१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

सीता दाहालः चितवनकी छोरी, बुहारी र आमा

Logo
प्रकाशित बिहिबार, आषाढ २८, २०८०

चितवन,२८ असार । बुधबार बिहान काठमाडौँको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो ।

छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो । सन्तान यही जन्मिए उहाँका उर्जाशील धेरै समय पनि चितवनै बित्यो ।

बाहिर चर्चा निकै कम भए पनि सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रचण्डलाई सफल बनाउन सीता दाहालको भूमिका महत्वपूर्ण थियो । चितवन सीताका लागि माइति र घर दुवै थयो । यस हिसाबले उहाँ चितवनको छोरी मात्रै होइन बुहारी र आमा पनि हुनुहुन्थ्यो ।

दाहालकी माईली छोरी रेनु दाहाल यतिबेला भरतपुर महानगरपालि प्रमुख हुुनुहुन्छ ।विसं २०११ साल असार २१ गते कास्कीको हेम्जामा (हालको पोखरा महानगरपालिका वडा नं. २५) मा जन्मिनु भएकी सीता छ वर्षको उमेरमा बुबाआमासँगै चितवन झर्नुभयो । पटिहानीको सुन्दरबस्तीमा उहाँहरु बसोबास गर्नुभयो ।

नजिकै शिवनगरको भीमसेन नगरका पुष्पकमल दाहालसँग उहाँको २०२६ सालमा विवाह भयो । तत्कालिन समयमा दाहाल प्रवेशिका परीक्षा मात्रै दिनुभएको थियो ।
सीताका भाई हेमराज पौडेलका अनुसार बिसं २०३० सालमा प्रचण्ड गोरखा पढाउन जाँदै गर्दा सीता भने सासुससुरासँगै भीमसेननगरमै रहनुभयो ।

पौडेलका भनाइमा २०३० सालदेखि ३८ सालको बीचमा तीन छोरी र एक छोरालाई उहाँले जन्मदिनुभयो ।

पौडेलले भन्नुभयो “यही समयमा भिनाजु प्रचण्ड अर्धभूमिगत भएपछि निकै संघर्षका साथ दिदीले भान्जाभान्जी हुर्काउनुभयो ।” घरका सासु ससुरासँगै माईतकी आमाको सहयोगले छोरीछोरी हुर्काउन उहाँले सक्नुभयो । संघर्षकै क्रममा २०४२ सालतिर प्रचण्ड परिवार काठमाडौँमा बस्न थाल्यो । माईली छोरी रेनु भने दुई वर्षको उमेरदेखि एसएलसीसम्मको पढाइ नसकिँदासम्म मामाघरमै बस्नुभयो । ललितपुरको पाटन, गोङ्गबुलगायतका क्षेत्रमा भाडाका घरमा सङ्घर्षका साथ दिदीले भान्जाभान्जी हुर्काएको पौडेल स्मरण गर्नुहुन्छ ।

“धनसम्पत्ति आर्जनगर्नेतर्फ कहिल्यै ध्यान नदिने सीता सर्वहारा वर्गको हितका लागि जहिल्यै पनि लाग्नुपर्छ भन्नुहुन्थ्यो”, पौडेलले स्मरण गर्दै भन्नुभयो, “दिदीले कहिल्यै आफ्नो दुःख सम्झनुभएन । सधैं सर्वहारा वर्ग र महिलाका हकहितका पक्षमा कुरा गर्नुहुन्थ्यो ।”

जीवनको उत्तराद्र्धमा सीतालाई बुबाआमा बसेको र आफू हुर्किएको सुन्दर बस्तीमा घर बनाएर बस्न मन थियो । भान्जा भान्जीका लागि जग्गा पनि दिएको भन्दै पौडेलले पछि आफ्नै पैत्तृक सम्पत्तिमा घर बनाए पनि दिदी बस्न नपाउनु भएको बताउनुभयो

