस्यहरु एउटा थोत्रो त्रिपाल भित्र छिरे।

दिनभर आन्दोलन गरेर बेलुकी थकान मार्न गौशाला पुगेका उनीहरु ठगीमा परेका किसान मजदुर हुन्। उनीहरु मिटर ब्याज ठगीविरुद्ध आन्दोलनका लागि आएका नवलपरासीका किसान मजदुर हुन्।

आफ्नो घरखेत साहुबाट फिर्ता गराइदिन सरकारसँग हारगुहार माग्दै काठमाडौं आएका उनीहरुले ओत लाग्न त्रिपाल टाँगेर एउटा छाप्रो बनाएका छन्। त्रिपालभित्र चिसो भुइँमा पातलो प्लाई बिच्छ्याइएको छ। प्लाईमाथि तन्ना ओच्छ्याएर बिस्तारा बनाइएको छ। टाउको अड्याउन झोला र काठका सिरानी छन्।

महिला र पुरुष गरि ७२ जना मिटर ब्याज पीडित त्यही त्रिपाल मुनि रात कटाउँछन्। बिहान् सबेरै उठ्छन्। फेरि माइतीघर आउँछन्। तीन दिनदेखि उनीहरुको दिन माइतीघरको सडक र रात गौशालास्थित खुला चउरको त्रिपालमुनी बितिरहेको छ।

‘भुइँमा राति साप आउँछ की भन्ने डर लाग्छ। शौच गर्न पनि चार मिनेट हिँडेर पशुपति मन्दिर नजिकै पुग्नुपर्छ। के गर्नु न्यायका लागि जति दुःख भए पनि बस्नै पर्यो,’ पीडित मध्येकी एक आश्मा खातुनले गुनासो गरिन्।

महिला र पुरुष एउटै त्रिपालमुनि सुत्छन्। शौचालय जानदेखि त्यहीँ बस्न पनि महिलाहरुलाई समस्या हुने खातुनको गुनासो छ।

खातुनले चार वर्षअघि घर बनाउनका लागि सुरेश बनियासँग ८ लाख रुपैयाँ ऋण लिएकी थिइन्।अंशबण्डा गर्दा श्रीमानका भागमा बर्दघाटको ११ कठ्ठा जग्गा परेको थियो।

अब उनीहरुलाई बस्ने घर चाहियो। घर बनाउनका लागि बैंकमा ऋण पाइन्छ कि भनेर धाए। तर कुनै बैंकले पत्याएन्। ‘ससुराले श्रीमान् र देवरलाई अंशबण्डा गरेको केही दिन मात्रै भएको थियो। घर बनाउन बैंकले ऋण नदिएपछि सुरेश बानियाँसँग जग्गा दृष्टिबन्धक गरेर ऋण लिन बाध्य भयौं,’ उनले भनिन्।

उनीहरु खेतबारीको काम गर्थे। ऋण लिएपछि तिर्न आम्दानीको अरु बाटो थिएन। ऋण लिएको तीन वर्षपछि उनीहरुले साहु सुरेश बानियाँलाई सावाँ र ब्याजसहित हिसाब गरेर ३४ लाख बुझाए। उनी भन्छिन्, ‘तीनवर्ष पश्चात् मैले सात कठ्ठा जग्गा बेचेर चौतिस लाख बुझाएँ तर हाम्रो जग्गा अहिले उसैको नाममा छ। अझै पन्ध्र लाख मागेको छ। पन्ध्र लाख दिए मात्र जग्गा फिर्ता गर्छु भन्छ।’

उनका दुई छोरा र एक छोरी छन्। जेठो छोराले कक्षा आठसम्म पढेका छन्। सानो छोरा १ कक्षामा छन्। छोरीले अहिले एसईई पास गरेकी छन्। ‘नर्स पढ्ने भन्दै छ छोरीले, कसरी पढाउने हो? जग्गा बेचेर पढाउँ त अर्काको नाममा छ,’ गहभरी आँशु पार्दै उनले भनिन्।

आफूले तिर्नुपर्ने ऋण भन्दा चौबर पैसा बुझाउँदा पनि साहुले उनको जग्गा फिर्ता नगरेकोमा उनको गुनासो छ।

०००

बर्दघाट नगरपालिकाका कृष्णबहादुर सार्की पनि मिटर ब्याज पीडित हुन्। उनी अहिले आफ्नो जग्गा फिर्ता गरिदिन सरकारसँग हारगुहार माग्दै काठमाडौं आएका छन्।

कृष्ण र उनका भाइ प्रेमबहादुर सार्कीले विदेश जानका लागि ऋण लिएका थिए। आफूहरुले दुई लाख पचास हजार ऋण लिएको कृष्णले बताए।

