१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

नारायण अधिकारी
चितवन, २७ माघ ।जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।

रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रु ४१ करोड ८८ लाख चार हजार ९३६ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार रु नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उहाँको भनाइ छ । उहाँका अनुसार माघ मसान्तसम्म रु १० करोडभन्दा बढी उधारो हुनेछ ।

हालसम्म रङ्गशाला निर्माणका लागि रु ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले रु आठ करोड, वाग्मती प्रदेश सरकारले रु तीन करोड सहयोग गरेका छन् । महायज्ञमा बोलकबोल रु ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा रु नौ करोड ११ लाख ६५ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिनुभयो । महायज्ञमा रु एक करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए । वाग्मती प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख, वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले रु एक करोड, गैँडाकोट नगरपालिकाले रु एक करोड बराबरको काठ, नेपाल पोल्ट्री महासङ्घले रु एक करोड र ग्लोबल आइएमई बैंकले रु एक करोड बोलकबोल गरेका थिए । ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले रु ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिनुभयो ।

महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुके कोभिड–१९ का कारण रकम उठ्न ढिलाइ भएको भए पनि दाताहरुको नदिने नियत नभएकाले रकम क्रमशः उठ्दै जाने बताउनुहुन्छ । रकम उठाउनका लागि समितिका तर्फबाट टीकाराम लामिछानेलाई जिम्मेवारी दिइएको र सम्पूर्ण हिसाबकिताब फाउण्डेशनलाई बुझाइएको उहाँले जानकारी दिनुभयो ।

वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले आव २०७७र७८ को विनियोजित रकमबाट सहयोग गरे पनि महायज्ञमा कबोल गरेको रकम भुक्तानी गरी नसकेको तिमिल्सिनाले जानकारी दिनुभयो । जिल्लाका अन्य केही पालिकाले कबोलको रकम पठाएको भए पनि केहीको बाँकी छ । महायज्ञमा सहयोग रकम बोल्ने सांसददेखि व्यापारीसम्मले रकम भुक्तानी गरेका छैनन् ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बजेट अभाव हुँदा सोचे जसरी कामलाई अघि बढाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “रकमको जोहो हुने निश्चित स्रोत छैन, बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेका छौँ ।” उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था रहेको उहाँको भनाइ छ । कोभिडका कारण दाताहरुबाट अपेक्षाकृत सहयोग प्राप्त हुन नसकेको उहाँको गुनासो छ ।

निर्माण सामग्री खरिद गर्ने एउटै फार्मसँग ठूलो रकम हुँदा आफूहरुलाई पनि थप सामान ल्याउन समस्या हुने गरेको कट्टेलले बताउनुभयो । महायज्ञको रकम सबै उठेमा पनि तत्काललाई समस्या समाधान हुने उहाँको भनाइ छ । उधारोमै सामान ल्याएर भए पनि काम नरोकेको कट्टेल बताउनुहुन्छ ।

रकम अभावकै कारण रङ्गशाला निर्माणमा खटिने कामदारको सङ्ख्या समेत घटाइएको छ । पहिले ३१३ जनासम्म कामदारले काम गर्दै आएकामा पछिल्लो समय घटाएर १३५ जना मात्रैले काम गरिरहेका छन् । रकम अभाव भए पनि चाडपर्वदेखि कोभिडको समयमा समेत कामलाई भने निरन्तरता दिइएको छ ।

रङ्गशाला निर्माण सम्पन्न गर्न करिब रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ । हाल रङ्गशालाको मैदान र प्यारापिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम शुरु गरिएको रङ्गशाला एक वर्ष छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, “महायज्ञको बोलकबोल र घोषित रकम प्राप्त भएमा लक्ष्यअनुसार काम हुने थियो ।” महायज्ञबाहेक रङ्गशाला निर्माणका क्रममा विभिन्न व्यक्ति र संस्थाले सहयोग घोषणा गरेको रकम रु चार करोड हाराहारी उठ्न बाँकी छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा रङ्गशाला निर्माणका लागि उपलब्ध गराइएको हो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण भइरहेको छ । जग्गा दिलाउन र यहाँ रङ्गशाला निर्माणका लागि महानगरपालिकाले अगुवाइ गरेको थियो । महानगरपालिकाकै आग्रहमा फाउण्डेशनले रङ्गशाला निर्माण थालेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]