२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

खाताबाटै ९ लाख हराएको विषयमा बैंक र सेवाग्राहीबीच सहमति

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

रौतहट ,९ जेष्ठ। रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको विषयमा दुवै पक्षबीचको विवाद सहमतिमा पुगेको छ ।

सहमतिपछि पीडित भनिएका पक्षले विराेध स्थगित गरेको छ भने बैंकले शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । यसअघि आइतबार र सोमबार पीडित भनिएका सेवाग्राहीका आफन्तहरुले बैंक घेराउ गरी सेवा अवरुद्ध पारेका थिए ।

बैंकले आफ्नै तर्फबाट केही शर्तमा हराएको रकम बराबरको चेक ‘पीडित’ सेवाग्राहीलाई एक महिनापछि साट्नेगरी प्रदान गरेको छ । प्रहरी कार्यालयमा दुवै पक्षबीच भएको छलफलमा एक महिनाभित्र रकम हराएको भनिएको विषयमा अनुसन्धान गर्ने निर्णय भएको छ ।

सो अनुसन्धानपछि बैंकको लापरबाहीका कारण रकम खाताबाट बाहिरिएको खुल्न आएमा सेवाग्राहीले चेक साट्न पाउनेछन् भने सेवाग्रहीकै लापरबाहीका कारण खाताबाट रकम बाहिरिएको पाइएमा चेक सटही हुने छैन ।

यसअघि बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रुपैयाँ गायब भएको थियो । यादवको दाबी अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो । तर आइतबार ८ लाखको आफ्नो चेक लिएर साट्न गएका यादवको खातामा रकम नभएको पाइएको थियो । खाताबाट ९ लाख रुपैयाँ अन्यन्त्र सारिएको पाइएपछि यादव पक्षधरका स्थानीयले राति १० बजेसम्म बैंक घेराउ गरेका थिए ।

बैंक घेराउ र कर्मचारीविरुद्ध प्रदर्शन भइरहेपछि बैंकले सोमबार सेवा नै बन्द गर्नुपरेको थियो । मंगलबार बैंकका केन्द्रीय प्रतिनिधिहरु सुनिल खतिवडा, रेवतीरमण नेपाल, बिनेश ठाकुर, ईन्दुसेखर देवकोटा, रामजी यादव र पीडित पक्षका तर्फबाट रामकृपाल राय यादव, प्रेमशंकर यादव, रामप्रसाद यादव, बृन्दावन नगरपालिकाका पूर्वनगरप्रमुख रामस्नेही यादव लगायतको टोलीले प्रहरी कार्यालयमा छलफल गरी सहमति भएको हो ।

इलाका प्रहरी कार्यालयका डीएसपी एकनारायण कोइरालाले खाताको रकम हराएकोबारे विस्तृत अनुसन्धानपछि चेक साट्ने वा नसाट्ने भन्ने सहमति गरेर तत्काललाई समस्या समाधान भएको बताए । ‘तत्काल बैंकले चेक काटिदिए पनि साट्न पाइँदैन, यसको अनुसन्धान हुन्छ, अनुसन्धानमा सेवाग्राहीको लापरबाही देखिएन भने मात्र एक महिनापछि चेक साट्न पाइनेगरी सहमति भएको छ,’ उनले भने, ‘हामीले अनुसन्धान सुरु गरिसकेका छौं, यादवको खाताबाट रकम निकाल्नेको खोजी गर्छौं ।’

बैंकका अनुसार यादवको खाताबाट कसैले ओटीपी नम्बर प्रयोग गरी विभिन्न बैंक खाता र खल्ती वालेटमा रकम ट्रान्सफर गरिएको छ । रकम ट्रान्सफर भएपछि नबिल बैंकको गोलबजार शाखाको एटीएमबाट तीन दिनमा ९ लाख रकम झिकिएको छ ।

यादवको ओटीपी नम्बर कसरी बाहिरियो ? कसको खातामा रकम गयो र एटीएमबाट कसले पैसा झिक्यो भन्नेबारे बैंक र प्रहरीले अनुसन्धान थालेका छन् । यादवले ओटीपी नम्बर झुक्किएर दिएका हुन् वा बैंककै कर्मचारीमार्फत भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]