२०६९ असारमा गाउँकै एक व्यक्ति शून्य सुनारसँग उनीहरुले ऋण लिएका थिए। मासिक सयकडा तीन रुपैयाँका दरमा ब्याज तिर्ने सहमतिमा ऋण लिएको उनी बताउँछन्। उनी वैदेशिक रोजगारीका लागी कतार गएका थिए। भाइ संयुक्त अरब इमिरट्स(युएई) गएका थिए।

‘घरमा आएर होम राणाले मेरो बुवालाई फकाएछ। ढाँटछल गरेर, सयकडा डेढ रुपैयाँ ब्याजमा दुई लाख पचास हजार ऋण दिने लोभ देखाएछ। बुवाले उसको कुरा मानेर जग्गा दृष्टिबन्धक गरेर छ महिनामा तिर्ने गरी ऋण लिनुभएछ,’ उनले भने। कृष्ण कतारमा खाना पकाउने काम गर्थे। उनको महिनामा ३० हजार कमाइ थियो। खाइनखाइ पैसा जोगाएर ऋण तिर्न घरमा पठाएको उनी बताउँछन्।

‘मैले र भाइले विदेशबाट कमाएर चार महिना भित्रमा पैसा पठाएर ऋण चुक्ता गरिदियौं। तर त्यसले जग्गा हाम्रो नाममा गरिदिएन। मेरो बुबाको सोही जग्गाको कारण प्रेसर बढेर मृत्यु भयो,’ उनले सुनाए।

नवलपरासी सुस्ताकी खुश्बु नेसाले पनि जेठी छोरीको विवाहका लागि ६ लाख ऋण लिएकी थिइन्। जग्गा दृष्टिबन्धक राखेर जगदिश बानियाँसँग ऋण लिएको उनी बताउँछिन्।

‘श्रीमानले ७ वर्षपछि साँवा ब्याजसहित २२ लाख बुझाए। फेरि जगदिशले २९ लाख अझै बाँकी छ भनेर माग्यो। त्यही ऋणले गर्दा श्रीमानको हार्टअट्याक भएर मृत्यु भयो,’ यो सुनाउँदै गर्दा उनका आँखा आँशुले भरिएका थिए। तर आँशु नखसालिकन उनी सम्हालिइन्। अहिले घर र ११ कठ्ठा जग्गा साहु जगदिशको नाममा भएको उनी बताउँछिन्।

भन्छिन् ‘साहुको ऋण जति तिर्दा पनि सकिएन, मिटरब्याजको ऋणले घरबारबिहीन भएँ।’

सुस्ता ५ का रामशुभग मुसहरको पनि उस्तै पीडा छ। उनको चार छोरा बुहारी र नातिनातिना गरी २० जनाको परिवार छ। यति ठूलो परिवारको बाँच्ने आधार भनेको मजदुरी मात्र हो। आफ्नो जग्गा हुँदाहुँदै पनि मिटर ब्याजको ऋण लिनाले भूमिविहीन बन्नु परेको उनी गुनासो पोख्छन्।

जेठो छोरो रामनाथ मलेसिया जान एक लाख ५० हजार ऋण लिएका थिए। जगदिसले तीन लाखको तमसुक बनायो। उनले त्यो तमसुकमा औंठाछाप लगाए।

मलेसिया गएका छोराको कमाइ त्यति राम्रो थिएन। उनले कमाइ गरेर पैसा पठाउन सकेनन्।

‘ऋण तिर्न नसके पछि तीन कठ्ठा जग्गा दृष्टिबन्धक गरेर जगदिशको नाममा छिनुवा पास गरिदिएँ,’ रामशुभग तमसुक देखाउँदै भन्छन्।

कान्छो छोरालाई विदेश पठाउनका लागी सन्दिप जोसीसँग साढे ११ कट्ठा जग्गा दृष्टिबन्धक गरेर उनले चार लाख पचास हजार लिए। सन्दिपले पनि आठ लाख देखाएर तमसुक बनाए। रामसुभगले तमसुक नपढी औंठाछाप लगाए।

उनले पटकपटक गरेर आठ लाख र एकलाख चालिस हजार बुझाए। ‘मैले पैसा त सबै बुझाएँ तर उसले मेरो जग्गा अर्कैलाई बेचिसकेछ,’ उनले सम्झिए। गौशालास्थित त्रिपालमुनी भेटिएका सबैजसोको पीडा एउटै हो। उनीहरु सबै मिटरब्याज ऋणी हुन्।

‘थोरै ऋण लिएको भए पनि साहुले दोब्बर तेब्बर गराएर तमसुक बनाएर सोझा सीधा हामी माथि अत्याचार गर्यो,’ मलिन अनुहार पार्दै मिटरब्याज पीडित तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता सुदखोरले सुनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]