०६ मंसिर २०८२, शनिबार
22-11-2025 , Sat
×

कक्षा ११ को परीक्षामा डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,७ श्रावण। कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा १२ को परीक्षा फारम भर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र मूल्यांकनमा न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा १२ को फारम भर्न पाउने उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले विद्यालयले आफ्नोअनुकूलमा परीक्षा लिएर विद्यार्थीको मूल्यांकन गर्ने गरी कार्यविधि पारित भएको बताए । ‘पाठ्यक्रमले तोकेको आधार पूरा हुने गरी विद्यालयले परीक्षा लिने र एक कपी परीक्षा बोर्डमा पठाउनुपर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘कक्षा १२ को आगामी वर्षको परीक्षा फारम भर्न ११ मा न्यूनतम डी प्लस ल्याएको हुनुपर्छ ।’ कक्षा ११ मा डी प्लस नल्याएका विद्यार्थीको १२ को परीक्षा फारम बोर्डले नबुझ्ने व्यवस्था गरेको बताए ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कार्यविधिले कक्षा ११ को परीक्षाको जवाफदेही विद्यालयलाई गराएको बताए । आवश्यकताअनुसार बोर्डले अनुगमन गर्न सक्ने शर्माले बताए । विद्यार्थीलाई आफ्नो नतिजामा चित्त नबुझेमा रिटोटलिङ, रिचेकिङ गर्न पाउनेछन् । विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा रहेको परीक्षा मूल्यांकन समिति रहने र विद्यार्थीले आफ्नो नतिजा चित्त नबुझाएमा बोर्डमा जस्तै गरी प्रक्रिया अपनाउन सक्ने व्यवस्था गरेको छ । विद्यालयको परीक्षा मूल्यांकन समितिले आवश्यक ठानेमा ग्रेड वृद्धि परीक्षासमेत लिन पाउने व्यवस्था छ । रिटोटलिङ तथा ग्रेड वृद्धि सबैको नतिजा कक्षा १२ को परीक्षा फारम भर्नुभन्दा पहिले नै बोर्डमा पठाउनुपर्ने व्यवस्था छ । कक्षा ११ मा पढेका विषय नै कक्षा १२ मा पढ्नुपर्ने व्यवस्था छ ।

कोभिड– १९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन् । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । कक्षा १२ मा भने अनुकूल समयमा परीक्षा लिने तयारी छ ।

यो वर्षका आंशिक विद्यार्थीको प्रमाणीकरण बोर्डले गर्ने
यो वर्षका लागि आंशिक विद्यार्थीको प्रमाणीकरण बोर्ड नै गर्ने भएको छ । पुराना विद्यार्थी भएकाले विद्यालयले नै मूल्यांकन गरी त्यसको नम्बर गर्ने बोर्डमा पठाउने र प्रमाणीकरण बोर्डले गर्ने व्यवस्था छ । नियमित विद्यार्थीको प्रमाणीकरण विद्यालयले नै गर्नेछन् ।

कक्षा ११ को परीक्षा अब सधैँ विद्यालयबाटै हुने
कक्षा ११ को परीक्षा अब सधैँभरिका लागि विद्यालयबाटै हुने भएको छ । शिक्षामन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले केही समयअघि कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन हुने निर्णय गरेको हो । परिषद्ले निर्णय गरी आन्तरिक मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि निर्माणको काम सुरु गरेको थियो । कोभिड– १९ का कारण उत्पन्न भएको परिस्थितिका कारण यसअघि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)को विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणीकरण भएर राष्ट्रिय परीक्षाबोर्डले ग्रेडसिट जारी गर्ने निर्णयअनुसार काम भइरहेको छ ।

अब कक्षा १२ को मूल्यांकनको मात्रै बोर्डबाट ग्रेडसिट पाउने
अब कक्षा १२ को अब एउटा कक्षाको मूल्यांनका आधारमा मात्र बोर्डबाट ग्रेडसिट पाउने भएका छन् । अहिलेसम्म कक्षा ११ र १२ को संयुक्त रूपमा एक हजार पूर्णांकको ग्रेडसिट पाउँदै आएका थिए । यो वर्ष पाँच सय पूर्णांकको पाउनेछन् । नयाँ पाठ्यक्रम कार्यान्वयन भएपछि ६ सय पूर्णांकको ग्रेड सिट हुने छ । सरकारले ०७७ देखि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]