०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

प्रदेश २ मा जताततै विवाद भागबण्डा नमिल्दा जनप्रतिनिधिले नै गर्छन् तालाबन्दी

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

कमलेश ठाकुर
जनकपुरधाम,७ बैशाख । गएको चैत ३१ गते सिरहाको कल्यानपुर नगरपालिकामा तालाबन्दी भयो । नगरपालिकामा ताला लागेको एकसाता भइसक्दा पनि अझै ताला खुलेको छैन । नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले नै कार्यवाहक नगरप्रमुख रोहिणी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासविरुद्ध नगरपालिकामा तालाबनदी गरेका हुन् । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भइरहेको असन्तुष्ट पक्षको आरोप छ ।

नौ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यसहित १७ जनाले सामूहिकरुपमा ११ बुँदे माग अघि सारेका छन् । मनोमानी रुपमा योजना छनौट गरेको, चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतका भुक्तानी गर्न नसकेको भन्दै बाध्य भएर तालाबन्दी गर्नु परेको कल्याणपुर नगरपालिका १ का वडाअध्यक्ष जयराम कामतीले बताए ।

जनप्रतिनिधिले नै नगरपालिकामा तालाबन्दी गरेपछि पालिकाको सम्पूर्ण कामकाज अहिले ठप्प छ । काम विशेषले पालिका पुगेका सेवाग्राही रित्तै हात फर्किरहेका छन् । तर, सरोकारवाला निकाय मौन छ । त्यहाँ नगरपालिकामा लागेको ताला खुलाउने विषयमा कहीं कसैबाट प्रयास भएको देखिँदैन ।

सिरहाको कल्यानपुरमा जस्तै समस्या धनुषाको सबैला नगरपालिकामा पनि छ । गएको चैत ११ गते सबैला नगरपालिकामा उपप्रमुख निलुदेवी मण्डलको नेतृत्वमा तालाबन्दी भयो । विभिन्न आठ बुँदे माग राख्दै आठ जना वडाध्यक्षसहित २४ जना कार्यपालिका सदस्यले गरेको तालाबन्दी २४ दिनपछि खोलिएको छ । आमसर्वसधारणलाई असहज भएको र नगरपालिकाको काम प्रभावित भएको भन्दै वैशाख ४ गते (शनिबार) तालाबन्दी खोलिएको हो । नगरपालिकामा लगाइएको ताला खुलेपनि असन्तुष्ट पक्षको कुनै माग सम्बोधन नभएको नगर उपप्रमुख निलुदेवीले बताईन् ।

उपप्रमुख निलुदेवीका अनुसार मेयर विजयशंकर साहले चालु आर्थिक वर्षको योजना र बजेटको किताब सार्वजनिक नगरेको, गत वर्षको हरहिसाबमा पार्दशिर्ता नगरेको, शिक्षाको बजेटमा कमिसन लिएको, योजना बाँडफाँडमा एकलौटी गरेको र नगरस्तरीय योजनामा काम भन्दा बढी भ्रष्टाचार गरेका छन् ।

त्यस्तै गएको चैत ४ गते जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित वडा कार्यालयमा पनि जनप्रतिनिधिहरुले नै तालाबन्दी गरे । वडाध्यक्ष रामेश्वर महासेठको काम कारबाहीप्रति असन्तुष्टी जनाउँदै तीनजना वडा सदस्यले १२ बँुंदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेका थिए । वडासदस्यहरु महेन्द्र महतो, बैद्यनाथ पण्डित र ककुन्ती देवी महराले वडाध्यक्ष महासेठले मनोमानी गरेको, योजना बाँडफाँडमा एक्लौटी गरेको, हरहिसाब सार्वजनिक नगरेको र भ्रष्टाचार गरेको आरोप लगाएका थिए । तर, माग सम्बोधन नहुँदै भोलिपल्टै प्रहरीको रोहवरमा तालाबन्दी खुल्यो ।

त्यस्तै गएको कार्तिक १८ गते सर्लाहीको मलंगवा नगरपालिकामा पनि तालाबन्दी भयो । नगर प्रमुख निरसल साहको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै उपप्रमुख शवनम मिकरानीले तालाबनदी गरेकी थिइन् । नगरप्रमुख साहले अपारदर्शी गतिविधि गरेको, विकासका काममा मनोमानी गरेको, आफ्नो भूमिकामा समेत हस्तक्षेप गरेको आरोप उपप्रमूख शवनमको आरोप थियो । जिल्ला समनव्य समिति सर्लाहीका सभापति मेथुन चौधरीले दुवै पक्षबीच छलफल गरेर लिखित सहमति गराएपछि त्यहाँ तालाबन्दी खुलेको थियो । तर, उपप्रमुख शवनमले सहमती भएपनि व्यवहारमा अझै लागु नभएको बताएकी छन् ।

सिरहाको कल्यानपुर, धनुषाको सबैला र सर्लाहीको मलंगवा नगरपालिका त प्रतिनिधिमुलक घटना मात्र हुन् । प्रदेश २ को अधिकांश पालिकामा जनप्रतिनिधिबीच विवाद देखिएको छ । विवाद देखिएका अधिकांश विषय भागबण्डा रहेको देखिएको छ । बजेट र योजना बाँडफाड, हरहिसाब पार्दशिता, योजनामा कमिशन लेनदेन र व्यक्तिगत स्वार्थ पुरा नहुदा स्थानीय तहका प्रमुख, उप प्रमुख र वडा अध्यक्ष विभाजित भएको देखिन्छ ।

जनप्रतिनिधिबीचको विवादका कारण विकास निर्माणको काम ठप्प छ । सेवाग्राही मारमा परेका छन् । गाउँमै सिंहदरबारको परिकल्पनासाथ गठित स्थानीय तहमा बेथिति अचाक्ली रुपमा बढ्दो छ । कतै विकासनिर्माणका काम ठप्प छन् त कतै योजना सम्पन्न भए पनि भुक्तानी रोकिएका छन् ।

अधिकांश तहमा मेयर र उपमेयरबीच विवाद उत्कर्षमा छ । आन्तरिक विवादका कारण अधिकांश स्थानीय तहमा विनियोजित विकास रकम खर्च हुन सकेको छैन । स्थानीय तहमा देखिएका विवाद समाधानका लागि कसैले पनि खासै पहल गरेको देखिँदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]