२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

तीन जिल्लाका चार सय ५६ परिवारले पाए पक्की घर, विपन्न परिवार हर्षित

Logo
प्रकाशित शुक्रबार, माघ २०, २०७९

राजु विश्वकर्मा
वीरगञ्ज, २० माघ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ५५ वर्षीय तारा महरा चमार पक्की घर पाएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि फुसको छाप्रोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका चमार अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी हुनुभएको हो ।

“मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै बस्दै आएको थिए”, चमारले भन्नुभयो, “तर जनता आवासअन्तर्गत पक्की घर सरकारले बनाइदिएपछि अब घरको समस्याबाट मुक्त भइयो, अब त केबल कमाएर परिवारमात्र पाल्नु छ ।” आर्थिक विपन्नता र गरिबीको मार खेप्दै आएका आफू यो जुनिमा पक्की घर सुत्न पाउँछु भने कल्पना नै गरेको थिइन तर पक्की घरको मालिक नै बन्न पाइएकामा सरकारलाई साधुवाद छ, उहाँको भनाइ थियो ।

उमेरले ६५ पूरा गरिसक्नु भएकी रौतहटको गौर नगरपालिका–८ निवासी धनेश्वरी देवीलाई पनि पक्की घरको मालिक बन्छु भने विश्वासै थिएन । तर जनता आवास कार्यक्रमअन्तर्गत उहाँले पक्की घर पाएपछि हर्षित बन्नुभएको छ । “हामी वर्षाँैदेखि फुसको छाप्रोमा दिन बिताउँदै आएका थियौँ”, धनेश्वरी देवीले भन्नुभयो, “सरकारले हाम्रो समस्यालाई बुझेर पक्की घर बनाइदिएकामा हामी खुसी छौँ ।” यसबाट वर्षौँदेखि भोग्दै आएको घरवारविहीनताको समस्या समाधान हुने उहाँको विश्वास छ ।

पर्सा र रौतहटका तारा र धनेश्वरीमात्र होइन, पर्सा, रौतहट र बाराका चार सय ५६ दलित, विपन्न परिवारले जनता आवास कार्यक्रमअन्तर्गत पक्की भवन पाइसक्नुभएको छ भने दुई हजारभन्दा बढी परिवार पक्की घरको मालिक बन्ने तयारी छन् । फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका हुन् ।

जनता आवास कार्यक्रमअन्तर्गत विगत छ वर्षको अवधिमा मधेस प्रदेशकोे तीनवटै जिल्लामा चार सय ५६ पक्की घर निर्माण सम्पन्न भई दलित तथा विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको र दुई हजार ८२ घर निर्माणकार्य अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन कार्यालय वीरगञ्ज पर्साका प्रमुख ई मदन रायले जानकारी दिनुभयो ।

विभिन्न चुनौतीहरूको बाबजुद गत आर्थिक वर्ष २०७३/७४ देखि आव २०७८/७९ सम्मको अवधिमा रौतहटमा एक हजार तीन सय ५०, बारामा नौ सय ३१ र पर्सामा चार सय ६० जनता आवास भवनको सम्झौता भएकामा रौतहटमा तीन सय २४, बारामा ८६ र पर्सामा ४६ वटा भवन निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको प्रमुख रायले बताउनुभयो । यस्तै रौतहटमा एक हजार एक सय १०, बारामा सात सय ४६ र पर्सामा दुई सय २६ वटा घर निर्माणकार्य अन्तिम चरणमा पुगेको र छिट्टै सम्पन्न गरी हस्तान्तरण गरिने प्रमुख रायको भनाइ छ ।

बरण्डासहित दुईकोठे पक्की भवनका लागि सरकारले प्रति लाभग्राही रु तीन लाख ५० हजारका दरले बजेट छुट्याएको छ । अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार गत आव २०७३/७४ देखि रौतहट, बारा र पर्सालगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ ।

गत आव २०७३/७४ सम्म जनता आवास कार्यक्रम सङ्घीय सरकारले सञ्चालन गर्दै आएकामा आव २०७४/७५ बाट प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । तर निर्माण सामग्रीको बजारभाउ अत्यधिक बढे पनि आव २०७३/७४ देखि हालसम्म पनि प्रतिलाभग्राही रु तीन लाख ५० दरले मात्र बजेट उपलब्ध हुँदा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको प्रमुख रायको कथन छ ।

“बजारभाउ बर्सेनि बढ्दै गएको छ, तर बजेट अझ बढ्न सकेको छैन”, प्रमुख रायले भन्नुभयो, “त्यसैले भवन निर्माणको काम कसरी अघि बढाउने भन्नेमा हामी समस्यामा छौँ ।” भवनको सङ्ख्या बढाएर पठाउने तर बजेट त्यो अनुपातमा नपठाउने गरिएकाले पनि समस्या भइरहेको उहाँको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]