
सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ।
कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ।
सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, माला र सम्मान–पत्र प्रदान गरिँदै, उनीहरूको मेहनत र सफलतालाई कदर गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष रामभरोस महतो, वडा सदस्यहरू, बुद्धिजीवी, समाजसेवी तथा शिक्षक अभिभावकहरूको विशेष उपस्थिति रहेको थियो।
वडा अध्यक्ष महतोले विद्यार्थीहरूलाई बधाई दिँदै भने, “सार्वजनिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने प्रमाण यिनै विद्यार्थीहरूले दिएका छन्। अब हाम्रो जिम्मेवारी सामुदायिक विद्यालयप्रति जनविश्वास बढाउनु हो।”
कार्यक्रमले विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारमा उत्साह थप्नुका साथै आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको जनाइएको छ।