२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही,७ कार्तिक । उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ ।

किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

उद्योग सञ्चालनमा आएदेखिकै किसानसँग उखु खरिद गरेबापत भुक्तानी नगरेको यस उद्योगले गत सिजनमा उद्योग सञ्चालन नै गर्न सकेको थिएन । उद्योगका उखु क्यान म्यानेजर अजित सिंहले यो सिजन शुरु हुनुभन्दा अघि नै किसानको सम्पूर्ण भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारी छ । हाल उद्योगको मर्मतसम्भारको काम भइरहेको उहाँको भनाइ छ ।

गत सिजनमा उद्योग सञ्चालन हुन नसकेका कारण उद्योगका मेसिन मर्मतको काम भइरहेको उद्योगले जनाएको छ । आउँदो नोभेम्बरबाट सञ्चालन गर्न सकिने गरी मर्मतसम्भारको काम भइरहेको उद्योगका महाप्रवन्धक (जिएम) टेक्निसियन राजेन्द्र चौधरीले बताउनुभयो । “उद्योग कहिलेबाट सञ्चालन हुन्छ, हामीलाई थाहा छैन”, उहाँले भन्नुभयो, “तर, सञ्चालन गर्न नोभेम्बरबाट सकिने गरी प्राविधिक पक्ष तयार गर्दैछौँ ।”

उद्योगको स्टोरमा पाँच हजार क्विन्टल चिनी र १४ हजार क्विन्टल मोलासिस मौज्दात रहेको बताउँदै स्टोर म्यानेजर एचपी शुक्लाले उद्योगको केन्द्रीय कार्यालयले अहिले पनि थोरै थोरै गरेर किसानको भुक्तानी गरिरहेको छ भन्नुभयो । “सबै काम काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट भइरहेको छ”, उहाँले भन्नुभयो, “हामीलाई भुक्तानी र स्टोरको सामान बिक्री–वितरणबारे कुनै जानकारी छैन ।”

यता उद्योगका मजदूरले काम गरेको तलबबापतको भुक्तानी नपाएको गुनासो गरेका छन् । सोही उद्योगमा लामो समय काम गरेका राम एकवालले उद्योग बन्द रहेका कारण ज्याला नपाउँदा हातमुख जोर्न समस्या भएको बताउनुभयो । यता उद्योगमा आएको विभिन्न समस्यका कारण किसानसँगै उद्योगका मजदूरको भुक्तानीमा पनि ढिलाइ भएको उद्योग प्रशासनले जनाएको छ ।

गत वर्ष उद्योग नै सञ्चालन हुन नसकेको र किसानको समेत धेरै भुक्तानी गर्न बाँकी भएका कारण मजदूरले पैसा पाउन ढिला भएको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ । उहाँले मजदूरको भुक्तानी चाँडै हुने बताउनुभयो । उद्योगमा ९२ जना मजदूर कार्यरत छन् । उनीहरूको विभिन्न समयको गरी उद्योगले हालसम्म लगभग १८ लाख तलब भुक्तानी बाँकी राखेको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ ।

यता किसानले उद्योगले पहिलाको भुक्तानी नगरेसम्म उखु नदिने र उद्योग पनि सञ्चालन गर्न नदिने बताएका छन् । तीन सिजन पहिला उद्योगलाई दिएको उखुको अहिलेसम्म भुक्तानी नपाएको उनीहरू उद्योगप्रति आक्रोशित छन् ।

अनुदानको खेल
अघिल्लो सिजनमा सञ्चालनमा आउन नसकेको उद्योग एक्कासी सञ्चालनको तयारी गर्नुले किसानको भुक्तानी दिने र उखु क्रसिङ गर्नेभन्दा पनि राज्यले रुग्ण उद्योगका लागि दिने भनेको अनुदानको खेल हुन सक्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीको आरोप छ ।

यत्रो समय किसानले सङ्घर्ष गर्दा भुक्तानी गर्न तयार नहुने उद्योगपतिले एक्कासी करोडौँ भुक्तानी गर्ने कुरामा विश्वास गर्न नसकिने उहाँको भनाइ छ । “यो राज्य र उद्योगपति मिलेर एक–अर्कालाई पोस्ने खेल हुन सक्छ”, उहाँले भन्नुभयो, “होइन भने त्यहाँका किसानको अनेक बहानामा रोकेको उखुको भुक्तानी दिने हो भने खोइ त तयारी ?” अध्यक्ष मैनालीले उद्योगले अझै किसानको रु २४ करोडको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । उद्योगले किसानको भुक्तानीलगायतको काम केन्द्रीय कार्यालय काठमाडौंबाट भइरहेको बताइरहे पनि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

जिल्लामा अन्नपूर्णसहित तीनवटा चिनी उद्योग छन् । तीमध्ये गत सिजनमा हरिवन– ११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदह मात्र सञ्चालनमा आएका थिए । देशभरिमै सर्लाही सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीहरुलाई आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका अध्यक्ष डा.सीके राउतले मंगलबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै प्रवासी नेपालीहरुलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गरेका छन् । ‘प्रवासी नेपालीहरूले गर्दा वार्षिक झण्डै १५ खर्ब विप्रेषण आय प्राप्त हुने गरेको […]