३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,२४ बैशाख । कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् । नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् ।

कोरोनाको सङ्क्रमण बढेपछि व्यापारीले मास्कको अभाव देखाउँदै प्रति थान दुई रुपैयाँ पर्ने सर्जिकल मास्कको २० रुपैयासम्म बिक्री गर्न थालेका छन् । मेडिकलहरुले औषधिमा समेत मूल्य वृद्धि गरेको देखिन्छ भने खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा खाने तेलको मूल्यमा अस्वाभाविकरुपमा मूल्य वृद्धि भएको स्थानीयवासी नरराज रावतले बताए । “निषेधाज्ञा हुनुको पहिलो दिन प्रतिकेजी रु ८० पर्ने चिनीको मूल्य ९० पुगेको छ । प्रतिप्याकेज एक सय पर्ने मास्कको मूल्य तीन सय पुगेको छ”, रावतले भने, “अघिल्लो दिनसम्म स्थिर रहेको मूल्य निषेधाज्ञा भएको दिनदेखि व्यापारीले कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका हुन् । यसले निषेधाज्ञाको चपेटामा परेका सर्वसाधारणहरुलाई ठूलो मार परेको छ ।”

टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रामबहादुर चौधरी दैनिक मजदूरी गरी जीवन निर्वाह गर्दै आउनुभएको छ । दैनिक गिट्टी कुटेर साँझ–बिहानको छाक टार्ने रामबहादुरलाई अहिले कोरोना सङ्क्रमणका कारण भएको निषेधाज्ञाले दैनिक मजदूरीको काम रोकिँदा खानका लागि निकै समस्या हुन थालेको छ । “काम छैन । पैसा पनि छैन । नखाएर बाँच्न सकिँदैन”, रामबहादुरले भन्नुभयो, “बजारमा सामानको भाउ पनि छुइसक्नुछैन । जताबाट पनि मर्ने हामी जस्ता गरीब त हो । ठूलाबडालाई त सबै छुट दिएकै छ ।” उहाँले सरकारबाट राहतको व्यवस्थापन हुन नसके रोगभन्दा पनि भोकले मर्नुपर्ने समय आउने बताए ।

उपभोक्ता हित संरक्षण समिति टीकापुरले अहिलेसम्मको स्थितिमा प्रेस विज्ञाप्ति निकाल्ने भन्दा अर्को काम गरेको देखिँदैन । समितिका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले बजार अनुगमनका लागि प्रक्रिया अगाडि बढाइएको भए पनि अनुगमन हुन नसकेको बताउनुभएको छ । “बजारमा मूल्य वृद्धि भएको भन्ने गुनासो हामीलाई आएको छ । केही दिनमा हामी बजारको अनुगमन गर्छौं”, समितिका अध्यक्ष तिमिल्सिनाले भने, “अहिले नै बजारमा सामानको अभाव हुने समय भइसकेको छैन । तर बजार अनुगमनमा त्यस्तो देखियो भने हामी व्यापारीलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”

उहाँले व्यापारीहरुले सामानको खरीद बिल नराख्दा अनुगमनमा समस्या हुने गरेको बताउँदै नगरपालिका बढी जिम्मेवार भएमात्र अनुगमनलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । “नगरपालिकाले मासिकरुपमा बजारको सन्तुलन मूल्यको रेकर्ड राख्नुपर्ने हो । त्यो हुन सकेको छैन”, तिमिल्सिनाले भने, “अर्कोतिर उपभोक्ताले सामान खरीद गर्दा व्यापारीसँग बिल लिँदैनन् भने व्यापारीहरुले पनि सामानको मूल्य सूची राख्दैनन् । यसले झन् अन्यौलता थपेको छ ।”

टीकापुर नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समितिसमेत गठन गरेको छ । समितिले गरेको बजार अनुगमन औपचारिकतामा मात्रै सीमित हुने गरेको गुनासो स्थानीयवासीको रहँदै आएको छ ।

उता, स्वास्थ्य क्षेत्रको अनुगमनका लागि नगरपालिकाले जनस्वास्थ्य प्रवद्र्धन शाखालाई जिम्मेवारी दिएको छ । स्वास्थ्यका कर्मचारी कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कारण स्वास्थ्य क्षेत्रको अनुगमन गर्न नसकिएको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]