भरतपुर महानगरपालिका वडा नं. १४ भीमसेन नगरमा दाहाल परिवारले घर बनाएको छ । अघिल्लो निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नं। ३ बाट निर्वाचित भएपछि आफ्नै गृहजिल्लालाई राजनीतिक थलो बनाउन चाहेर घर बनाइएको थियो । श्रीमती सीताको इच्छा समेत पूरा गर्दै नयाँ घर बनेपनि सीताले उक्त घरमा जम्मा तीन रात मात्रै बिताउन पाउनुभयो । पौडेलले भन्नुभयो “घर बनाउने दिदीको ईच्छा पूरा भएपनि बस्ने ईच्छा पूरा हुन पाएन ।”

देश र विदेशले प्रचण्डलाई चिन्दै गर्दा सीतालाई धेरै कमले चिने । तर, चिन्नेहरु उहाँसँग निकै निकट भएको देखिन्छ । विस २०५३ मा माइली छोरी रेनुसँग विवाह बन्धनमा बाँधिनु भएका अर्जुन पाठक सीता आमाले तल्लो वर्गका नागरिकको पक्षमा लाग्न सबैलाई प्रेरणा दिने गरेको स्मरण गर्नुहुन्छ ।

आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै नलाग्ने सीताले जनताको अधिकार प्रत्याभूतिका लागि सधैं लाग्न उत्प्रेरणा दिने गरेको उहाँको भनाइ छ । संविधानसभामार्फत् संविधान बनेपछि पनि संविधान प्रदत्त अधिकार आम नागरिकलाई दिलाउन लाग्न सबैसँग उहाँको आग्रह हुने गरेको पाठकले बताउनुभयो ।

सादा र सादगी जीवन बिताउनुहुने सीता हक्की स्वभावको हुनुहुन्थ्यो । प्रचण्डका बहिनी ज्वाई भक्तिराम अधिकारीले भन्नुभयो, “परिवारका सबैसँग उत्तिकै राम्रो सम्बन्ध दिदीले गर्नुहुन्थ्यो ।” परिवारको एउटा मियोका रुपमा दिदी सीता रहेको अधिकारीले स्मरण गर्नुभयो । प्रचण्डलाई सफल बनाउनुको पछाडि सीताको महत्वपूर्ण साथ रहेको उहाँको बुझाइ छ ।

पछिल्लो एक दशक यता प्रचण्ड परिवारसँग निकट भएर काम गर्दै आउनु भएका पत्रकार सुरेशचन्द्र अधिकारीको बुझाइमा परिवारदेखि आम नागरिकसम्ममा सीताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पु¥याएको योगदान आफैमा महत्वपूर्ण छ । उहाँले भन्नुभयो, “आमा सीताले कहिल्यै कसैको कुभलो चिताउनु भएन ।”

प्रचण्डले महत्वपूर्ण निर्णय गर्नुपर्दा सीताकै सुझाव लिने गरेको अधिकारीको भनाइ छ । सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असङ्ख्य पीडा सहन सक्ने महिला भएको अधिकारीको भनाइ छ ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको उहाँका निकटस्थहरु बताउँछन् । विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो ।

जनयुद्धसँगै उहाँका धेरै समय नेपालका ग्रामीण क्षेत्रसँगै भारतीय भूभागमा पनि बितेका छन् । ती अतितका सङ्घर्षका समयलाई सामना गर्दै आफ्नो जीवनको उत्तराद्र्धसम्म उहाँ अविचलित रहनुभयो ।

पछिल्लो समय बिरामी भएपछि भने उहाँ थलिनु भएको थियो । दुई साताअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारिवारिक सन्दर्भका कुरा गर्दैगर्दा भन्नुभएको थियो “काठमाडौँबाट साँझ बिहान बुबाको फोन आउँदै गर्दा झसङ्ग हुने गर्दछ । कतै आमालाई केही भयो कि भनेर झस्काईरहन्छ ।” नभन्दै बुधबार विहान त्यही नमीठो खबर प्राप्त भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]