२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

प्रदेश २ को सरकारमा चलखेल सुरु,सरकार परिवर्तनको सम्भावना बढियो

Logo
प्रकाशित शुक्रबार, जेठ २१, २०७८

अजय साह
जनकपुरधाम,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ।

प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेको छ, जुन करिब १३ महिना अघि पार्टी एकीकरणपश्चात् जनता समाजवादी पार्टी (जसपा) बनेको हो। तर, पार्टीको राम्रोसँग एकीरण नहुँदै अहिले जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक( अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको छ।

त्यो टुंगो नलाग्दासम्म कानुनी रुपमा जसपा पार्टी एक भए पनि व्यावहारिक रुपमा विभाजित भइसकेको छ।​ जसपाभित्र अध्यक्ष महन्थ ठाकुर ओलीलाई साथ दिइरहेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव ओली विरोधी गठबन्धनमा छन्।

प्रदेश सरकारमा चलखेल सुरु

यसरी केन्द्रमा पार्टी विभाजनको असर अब प्रदेशमा पर्न थालेको छ। जसअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर मनिष सुमन मुख्यमन्त्री बन्ने प्रयासमा लागेको बताइएको छ।

सुमनलाई अगाडि बढ्न जसपा अध्यक्ष महन्थ ठाकुरले निर्देशन दिइसकेको बुझिएको छ। त्यसैले उनी प्रदेश संसदीय दलमा बहुमत जुटाउनको लागि सक्रिय भएका छन्।

प्रदेश २ को संसदीय दलका नेताबाट राउतलाई हटाएर मनिष सुमन नेता बन्न लागिपरेका छन्। जसपा प्रदेश २ को संसदीय दलको नेताको हैसियतले राउत मुख्यमन्त्री छन्। सुमन ठाकुर पक्षमा छन् भने मुख्यमन्त्री राउत उपेन्द्र यादव समूहमा छन्। सुमनले एमालेबाट साथ पाउने ग्रिन सिग्नल पाइसकेको बुझिएको छ। त्यसैले उनी अगाडि बढ्न खोजिरहेका छन्।

त्यसैगरी, पूर्व(राजपाका संसदीय दलका नेता जीतेन्द्र सोनल पनि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि दौडधुप सुरु गरेको छ। सोनल नेपाली कांग्रेस, ओली समूहको एमालेसहित पूर्व(राजपा खेमाका सांसदहरूसँग आफूलाई सरकार गठन गर्न सहयोग गर्नको लागि भेटवार्ता अगाडि बढाएका छन्।

त्यस्तै, मुख्यमन्त्री राउतले पनि सत्ता समीकरण परिवर्तनको कुरालाई लिएर अहिलेदेखि दलहरूसँग आफ्नो पक्षमा सहयोग गर्न छलफलमा जुटेको बताइएको छ।

आफैँ नेतृत्व लिने दाउमा कांग्रेस

प्रदेश २ मा सत्ता समीकरण परिवर्तनमा निर्णायक भूमिकामा देखिएका नेपाली कांग्रेसलाई मुख्यमन्त्री राउत र भौतिक पूर्वाधार मन्त्री रहेका जितेन्द्र सोनल दुवै जना आफूतिर तान्ने प्रयासमा लागेको छन्।

 

यस कुरालाई कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पुष्टि गर्दै भने, ‘दुवै नेताहरु मसँग साथ दिनको लागि कुरा राखिसक्नु भएको छ। मैले पार्टीमा कुरा गरेर केही जवाफ दिने भनेको छु।’

नेता यादवले राउत र सोनलजीले जसपाको औपचारिक विभाजन नै भई आफ्नो आफ्नो पक्षमा साथ दिन भने पनि पार्टी र प्रदेशको हित हेरेर समीकरण गर्नु पर्ने बताए। उनले त्यस्तै बार्गेनिङकै कुरा आए कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको लागि पनि प्रयास गर्ने धारणा व्यक्त गरे।

नेता यादवले जसपा औपचारिकमा फुटेको अवस्थामा कांग्रेस सहकार्य गर्न तयार रहेको बताए। उनले भने, ‘दुवै नेताले सत्ता सहकार्यबारे गरेको कुरा पार्टीको केन्द्रसम्म पुर्‍याउँछौं, अब माथिबाट आउने निर्देशनको आधारमा यता हामी अघि बढ्छौं।’

नयाँ समीकरणको हल्ला

जसपाभित्र एकले अर्कालाई कारबाही गरेको खेल चलिरहेको बेला उपेन्द्र यादवले केन्द्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेबाट कारबाहीमा परेका माधवकुमार नेपाल समूह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रदेश २ मा नयाँ समीकरणको सरकार बनाउनु कुराको सहमति गरेको स्रोतले जनाएको छ।

स्रोतको अनुसार यादव प्रदेशमा आफ्नै पार्टीको राउत नेतृत्वको सरकारमा केही फेरबदल गरी निरन्तरता दिन चाहेको छ।

सरकार बनाउन ५३ आवश्यक

गणितीय हिसाबले १०७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको कारबाहीपछि अहिले १०४ सांसद छन्। तत्कालीन संघीय समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, नेकपा एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन्। सरकार बनाउन ५३ सांसद आवश्यक पर्छ।

