२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

जसपा विभाजनको डिलमा : हेर र पर्खको रणनीतिमा दुवै पक्ष

Logo
प्रकाशित आइतबार, जेठ १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१६ जेष्ठ ।जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको अन्तिम संघारमा पुगेको छ। अध्यक्षहरूबीच स्पष्टीकरण ‘युद्ध’ सुरू भएसँगै जसपा विभाजनको डिलमा पुगेको हो।

दुवै अध्यक्षले एक अर्कालाई २४ घण्टाको अल्टिमेटम दिँदै सोधेको स्पष्टीकरणको म्याद आइतबार सकिँदैछ। तर, दुवै जवाफ नदिने ‘मुड’ मा देखिएका छन्।

८ जेठमा जसपा अध्यक्ष उपेन्द्र यादवले तीन दिनको अल्टिमेटम दिँदै अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेका थिए।

त्यसको केही घण्टा नबित्दै ठाकुरले पनि सोही शैलीको स्पष्टीकरण सोधे। तर, दुवै पक्षले जवाफ नदिएपछि शनिबार २४ घण्टाको अल्टिमेटम दिँदै पुनः यादवले अध्यक्ष ठाकुरसहित चारजना नेतालाई स्पष्टीकरण सोधेका थिए।

प्रतिवादमा ठाकुरले पनि यादवलाई स्पष्टीकरण सोधे।

शनिबार सोधिएको स्पष्टीकरण पत्रमा दुवै पक्षले चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने चेतावनी एक अर्कालाई दिएका छन्।

स्पष्टीकरणको जवाफ नआएपछि कारबाही प्रक्रिया अगाडि बढाइने दुबै पक्षले जनाएका छन्।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले स्पष्टीकरणको जवाफ नआएपछि कार्यकारिणी समिति बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने बताए।

‘कार्यकारिणी समितिले उहाँहरूलाई स्पष्टीकरण सोधेको हो। जवाफ नआएपछि बैठक बसेर कारबाही प्रक्रिया अगाडि बढ्छ,’ आयोमेलसँग अधिकारीले भने,‘पत्रमा निष्कासन गर्ने भनिएको छ। त्यही दिशामा कारबाही अगाडि बढ्छ।’

यता, महन्थ–राजेन्द्र पक्ष भने बाबुराम–उपेन्द्र समूहको ‘एक्सन’ पछि प्रतिक्रिया दिने सोचमा देखिएको छ। एकअर्कालाई कारबाहीको सिलसिला सुरू हुँदा औपचारिक रूपमै विभाजनको प्रक्रिया अगाडि बढ्ने र त्यसको अपजस आफूहरूले बोक्न नहुने महन्थ–राजेन्द्रको बुझाइ छ।

‘अहिलेसम्म उताको एक्सनपछि मात्रै हामीले प्रतिक्रिया जनाएका छौं। स्पष्टीकरण पनि पहिले उहाँहरूले सोध्नुभयो त्यसपछिमात्रै यताबाट सोधिएको छ,’ महन्थ–राजेन्द्रनिकट एक नेताले भने,‘उहाँहरूले कारबाही प्रक्रिया अगाडि बढाएपछि त्यसपछि मात्रै यताबाट केही हुन्छ।’
कुनै एक पक्षले कारबाही प्रक्रिया अगाडि बढाए जसपाभित्र आधिकारिकताको विवाद सुरू हुने निश्चित छ। र, त्यसका लागि दुवै पक्ष निर्वाचन आयोगमा दाबी प्रस्तुत गर्नेछन्।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार कार्यसमितिमा बहुमत हुनेले अधिकारिकता पाउने व्यवस्था छ। जसपाको केन्द्रीय कार्य समिति र कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत छ।

महन्थ–राजेन्द्र समूह संसदीय दलमा बहुमतमा रहे पनि प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा आधिकारिकताका लागि केन्द्रीय समितिबाटै ४० प्रतिशत पुर्‍याउनुपर्ने वाध्यता देखिएको छ।

‘संसदीय दल जीवित भइदिएको भए समस्या नै हुने थिएन। संसदीय दलमा हाम्रो बहुमत छ,’ महन्थ–राजेन्द्र पक्षीय ती नेताले भने,‘प्रतिनिधिसभा नभएको अवस्थामा केन्द्रीय समितिबाट बहुमत पु¥याउनुपर्ने हुन्छ। बहुमत पु¥याउने प्रयास भइरहेको छ।’

महन्थ–राजेन्द्र पक्षले शक्तिशाली मानिएको पार्टीको कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत जुटाउने कोसिस गरिरहेको छ। तर, हालसम्म बहुमत पुर्‍याउन सकेका छैनन्।

वरिष्ठ नेता महतोको पक्षमै रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह ८ जेठमा बाबुराम–उपेन्द्र पक्षले बोलाएको बैठकमा सहभागी भएका थिए।

यसैगरी पूर्वराजपाबाटै प्रदेश २ मा मन्त्री बनेका रामनरेश राय र राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादव पनि बाबुराम–उपेन्द्र पक्षतिर लागेपछि महन्थ–राजेन्द्रलाई बहुमत पुर्‍याउन सकस परेको छ। पूर्वराजपाकै महेन्द्रराय यादव यसअघि नै बाबुराम–उपेन्द्र कित्तामा गइसकेका छन्।

राजपा ब्युँताउने तयारी
विवाद बढ्दै गएपछि महन्थ–राजेन्द्र पक्षभित्र जसपामै आधिकारिकता खोज्ने कि पूर्वराजपा ब्युँताउने विषयमा छलफल सुरू भएको छ। दिनहुँ विवाद, स्पष्टीकरणको लफडालगायतका कारण पूर्वराजपा नै ब्युँताउने विषयमा छलफल अघि बढेको एक नेताले बताए।

‘हामीलाई त्यतिकै पनि पूर्वराजपा नै भनिँदै आइएको छ। सकभर जसपाकै आधिकारिकता लिने प्रयास हुन्छ,’ ती नेताले भने,‘सम्भव हुनसकेन भने अन्त्यमा राजपा नै ब्युँताइन्छ।’

यद्यपि अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था आइनसकेको उनको भनाइ छ।

‘अहिले समय छ हेर्दै जाउँ उहाँहरूले (बाबुराम–उपेन्द्र) के गर्नुहुन्छ। त्यसपछि अगाडिको निर्णय हुन्छ,’ उनले भने।

महन्थ–राजेन्द्र पक्षीय अर्का एक नेताले सँधैको किचकिचभन्दा आ–आफ्नो बाटो नै लाग्नु बेस हुने बताए। सधैंको विवादका कारण जगहसाइ गर्नु भन्दा पुरानो पार्टी ब्युँताएर अगाडि बढ्नु उपयुक्त देखिएको उनको भनाइ छ।

‘एकता भएको एक वर्षमै यसरी विवाद हुनु कुनै हिसाबले ठीक होइन, राजनीतिमा बदनामीमात्रै भइरहेको छ,’ ती नेताले भने,‘आ–आफ्नो बाटो लाग्नु उपयुक्त विकल्प हो। र, सम्भवतः यो काम अब चाँडै हुन्छ।’ आयोमैलमा समाचार प्रकाशित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]