
न्यूजमधेश डेस्क
सप्तरी ,१७ माघ।छोरीहरुलाई त्यसै पनि नानाथरीका चुनौती, त्यसमाथि अभावग्रस्त दैनिकी । यसका बाबजुद भारोत्तोलनमा भविष्य खोज्दै कडा परिश्रम गर्दैछन् सप्तरीका किशोरीहरु ।
माघ महिनाको बिहान । हुस्सु र कुहिरो अनि कठ्याङ्ग्रिँदो जाडो । दैनिक ७/८ जना किशोरीहरु साइकलमा करिब ६ किलोमिटरको यात्रा तय गर्दै सदरमुकाम राजविराज आइपुग्छन् । जिल्ला खेलकुद विकास समितिको परिसरमा साइकल थन्क्याउँछन् । कभर्ड हलमा पुग्छन् । बिहान ७ बजेदेखि ९ बजेसम्म भारोत्तोलन अभ्यासमा तल्लीन हुन्छन् ।
विभिन्न चुनौती पार गर्दै विष्णुपुर गाउँपालिका १ कि १५ वर्षिया सरिता यादव, १४ वर्षिया पूजा कुमारी मण्डल, मुसहर्नियाकी १६ वर्षिया आरती कुमारी रजक, खरसाल टोलकी १४ वर्षिया अञ्जली कुमारी यादव, १० वर्षिया अम्बिका कुमारी यादव, मुसहर्नियाकी १७ वर्षिया काजल कुमारी सदा र १४ वर्षिया किरण कुमारी सदा भारोत्तोलनको अभ्यासमा जुटेका छन् ।
कोरोना भाइरसका कारण भएको लकडाउनले रोकिएको अभ्यास उनीहरुले पुनः निरन्तरता दिएका छन् । चुनौतीका बीच खेल क्षेत्रमा मधेशी मूलका किशोरीहरुको आकर्षण बढ्दै गए पनि सरकारी तबरबाट खासै प्रोत्साहन नभएको उनीहरुको गुनासो छ । भारोत्तोलनको नियमित अभ्यासमा जुट्दा आवश्यक थप पौष्टिक आहार जुटाउनै आफूहरुलाई हम्मे–हम्मे परेको उनीहरुको भनाइ छ ।
घरको आर्थिक अवस्था कमजोर रहेकोले आवश्यक पौष्टिक आहार जुटाउन गाह्रो रहेको भारोत्तोलन खेलाडी सरिता यादव बताउँछिन् । ५५ केजी तौल समूहमा स्वर्ण पदक विजेतासमेत रहेकी यादव भन्छिन्, ‘विस्तारै अवस्था सहज हुँदै गएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने सम्भावना रहेकोले लकडाउनका कारण रोकिएको अभ्यास पुनः थालेका छौं । तर वजन उठाउनुपर्दा डाइट आवश्यक हुन्छ ।’
खेलाडीले राष्ट्रका लागि खेल्ने भए पनि उपेक्षा गरिएको यादवको भनाइ छ । यस क्षेत्रमा राम्रो गरे नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा प्रवेश पाउन सहज हुने विश्वासका साथ पछिल्लो समय किशोरीहरुले खेल क्षेत्रमा मेहनत गरिरहेको उनले बताइन् । ‘खेल क्षेत्रमा लागेपछि शारीरिक सुगठनका साथै प्रतियोगितामा उत्कृष्ट भएपछि सेना पुलिसमा जागिर खान सजिलो हुन्छ कि भन्ने आश छ,’ उनले भनिन् ।
आफू खेल क्षेत्रमा लागेर भविष्य सपार्ने सोचका साथ लागेको बताउँछिन् अर्की खेलाडी आरती कुमारी रजक ।
थरिथरीका आलोचना झेल्नुपर्ने भएकाले अभिभावकले छोरीलाई खेल क्षेत्रमा सहज रुपले जान नदिने उनको अनुभव छ । ‘हामीमा छोरा जस्तै साहस र आँट छ तर हाम्रो हौसला बुलन्द गर्ने वातावरण नै छैन । गोल्ड मेडल जितेर आएपछि पनि स्थानीय सरकार वा अन्य कुनै निकायले सम्मानसम्म नगरिदिँदा भित्री मन कुँडिने गर्छ ।’
गोल्ड मेडल पाउँदा गाउँ समाजबाट प्रोत्साहन पाउने आशा हुने भए पनि खेलाडीहरुप्रति कसैले वास्ता नगरेको उनको दुःखेसो छ । ‘कठोर अभ्यास गर्ने खेलाडीलाई डाइटको आवश्कता पर्छ तर करोडौं खर्च गर्ने स्थानीय सरकार तथा संघसंस्थाहरुले समेत उपेक्षा गरेका छन् । एक मुठी चनाको भरमा मैदानमा उत्रिन्छौं र जित्छौं पनि ।’ खेल क्षेत्रमा लाग्न थप प्रोत्साहन पाए आकर्षण बढ्दै जाने आरतीको बुझाइ छ ।
भारोत्तोलनमा देवी चौधरी, शान्ति चौधरी जस्ता महिला खेलाडी जन्माउने सप्तरीमा पछिल्लो समय किशोरीहरुको सहभागिता बढाउन आफू प्रयासरत रहेको प्रशिक्षक पुन्तीलाल यादव बताउँछन् ।
चिनजानेका अभिभावकलाई भनेर खेल्नका लागि आफूले प्रोत्साहित गरेको जानकारी दिँदै यादव भन्छन्, ‘एक त अभिभावकहरु छोरीलाई सहज रुपमा खेल क्षेत्रमा आउन दिन मान्दैनन्, आएका खेलाडीलाई पनि कतैबाट प्रोत्साहन छैन ।’
अरु जिल्लामा गोल्ड मेडल ल्याउने खेलाडीलाई स्थानीय सरकार, संघ संस्था तथा समाजले सम्मान गर्ने भए पनि सप्तरीमा त्यसो हुन नसकेको उनको गुनासो छ ।
खेल क्षेत्रमा बढ्दो उदासिनताप्रति चिन्ता व्यक्त गर्दै यादव भन्छन्, ‘भारोत्तोलनमा कठोर परिश्रम गर्नुपर्ने हुन्छ । डाइट अनिवार्य चाहिन्छ । यहाँ खेलाडीहरुमा डाइट नै पुग्दैन, कतैबाट सहयोग पनि छैन ।’ देशको झण्डा छातीमा राखेर खेल्ने खेलाडिहरुलाई संघ, प्रदेश र स्थानीय सरकारलेद सुविधा दिएर आकर्षण बढाउनुपर्ने उनको सुझाव छ ।