२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

सप्तरीका चार पालिका हाँक्दै महिला

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र २३, २०८०

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् ।

सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुदा हालेपछि क्रमशः भीमराज यादव, आतेश सिंह यादव, जितेन्द्रप्रसाद गुप्ता र उमेशप्रसाद यादव निलम्बित अवस्थामा छन् ।

राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, बोदेवर्साइन नगरपालिकाका प्रमुख आतेश सिंह यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव तीनै जना गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचित भएका थिए । उनीहरू तीनै जना अख्तियारको कारबाहीमा परेपछि जसपा अहिले सप्तरीको स्थानीय तहमा निर्वाचित प्रमुखविहीन बनेको छ ।

यस्तै, जिल्लामा शम्भुनाथ नगरपालिकाको एक मात्र प्रमुख पद जितेको नेकपा एकीकृत समाजवादीका जितेन्द्र गुप्ता पनि अख्तियारको कारबाहीका कारण निलम्बनमा परेपछि ती पार्टीबाट गत स्थानीय तहमा निर्वाचित प्रमुख पदको संख्या पनि शून्यमा झरेको छ ।

राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परविन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणुकुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिताकुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणुकुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका हाँकिरहेका छन् । नगरप्रमुख र गाउँपालिका अध्यक्ष निलम्बनमा परेपछि ती चारै पालिकाको नेतृत्व गर्ने अवसर अहिले महिलाले पाएका हुन् ।

समयक्रममा आफूहरूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको उनीहरूको भनाइ छ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन भन्छिन्, ‘नयाँ जिम्मेवारीले दैनिकी बदलिएको छ, अहिले उपसँगै प्रमुखको पनि दोहरो भूमिका र जिम्मेवारी थपिएको छ । उनले क्षमताले भ्याएसम्म कुशलतापूर्वक काम गरिरहेको बताइन् ।

विष्णुपुर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणुकुमारी यादवले एक्कासि नसोचेको पदको जिम्मेवारी प्राप्त भएको बताउँदै सबैको साथ र सहयोग लिएर इमानदारीका साथ अघि बढेको बताइन् ।

सप्तरीको १८ पालिकामध्ये गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सर्वाधिक ५ पालिकामा प्रमुख पद जित हात पारेको छ ।

यस्तै, जसपा, लोसपा र एमालेले तीन÷तीन, जनमतले दुई तथा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीले एक÷एक प्रमुख पदमा जित हात पारेको छ ।-राजधानी दैनिक

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]