२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

धनुषामा सबस्टेसनको काम अन्तिम चरणमा

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

न्यूज मधेश समाचरदाता
जनकपुरधाम,१९ मंसिर। नेपाल–भारत विद्युत व्यापार र देशभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरणका लागि धनुषाको ढल्केबरमा निर्माणाधीन ४ सय केभीको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।

पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । देशभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ ।

सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच झण्डै एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ । साथै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र देशभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

‘सबस्टेसनमा रहने ट्रान्सफर्मरको क्षमता ९ सय ४५ केभीए छ, २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ, वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ’, घिसिङले भन्नुभयो, ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ भने दुई देशबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने छ ।’

दुई देशबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइने २ सय २० केभीमा सञ्चालनमा छ । ढल्केबरमा सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४ सय केभीमा सञ्चालन हुने छ ।

माथिल्लो तामकोशीबाट असारभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २ सय २० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइने छ । यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।

सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरणहरु रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने तीन वटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ । बाँकी दुई वटा एकहप्ताभित्र आयोजनास्थलमा ल्याइसकिने छ । यसैगरी, ८० एमभीएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ । अन्य उपकरणहरु निर्माणस्थलमा आइसकेका छन् । उपकरणहरुको जडान धमाधम भइरहेको छ ।

सबस्टेसनमा ३ सय १५एमभीएका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन् । जसले झण्डै नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् ।

नेपाल सरकार र विद्युत प्राधिकरणको झण्डै दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४ सय केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबारे निर्माण कार्यको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।

‘सबस्टेसन रहने तीन वटा ट्रान्सफर्मरमध्ये कम्तिमा पनि एउटा पुसभित्र (डिसेम्बर २०१९) भित्र चार्च गरिसक्नु पर्छ, यसका लागि काम गर्ने जनशक्ति थप्नुहोस्’, उहाँले निर्देशन दिनुभयो ।

सबस्टेसन निर्माण भारतीय भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेको छ ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको हो । मङ्गलवार राति सुनसरी जिल्ला बर्जू गाउँपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]