२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

उखु किसान : हामीले सत्ता मागेका होइनौं, पसिनाको मूल्य मागेका हौं’

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,७ पुस।उखु किसान संर्घष समिति, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र चिनी उद्योगीसँग सोमबार बस्ने भनिएको वार्ता अबेरसम्म हुन सकेन। यसअघि शुक्रबार बसेको आपतकालीन वार्ताले पनि निष्कर्ष पाउन सकेको थिएन।

दस दिनदेखि उखु किसान माइतीघर मण्डलमा बक्यौता रकम फिर्ताका लागि आन्दोलन गरिरहेका छन्। किसानको आवाज बुलन्द पार्न केन्द्रसम्म आएका उनीहरूको आन्दोलन देशको राजनीतिक किचलोमा परेको छ।

राजनीतिक झमेलाभन्दा पर रहेका सर्लाही सिसौटियाका रामनरेश महतो दस दिनदेखि आन्दोलनमा छन्। चिनी मिलले पैसा नदिएसम्म आन्दोलनमा बस्ने उनको अडान छ। तर देशमा भइरहेको राजनीतिक परिवर्तनले आफूहरूको आन्दोलन ओझेलमा परेको उनले महसुस गरेका छन्।

‘स्थानीय सरकारले पैसा दिलाउन सकेन। केन्द्र सरकारले हाम्रो कुरा बुझ्ला कि भनेर यहाँ आएको। सरकारको ध्यान अन्तै पर्‍यो,’ महतोले भने, ‘यहाँका मान्छे भन्छन् मेयर, सिडियोले पैसा दिलाइदिन्छ। उनीहरूले दिलाइदिएको भए यस्तो जाडोमा हामी किन सडकमा आउने थियौं र?’

आफूलाई उखु र पैसासँग मात्रै मतलब भएको बताउँदै उनी थप्छन्, ‘हामी काम गरिखानेलाई अरू कुरा चासो छैन। देशका ठूलाबडाले के के राजनीति गरिरहेका छन्, हामी बुझ्दैनौं पनि। हामीलाई दुःख गरेको पैसा सजिलै पाए पुग्छ। हाम्रो लागि ३ लाख रूपैयाँ नै ठूलो रकम हो।’

बक्यौता तिर्न बाँकी रहेकामध्ये श्रीराम सुगर मिलले किसानको खातामा २५ करोड रूपैयाँ जम्मा गरिसकेको बताएको छ। त्यस्तै लुम्बिनी चिनी मिलले माघ ३ गतेदेखि रकम भुक्तानी गर्ने बताएको छ।

महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिलबाट अधिकांशले रकम लिन बाँकी रहेको आन्दोलनरत उखु किसान बताउँछन्। यता मिलले भने रकम भुक्तानी गर्नेबारे आधिकारिक जानकारी दिएको छैन।

सरकारको ध्यानाकर्षण हुन नसके पनि आन्दोलनबाट पछि नहट्ने उखु किसान संर्घष समितिका अध्यक्ष राम सुवारत रायले बताए।

यसपटक दुई महिनासम्म आन्दोलन लम्बिए पनि रकम लिएर मात्रै फर्कने रायले अडान राखे।

‘सरकारले हामीलाई त्यति वास्ता गरेको छैन। तर पछि हट्दैनौं। सरकार छैन भने देश पनि चल्दैन होला। सरकार हुँदासम्म हामीलाई न्याय चाहिन्छ,’ अध्यक्ष रायले भने, ‘किसानको सरकार भनेर भोट दिएको हो। अहिले हाम्रो कुरा सुन्दैन, समस्यामा सहयोग गर्दैन भने हामीलाई किन चाहियो यो सरकार?’

केही दिन शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारको ध्यानाकर्षण नभए आन्दोलन चर्काउने संर्घष समितिको योजना रहेको अध्यक्ष रायले जानकारी दिए।

अन्य किसानले सहयोग गरिरहँदा उखु किसानको हौसला बढेको र आन्दोलन अझै सशक्त ढंगले अघि बढेको रायले बताए।

‘सरकारको अवस्था देखेपछि जनता, नेता, सांसदको ध्यान उतै गएको छ। हाम्रो आन्दोलन के होला? हामीलाई कसले सम्बोधन गर्ला भन्ने चिन्ता बढेको छ,’ रायले भने, ‘तर पनि देशमा सरकार छ, किसानको अधिकारका लागि केही न केही पक्कै होला भनेर हामी निरन्तर आन्दोलनमा छौं।’

उनले अगाडि भने, ‘सरकारको ध्यान हिजो पनि किसानमाथि थिएन। हुन्थ्यो भने हाम्रो यो दुर्दशा हुने थिएन। हामीले सत्ता मागेका होइनौं, पसिनाको मूल्य मागेका हौं। सरकारको ध्यानाकर्षण होस्।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]