२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

न्यूजमधेश डेस्क
काठमाडौँ, २० भदौ। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ ।

शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाउनुभयो ।

उहाँले कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गर्नुभयो ।

उहाँले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ रोकथाम तथा नियन्त्रण केन्द्र (सिसिएमसी) ले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउफुकाउसहित निर्णय गर्ने बताउनुभयो । बोर्डले कोभिड–१९ को जोखिम बढिरहेको र कक्षा १२ को परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा १० र ११ का जस्तो आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रियस्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ ।

विद्यालय तहका सबै विद्यार्थी अनलाइन सिकाइमा समावेश हुन नसकिरहेको अवस्थामा अनलाइनबाट कक्षा १२ परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने प्रतिवेदनमा उल्लेख छ । चरणबद्ध परीक्षा भएमा पनि परीक्षाफल एकै समयमा हुने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा बन्दाबन्दीका कारण स्थगन भएको थियो । अध्यक्ष पौडेलले भन्नुभयो, “पाठ्यक्रम र मूल्याङ्कन प्रणाली बोर्डले नभई पाठ्यक्रम मूल्याङ्कन विकास परिषद्ले तय गर्ने भएकाले निर्धारित पाठ्यक्रम र सरकारले दिएको परीक्षासम्बन्धी नीतिभन्दा बाहिर हामीले केही गर्न सक्दैनौँ । विषम परिस्थितिमा सरकारको निर्णयलाई आधार मानेर काम गर्नेछौँ ।”

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले स्वास्थ्य जोखिमलाई ध्यान दिएर कक्षा १० र ११ को परीक्षाको निकास दिइसकेकाले कक्षा १२ का सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का सहअध्यक्ष डिके ढुङ्गानाले कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा हुने भएकाले यसलाई व्यवस्थित र मर्यादित हुने गरी सञ्चालन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) का महासचिव सुवास न्यौपानेले छ महिना बितिसक्दा पनि परीक्षार्थीहरु अन्योलमा रही मानसिक तनावमा पर्नु दुःखद भएको बताउनुभयो ।

उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान)का सचिव रामहरि सिलवालले समयमै विभिन्न विकल्प सहितको योजना तर्जुमा नहुँदा हालसम्म परीक्षाबारे विद्यार्थी र अभिभावकमा अन्योल देखिएको जनाउँदै कक्षा १० र ११ लाई सस्तो रुपमा आन्तरिक मूूल्याङ्कन नगराउन आग्रह गर्नुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका कर्णाली प्रदेश संयोजक गोविन्द कोइरालाले लामो समयसम्म अन्योल राख्न नहुने जनाउँदै स्थानीय तह र विद्यालयलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष विष्णु पनेरुले कक्षा १२ को परीक्षालाई मर्यादित रुपमा सञ्चालनका लागि स्थानीय तहलाई जिम्मेवार बनाई केन्द्र निर्धारण वा अनलाइन विधिबाट सञ्चालन गर्न सकिने सुझाव दिनुभयो । शिक्षा अभियन्ता बिके श्रेष्ठले निरन्तर सिकाइ उपलब्धिलाई जोडेर गुणस्तरीय शिक्षाको सुनिश्चितता हुन नसकेमा दिगो विकास लक्ष्य अनुसारको जीवनोपयोगी शिक्षाको लक्ष्य परिपूर्ति नहुने बताउँदै खुल्ला पुस्तक परीक्षा प्रणालीमा पनि जान सकिने उपाय सुझाउनुभयो । तत्कालीन उच्चमाध्यामिक शिक्षा परिषद्का पूर्वसदस्यसचिव भीमलाल गुरुङले व्यवस्थापन गर्न गाह्रो भए पनि कक्षा १२ को परीक्षाका लागि सबै विकल्पमा जान सकिने जनाउनुभयो ।

कार्यक्रममा विभिन्न प्रदेशबाट प्रधानाध्यापक, शिक्षक, अभिभावक र सञ्चारकर्मीको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]