२५ कार्तिक २०८२, मंगलबार
11-11-2025 , Tue
×

आन्तरिक पर्यटकले जुरमुराउँदै किचकबध

Logo
प्रकाशित शुक्रबार, माघ ३०, २०७७

न्यूजमधेश डेस्क
झापा ,३० माघ । कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो ।

वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिले वनभोजस्थल, बाल उद्यानसहितको बगैँचा निर्माण गरेको छ । यहाँ आउने पर्यटकको ध्यान बाल उद्यानभित्र राखिएको गैँडा र हात्तीको प्रतिमाले समेत खिच्ने गरेको समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो ।

दैनिक १०० देखि २०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको बताउँदै अध्यक्ष थेबेले भन्नुभयो, “अब कोरोनासँग मान्छे डराउन छाडेछन्, चहलपहल बढ्यो । शनिबार त चार÷पाँच सयसम्म आन्तरिक पर्यटक वनभोज खान र घुम्न आउँछन् ।”

चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा दुई हजार वर्षभन्दा पहिलेको दरबार, किल्ला, पर्खाल, भाडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ ।

हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको छ तर यस वर्ष भने कोभिड–१९ कारण मेला नलगाउने उहाँले बताउनुभयो । प्राकृतिक दृश्यावलोकनका लागि समेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ । दक्षिणी भागमा धर्मशालाका लागि बनाइएको दुईतले भवनमा प्रहरीको अस्थायी बिट र ब्यारेक छ । किचकबधस्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेको दुईवटा मूर्ति छन् ।

महाभारतकालीन कथाको किंवदन्ती जोडिएको झापाको महत्वपूर्ण स्थल भएको हुँदा किचकबधमा पर्यटकीय आकर्षणयुक्त वातावरण बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष ध्यान दिइरहेको भद्रपुर नगरपालिका–२ अध्यक्ष भीम केरुङले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]