२९ आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

नवरात्रको आठौँ दिन महागौरीको पूजाराधना गरिँदै

Logo
प्रकाशित शनिबार, कार्तिक ०८, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,८ कार्तिक । नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो । चौथो दिन कुष्माण्डाको पूजाराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजा गरियो । छैटौँ दिन कात्यायनी तथा सातौँ दिन कालरात्रि देवीको आराधना गरियो ।

बडादशैँको आठौँ दिन आज महागौरी देवीको विशेष पूजाराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

महागौरीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले उनलाई महागौरी भनिएको हो भन्ने विभिन्न पुराणमा वर्णन गरिएको छ । सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरुपमा महागौरी हुन्छिन् भन्ने ती पुराणमा लेखिएको छ । दुर्गाका यिनै नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँ, तिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेका छन् ।

दशैँको आठौँ दिन आज शक्तिपीठमा पूजा आराधना गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोनाको त्रासका कारण मानसिक रुपमा स्मरण गर्नुपर्ने छ । घरघरमा भने बलिसहित पूजाराधना गरी नेपालीले आजको दिनलाई विशेष रुपमा मनाउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]