यतिबेला जसपाको आन्तरिक विवादपछि पूर्व राजपाका दुई जना मन्त्रीहरू समाजिक विकास मन्त्री नवल किशोर साह र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश राय उपेन्द्र यादव खेमा तर्फ लागेका कारण सपाको साविकको संख्या ३० बाट बढेर ३२ पुगेको छ भने राजपाको संख्या २५ बाट २ घटेर २३ पुगेको छ।

त्यसैगरी, नेकपा एमालेमा कुल २१ जना सांसद रहेकोमा १३ सांसद सहित नेपाल–खनाल समूह बहुमतमा छ भने ओली पक्षमा ८ जना मात्र छन्। खनाल–नेपाल समूहका तर्फबाट आधिकारिक रुपमा त्यहाँ नेकपा एमालेको संसदीय दलको नेतामा शत्रुधन महतो छन्।

त्यसैगरी, ओली समूहमा ८ जना सांसदको नेतृत्व एमाले स्थायी कमिटीका सदस्य समेत रहेका सत्यनारायण मण्डलले गरिरहेका छन्।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका साविकमा १२ जना सांसद रहेकोमा ३ जना प्रत्यक्ष तर्फका सांसद र १ जना समानुपातिक तर्फका सांसद गरेर चार जना सांसदहरू एमालेको ओली समूहमा लगेपछि प्रदेश सभा सांसदको पदबाट मुक्त गरिएको थियो।

समानुपातिक सांसदको ठाउँमा एक जनालाई मनोनयन गरेपछि माओवादी केन्द्रका साविकका १ सांसदबाट ३ सांसद घटेर अहिले ८ जना मात्र रहेका छन्।

ओली समूहका तर्फबाट नेतृत्व गरिरहेका संसद सत्यानारायण मण्डल भने राउत नेतृत्वको सरकार फेरिनु पर्ने र अर्को सरकार बन्नुपर्ने पक्षमा छन्। मण्डल यस अघिदेखि नै राउत नेतृत्वको सरकार ढाल्ने पक्षमा रहँदै आएका थिए।

अहिलेको स्थितिमा सपाको ३२, माओवादीको ८ र खनाल नेपाल समूहको १३ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद सावित्री देवी साहको समर्थनमा गरेर कुल ५४ सांसदसहित राउतले नयाँ सरकार जोगाउने गणितीय सम्भावना छ।

यदि कांग्रेसले समर्थन गरे झनै स्पष्ट बहुमतमा पुग्ने सम्भावना छ। अर्कातर्फ रावत पूर्व राजपाका केही सांसदलाई मन्त्री बनाउने अफर दिएरसमेत सांसद तान्ने दाउमा छन्।

पूर्व(राजपाको सम्भावना कम

त्यसैगरी पूर्व(राजपा समूहलाई कांग्रेसले साथ दिए, राजपाको २३, कांग्रेसको १९ र एमाले ओली समूहको ८ सहित कुल संख्या ५० मात्र पुग्छ। यद्यपि, यो सम्भावना एकदम न्यून रहेको छ।

किनभने पूर्व राजपालाई कांग्रेसले समर्थनको लागि कांग्रेसलाई मुख्यमन्त्री दिनुपर्ने शर्त अघि सार्ने कांग्रेस संसदीय दलका नेता यादवको भनाइ छ। अर्कातर्फ पूर्व सपाका केही सांसद आफ्नो पक्षमा तानेर बहुमत जुटाउने खेलमा सोनल पनि लागेका छन्।

बजेट पारित गराउने मुख्यमन्त्री राउतको दाउ

यता, आर्थिक वर्ष ०७८(०७९ का लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले मुख्यमन्त्री लालबाबु राउतले महन्थ–राजेन्द्र पक्षका मन्त्रीलाई तत्काल नहटाउने जसपाका एक नेताले बताए।

तत्कालीन राजपा र सपा को संयुक्त सरकार रहेको प्रदेश २ मा पार्टी एकतापछि पनि प्रदेशको संसदीय दल भने समायोजन हुन सकेको छैन। प्रदेशमा दुवै दलको अहिले पनि छुट्टाछुट्टै संसदीय दल, प्रमुख सचेतक छन्।

पूर्व(राजपाका प्रमुख सचेतक परमेश्वर साहले जेठ २७ गते प्रदेश सरकारले नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने कार्यक्रम रहेको बताउँदै उनले भने, ‘नीति कार्यक्रम र बजेट पारित गराउन हाम्रो भूमिका के हुने अहिल्यै भन्न सकिदैन।’

सचेतक साहले बजेट पास गराएर आफ्नो पक्षकालाई सरकारबाट हटाउने सोचेको भए मुख्यमन्त्री राउतलाई गाह्रो हुने चेतावनी दिए।

यसरी हेर्दा अहिले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितकोसम्मको पर्खिने अवस्था देखिएको छ। यदि बजेट पारित गराउन महन्थ ठाकुर–राजेन्द्र महतो समूहले साथ नदिए विपक्षीलाई विश्वासमा लिएर पारित गराउने मुख्यमन्त्री राउतको तयारी छ।

बजेटपछि मात्र प्रदेश सरकारबाट महन्थ–राजेन्द्रलाई हटाउने वा नहटाउने तथा विपक्षीहरूसँग तालमेल गरी प्रदेशमा नयाँ सत्ता समीकरण बनाउने खाका तय हुने बताइएको छ। तर दुवै पक्षले आ–आफ्ना पक्षमा सांसद तान्ने दौडधुप भने सुरू गरिसकेको छ। थाहा खबरमा लेकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]