२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

केन्द्रीय राजनीतिको असर प्रदेश २ मा, विपक्षी गठबन्धनको वैकल्पिक सरकार बनाउने पहल

Logo
प्रकाशित शनिबार, जेठ २२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) दुई चिरा परेपछि केन्द्रकोे प्रभाव प्रदेश २ मा पनि देखिने भएको छ। प्रदेश २ मा सबैभन्दा बलियो शक्ति रहेको जसपाको उपेन्द्र यादव पक्षले सत्ता समीकरणमा कांग्रेसको साथ खोजेपछि वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको हो।

जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका हुन्। कांग्रेसले भने आफ्नो संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सारेको छ। जसपाको उपेन्द्र यादवपक्ष र कांग्रेस सहमत भए त्यसमा माओवादीले अस्वीकार गर्ने परिस्थिति रहँदैन।

केन्द्रको समीकरण तथा संसदीय अंक गणितमा कमजोर रहेकाले माओवादीले स्वाभाविक रुपमा गठबन्धनको सरकारलाई स्वीकार्ने देखिन्छ। यद्यपि, केन्द्रकै गठबन्धन अनुसार सरकार गठन गर्ने भनिए पनि माओवादी केन्द्रसँग वार्ता अघि बढेको छैन।

नीति तथा कार्यक्रम र बजेट पारितपछि प्रदेश २ मा नयाँ सरकार बन्ने सम्भावना बढेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षधर लालबाबु राउत प्रदेश २ मा मुख्यमन्त्री छन्। केन्द्रमा विग्रह आए पनि प्रदेश सरकारको मन्त्रिमण्डल तत्काल परिवर्तन गर्ने मनशायमा राउत देखिएका छैनन्।

केन्द्रीय राजनीति हाबी हुँदा उनले विकल्पको खोजी स्वाभाविक रुपमा गर्नेछन्। कांग्रेसले आफ्नो दलको नेतृत्वमा सरकार बनाउने प्रस्ताव यादवसँग राखिसकेको छ। यादव र निधिको शुक्रबारको भेट सकारात्मक भएको बताइएको छ। जसपाको यादव पक्षसहित कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट सहज रुपमा बहुमतसहितको सरकार बन्न सक्छ। यादव पक्षको जसपाका ३०, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद प्रदेश सभामा छन्। महन्थ–राजेन्द्र पक्षका २५ सांसद छन्।

१०७ सदस्यीय रहेको प्रदेश सभामा ३ जना सांसद घटेका छन्। माओवादी केन्द्रले पार्टी परित्याग गरेका ३ जना सांसदलाई हटाएपछि प्रदेश सभामा १०४ सदस्य छन्। बहुमतका लागि ५३ सांसद आवश्यक हुन्छ। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाको महन्थ–राजेन्द्र पक्षको सत्ता गठबन्धन बने पनि प्रदेश २ मा ती शक्तिको सरकार बन्न सहज छैन। तत्कालीन राजपाका २५ सांसद छन् भने एमालेका २१ सांसद छन्। सरकार बनाउन उक्त पक्षलाई ७ सांसद अपुग हुन्छ। कांग्रेस र माओवादी राजपा पक्षसँग भन्दा संघीय समाजवादी पक्षसँग नजिक छन्।

महन्थ–राजेन्द्र पक्ष मुख्यमन्त्री राउतको आगामी क्रियाकलापपछि आफ्नो रणनीति बनाउने ध्याउन्नमा छ। ‘हामी तयार छौं। मुख्यमन्त्रीको तर्फबाट फायर भयो भने हामी प्रतिफायर गरिहाल्छौं’, तत्कालीन राजपा पक्षीय सांसद मनिष सुमनले भने।

प्रदेश सरकारमा तत्कालीन समाजवादीबाट मुख्यमन्त्री राउतसहित ४ जना मन्त्रिमण्डलमा छन्। तत्कालीन राजपाका ३ मन्त्री छन्। ६ जना राज्यमन्त्री पनि भागबण्डामा टुंगाइएको थियो। दुई दलको एकीकरण भएपछि ५५ सांसदसहित संसद्‌मा एकल बहुमत दाबी गर्ने दलका रुपमा जसपा पुगेको थियो। तर, पार्टी एकीकरणले अन्तिम रुप नपाउँदै जसपामा विग्रह निम्तिएपछि प्रदेश सरकारमा नयाँ विकल्पको खोजी सुरु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]