२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

पक्की पुलसम्म जान बाँसकाे पुल, १२ वर्षदेखि निर्माणाधीन कमलाको पुल अझै पूरा भएन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन ०९, २०८०

लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी ।

भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीकोे राष्ट्रिय गौरवको आयोजना ।

झन् उदेकलाग्दो कुरा त १२ वर्षदेखि निर्माणाधीन कमलाको पुल अझै कहिले बन्ने हो कुनै अत्तोपत्तो छैन । बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई नातेदारसँग भेटघाट गर्न र आफूले गरेको खेतीपातीको गोडमेल तथा रेखदेख गर्नका लागि आवतजावत गर्न जुगौँदेखि सास्ती खेपिरहनुपरेको छ ।

हुलाकी लोकमार्गअन्तर्गत सिराहाको बसपिट्टा र धनुषाको साघारासम्म एक किलोमिटरसम्म कमला नदी फैलिएको छ । नदीमा पुल समयमा नबन्दा सिरहा र धनुषाका कैयौँ गाउँका जनता समस्यामा छन् । स्थानीयवासीहरूलाई आवतजावत गर्नलाई कि त पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घन्टा लामो यात्रा गर्नुपर्छ कि नदीमा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्छ । त्यो पनि त्यति सहज छैन ।

यही समस्यालाई सम्बोधन गर्न सिरहा नगरपालिकाले अस्थायी प्रकृतिको बाँसको टेका लगाएर काठको पुल बनाएको छ । उक्त पुल आइतबारबाट सञ्चालनमा आएको पनि छ । उक्त पुलमा अब मोटरसाइकल तथा पैदलयात्री निःशुल्क यात्रा गर्न सक्नेछन् । तर उक्त काठको पुलले यो बर्खायाम धान्नेमा शङ्का व्यक्त गर्छन् स्थानीय मोहनकुमार दास । “लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा यहाँका जनताले सास्ती खेप्नुपरेको हो । काठको यति सामान्य पुल बन्दा पनि खुसी व्यक्त गर्नुपर्ने अवस्था छ । जसोतसो कामचलाउ काठको पुल त बन्यो तर कहिलेसम्मलाई हो भन्न सकिँदैन”, उनी भन्छन्, “नदीमा अलि ठूलो बाढी आयो भने यो बनेको पुल पनि बगाएर लैजान्छ । फेरि समस्या उस्ताको उस्तै ।”

सिरहा नगरपालिकासँग समन्वय गरी काठको पुल बनाउनका लागि पहल गर्नुहुने स्थानीय युवा रामचन्द्र यादव भन्छन्, “स्थानीय बासिन्दा र यस हुलाकी लोकमार्गमा आवतजावत गर्ने यात्रीलाई बर्खामास नदीमा बाढी आई कठिनाइ हुने भएकाले आवतजावत गर्नलाई सहज होस् भनी नगरपालिकासँग पहल गरिएको हो । यसमा नगरपालिकाले पनि सकरात्मकरूपमा लिएर पुल बनाउने काम गरेको छ, जुन सराहनीय छ । यसले गर्दा यात्रुको समयको बचत तथा दूरीलाई छोटो बनाएको छ । दैनिक दुई सयभन्दा बढी मोटरसाइकल तथा हजारौँ पैदलयात्रीलाई सहज भएको छ ।”

नदी पारिपट्टि आफ्नो खेतीपातीको हेरचाहमा जानलाई अब तत्काललाई भए पनि समस्या टरेको छ सुभकान्त यादवलाई । सिरहा नगरपालिका–६ स्थायी घर भएका उनलाई नदी वारपार गर्न मात्र सहज भएको छैन, कृषि उपजलाई बजारसम्म लैजान पनि सहज भएको छ । “खेतीपाती गर्नका लागि नदीबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थियौँ । काठकै अस्थायी पुल भए पनि हामीलाई सहज भएको छ”, उहाँले खुसीको भाव व्यक्त गर्दै भने, “अब पारिपट्टिको खेतबारीमै तरकारी तथा बालीनाली सडेर नजाने भयो ।”

बाँसको पुल बनिसकेपछि सिरहा चोहर्वाका मोहम्मद साहिबलाई त्यही बाटो हुँदै धनुषाको कमला–४ स्थित ससुराली घर जानका लागि सहज भएको छ । उनले खुसी हुँदै भने, “पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर जानुपरेको भए मलाई दुई घन्टा बढी लाग्ने थियो । यही काठकै पुल भए पनि ठूलो राहत मिल्यो”, त्यस्तै आफ्ना सात वर्षीय र नौ वर्षीय बच्चा लिएर सिरहा सदरमुकामबाट धनुषाको कमला –९ स्थित माइतीघर हिँड्नुभएकी मनिषा मण्डलले हर्षित हुँदै भने, “बालबच्चा लिएर नदी पार गर्न निकै कठिन थियो । अब ढुक्कसँग माइत पुग्न सकिने भयो । उता (माइती)बाट पनि कुनै चिन्ता लिने कुरा भएन ।”

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो, तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो ।

यही अनिश्चितताका बीच निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी पुनः काम सुरु गरेकोे थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकिएको छ । निर्माण कम्पनीका अनुसार आगामी असोजबाट रोकिएको पुल निर्माणको काम पुनः सुरु हुनेछ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]