११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

ठाडै सुकेका रुखका कारण वन नै उजाडियो

Logo
प्रकाशित मंगलबार, चैत्र ३१, २०७७

न्यूजमधेश डेस्क
झापा ,३१ चैत्र । झापाको कनकाई सामुदायिक वनमा अधिकांश सिसौका रुख ठाडै सुकेका छन् । सुकेका रुखले सामुदायिक वन नै उजाड देखिन थालेको छ । कनकाई नगरपालिका–२, ३ र ४ मा २७७ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सिसौ र खयरका अधिकांश ठूला रुख वर्षौँदेखि ठाडै सुकेका छन् ।

कनकाई नदीको पूर्वी किनार र चुरेको फेदसँग जोडिएको यो प्राकृतिक वनमा सिसौ र खयरका प्रजाति छन् । एक दशकदेखि नै रुख सुक्ने क्रम शुरु भएको थियो । सुकेका रुख हटाउने र नयाँ बिरुवा लगाउने अभियान शुरु नगरिँदा एकातिर मूल्यवान रुखहरु ठाडै पोचिएर खेर गइरहेको छ भने अर्कातिर जङ्गल मासिएर मरुभूमीकरण हुने सम्भावना बढेको छ ।

कटानको अनुमति नहुँदा वनभित्र रु १६ करोड मूल्यका सुकेका ठाडा रुख वर्षौँदेखि पोचिएर खेर गइरहेको छ । सामुदायिक वनले गरेको अध्ययनले सुकेका ठाडा रुख कटान गर्दा करीब ८० हजार क्युफिट काठ सङ्कलन हुनसक्ने देखाएको छ । कनकाई वनमा दशकअघि सिसौका ठूला रुख सुक्ने रोग देखापरेको स्थानीयवासी बताउँछन् । सिसौमा लागेको अज्ञात रोगले रुख ठाडै सुक्ने क्रम बढ्यो । सुकेका रुख निकालेर काठ खेर जान नदिनेतर्फ अहिलेसम्म सरकारी निकायको ध्यान जान सकेको छैन ।

कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओलीले सरकारी निकायले नै सुकेका रुख कटानको अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार विसं २०७४ मा वन मन्त्रालयको सामुदायिक वन महाशाखामा सुकेका रुख कटानको अनुमति माग्दै निवेदन दिइएको थियो । हालसम्म मन्त्रालयले कटानको स्वीकृति दिएको छैन ।

वन मन्त्रालयले जैविक विविधतामा ह्रास आउने कारण देखाउँदै सुकेका ठाडा रुखहरु कटानका लागि स्वीकृति नदिएको ओलीले बताउनुभयो । सुकेका रुख निकाल्दा जैविक विविधतामा के–कस्तो असर पर्छ भन्नेतर्फ मन्त्रालयले स्थानीय सामुदायिक वनलाई तथ्यपूर्ण जानकारीसमेत दिएको छैन ।

कनकाई नदीमा पानीको वहाब गहिरिएसँगै सो वन क्षेत्र चिस्यानको अभावले समेत सिसौका रुखहरु सुकेको हुनसक्ने स्थानीय वन पदाधिकारी बताउँछन् । नदीमा जथाभावी ढुङ्गा, बालुवा निकाल्ने क्रम बढेपछि कनकाईको बहाब गहिरिएको छ । खोला गहिरिएपछि किनारमा रहेको रुखहरु सुक्खा लागेर सुक्न थालेको समेत अनुमान छ । वर्षेनी हुने डढेलोले पनि वन पैदावार सुकाउँदै आएको छ ।

सो सामुदायिक वनले वार्षिक तीन हजार क्युफिट ढलापडा रुख मात्र कटान गर्न पाउने नियम छ । “वार्षिक कटान क्षमता तोकिएको हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “ढलेका रुख नै काफी छन् ठाडा काट्नै पर्दैन ।” अनुमति नपाएपछि सुकेका ठाडा रुख नकाटिएको उहाँको भनाइ छ । उहाँले वार्षिक सिसौका काठ दुई हजार ४०० क्युफिट र खयर ६०० क्युफिट गरी तीन हजार क्युफिट ढलापडा काठ घाटगद्दी गर्दै आएको बताउनुभयो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले सामुदायिक वनको हैसियतअनुसार मात्र ढलापडा रुख कटान गर्न पाउने कानूनी प्रावधान रहेको बताउनुभयो । उहाँले झापाका अन्य सामुदायिक वनको तुलनामा कनकाईमा सुकेका रुख अत्यधिक रहेको जानकारी पाएको तर यसको विस्तृत अध्ययन नभएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]