३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

जनकपुरको एक अस्पतालमा ‘लाश’माथि बार्गेनिङ, रकमी छलछामै ढाकिन्छ डाक्टरको लापरबाही

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

कमलेश ठाकुर
जनकपुरधाम ,६ बैशाख । गत चैत २५ गते धनुषाधाम नगरपालिका– ६ हरिपुरकी २५ वर्षीया किरण सिंहको स्वास्थ्य बिग्रियो । शरिर कमजोर भएर किरण घरमै बेहोस भईन् । आफन्तले जनकपुरधामस्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा भर्ना गराए । प्रारम्भिक उपचारपछि चिकित्सकले किरणलाई निमोनिया भएको सुनाए । भर्ना भएको भोलिपल्ट चिकित्सकले किरणको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै आईसीयूमा भर्ना गरे । त्यहाँ पनि उनको उपचार सम्भव भएन । चार दिनपछि भेन्टिलेटरमा सिफ्ट गरे ।

भेन्टिलेटरमा राखेपछि तीन दिनभित्र निमोनिया निको हुन्छ भनेर चिकित्सकले किरणका बुवा विजय सिंहलाई आश्वासन दिए । तर, सोही मध्यराति १२ बजे अस्पतालले किरणको मृत्यु भएको खबर आफन्तलाई दिए । चिकित्सकको लापर्बाहीले किरणको मृत्यु भएको परिवारजनले आरोप लगाए । परिवारजनले लापार्बाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाही र क्षतिपूर्तिको माग गरे । दुबै पक्षको घम्साघम्सीपछि किरणको उपचार खर्च र क्षतिपूर्ति अस्पतालले तिर्नुपर्नेमा सहमति भयो ।

फार्मेसीमा औषधिवापत तिरेको ६८ हजार रुपैयाँ र उपचार खर्च गरी करिब २ लाख रुपैयाँ अस्पतालले फिर्ता गर्ने र चिकित्सकलाई कारबाही गर्ने प्रतिवद्धतापछि आफन्तले शव बुझे । अस्पतालले उपचार खर्च मिनाहा गर्नुका साथै किरणको उपचारमा संलग्न डा.गोविन्दराज मण्डललाई निलम्बन गर्ने प्रतिबद्धता ग¥यो । तर, डा.मण्डललाई निलम्बन गरे÷नगरेकोबारे परिवारलाई अहिले चासो छैन । जानकी मेडिकल तथा शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा.अरुण गुप्ताले विवाद साम्य पार्न उनलाई रणनीतिक हिसाबले निलम्बन गरेको जिकिर गरे ।

चैत १६ गते धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ की शिलादेवी यादवलाई सुत्केरी ब्यथा लाग्यो । सुत्केरी ब्यथाले च्यापेपछि उनी जनकपुरको बैदेही हस्पिटल भर्ना भइन् । साँझ ७ बजे श्रीमती लिएर पुगेका रमण यादवलाई अस्पतालले दश मिनेटमै चिकित्सक बोलाइदिने आश्वासन दिए । शिलालाई रक्तश्रावसँगै पीडा बढ्दै गयो ।

उनका आफन्तले स्त्रीरोग विशेषज्ञलाई बोलाइदिन बारम्बार बिन्ती गरे । तर, राति २ बजे मात्र चिकित्सक आए । उनलाई शल्यक्रिया कक्षमा लगियोे । त्यतिबेला पेटभित्रको शिशुको ज्यान गइसकेको थियो । अस्पतालको लापर्बाहीले बच्चाको मृत्यु भएको अस्पताल स्वयम्ले स्वीकार ग¥यो । पीडित पक्षले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरे । क्षतिपस्र्ति नदिए शव नबुझ्ने अडान लिए । सुरुमा कानुनी प्रक्रियामा जान अघि सरेको पीडित पक्ष पछि मेलमिलापमा राजी भए । चारलाख रुपैयाँ लेनदेन गरी घटनाको ढाक्छोप भयो ।

गत साउन २६ गते महोत्तरी गौशाला नगरपालिका–११ की २३ वर्षीया गंगादेवी महतो जनकपुरकै रामजानकी अस्पतालमा भर्ना भइन् । छोरी जन्माएपछि उनको शरिरमा रगत कम भएको भन्दै अस्पतालले रगत मगाए । उपचारका क्रममा अस्पतालले ‘ओ’ पोजेटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजेटिभ ब्लड चढाए । अस्पताल र रेडक्रस दुवैको लापर्बाहीले उनको ज्यान गयो ।

फरक ग्रुपको रगत चढाएकै कारण सुत्केरीको मृत्यु भएको अस्पतालले समेत स्वीकार ग¥यो । पीडित पक्षले क्षतिपूर्ति र चिकित्सकलाई कारबाही नहुञ्जेल शव नउठाउने अडान लिए । अन्त्यमा अस्पतालले क्षतिपूर्ति दिन तयार भएपछि गंगाका ससुरा पक्ष र अस्पताल प्रशासनबीच वार्ता भयो । अस्पतालले आफ्नो चरम लापर्बाही ढाकछोप गर्न पीडितलाई ५ लाख रुपैयाँ दिएर घटना मिलापत्र गरे ।

०७५ फागुण २८ गते मिथिला नगरपालिका ६ का रामनरायण खत्वे प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भए । रत्तचापले अवस्था बिग्रिएपछि छोरा रमेश मण्डलले उनलाई अस्पतालको इर्मजेनसी कक्षमा पु¥याए । अस्पतालले पहिला प्रकृया पु¥याउन दबाब दिए । उनको छोरा टिकट काउण्टरमा गए । र, उपचार सुरु गर्न चिकित्सकसँग आग्रह गरे । टिकट लिएर आएपछि उपचार सुरु भएको थिएन । उपचार सुरु गर्दा एकछिनमै उनको मृत्यु भयो । चिकित्सककै गल्तीले बुबाको ज्यान गएको भन्दै उनका छोरा रमेशले जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिए ।

घटना छानबिनका लागि अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवको संयोजकत्वमा १० सदस्यीय छानबिन समिति समेत गठन भयो । तर, समितिले घटनाको छानबिनै नगरेको र पटक–पटक धाउँदासमेत कुनै उपलब्धि नभएपछि पछि हटेको उनका कान्छा छोरा राजाराम मण्डलले बताए ।

जनकपुरमा स्वास्थ्य संस्थाको लापर्बाहीले पटक–पटक बिरामीको ज्यानै जाने घटना दोहोरिँदै आए पनि रकम लेनदेन गरी मिलापत्र गर्ने प्रवृति बढ्दो छ । अस्पतालले आफ्नै गल्तीका कारण बिरामीको ज्यान गएको स्वीकार गर्दासमेत आजसम्म कुनै पनि अस्पताललाई कारबाही हुन सकेको छैन । राजनीतिक, आर्थिक, प्रशासनिक र विचौलियाको दबाबमा पीडित पक्षसमेत रकम लेनदेन गरी अस्पतालसँगै मिल्न बाध्य छन् ।

अधिकांश घटना छानबिन नै नगरी मिलापत्र गरिएको भेटिन्छ । अस्पतालहरू पहुँच र आर्थिक रूपमा समेत मजबुत हुने हुँदा पीडित पक्ष कानुनी प्रक्रियामा जानै चाहदैनन् । तर, पीडित पक्षले उजुरी नदिँदा अस्पतालभित्र घट्ने त्यस्ता घटनाका विषयमा अनुसन्धान गर्न नसकिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्र बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]