०४ साउन २०८१, शनिबार
20-07-2024 , Sat
×

नागरिकता नपाउँदा ई.साफी निराश

Logo
प्रकाशित बिहिबार, जेठ २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ जेष्ठ ।प्रदेश २ का धनुषा जिल्लाको गणेशमान चाररनाथ नगरपालिका–३का इन्द्रजीत साफीले साहुसँग पाँच लाख ऋण लिएर इन्जिनीयरिङ अध्ययन गरे। अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही समयमा उनीसँग नागरिकता माग गरियो। नागरिकता पेश गर्न नसकेपछि साफीले पाएको रोजगारीबाट हात धुनुपर्‍यो। अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएपछि उनको परिवार चिन्तामा डुबेको छ।

‘साहुको ऋण बढेर १५ लाख भएको छ, रातदिन पैसा माग्न आउँछन्, नागरिकता नभएकै कारण मैले पाएको निजीस्तरको जागिरसमेत गुमाउनुपर्‍यो, अब मैले कसरी ऋण तिर्ने?, साहुको सधैँको किचकिचले निराश बनायो’, नागरिकताको प्रमाणपत्र नपाउँदाको पीडा सुनाउँदै उनले भने।

साफीका चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन्। बहिनीले स्नातक अध्ययन गर्दैछिन्। कसैसँग पनि नागरिकता नभएकाले कसैले पनि सामान्य रोजगारीसमेत पाउन सकेका छैनन्। नागरिकता नपाएकैले परिवारका सबै सदस्य मानसिक तनावमा रहेको साफीको भनाइ छ ।

नागरिकता नभएका कारण यस्तो समस्या भोग्ने साफी एक्ला व्यक्ति भने होइनन्। गोदावरी नगरपालिका–१३ झरूवारासी, ललितपुरका रुपक पहारीको भोगाइ पनि उस्तै छ। पहारी सानै हुँदा बाबुले आमालाई छोडेर हिँडे। आमासँग मामाघर बस्दै आएका पहारी हाल कक्षा १२ मा अध्ययनरत छन्। बाबुको नागरिकता नभएका कारण उनको अहिलेसम्म जन्म दर्ता प्रमाणपत्रसमेत बन्न सकेको छैन।

कसरी नागरिकताको प्रमाणपत्र लिने भन्ने चिन्ताले पहारीलाई सताएको छ। उच्च अदालत नेपालगञ्जले नागरिकताको प्रमाणपत्र दिनू भनी आदेश गर्दा पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएपछि एक स्थानीयवासीले गत वर्ष आत्महत्या गरेको खबर सार्वजनिक भएको थियो ।

घोराही उपमहानगरपालिका–१८ दाङका मोहम्मद फारुकीलाई पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले रजिष्ट्रेशन दर्ता गर्न नै नागरिकता माग गर्‍यो। बाबुको जन्मसिद्ध र आमाको अङ्गीकृत नागरिकता भए पनि उनले नागरिकता पाउन सकेका छैनन्।

क्रिकेट खेलमा विशेष रूची राख्ने फारूकीले १६ वर्षमुनिको क्रिकेट प्रतियोगितामा भाग लिन पनि नागरिकताको प्रमाण पत्रले रोक्यो। बाबुले सामान्य व्यापार व्यवसाय गरेर परिवारको जीविकोपार्जन भइरहेको छ। परिवारको जेठो छोरा भएकाले तत्काल रोजगारी खोज्नुपर्ने उनको बाध्यता छ। नागरिकता नहुँदा आत्महत्या गर्नुको विकल्प नै देख्न छोडेको उनले सुनाए।

संविधानभन्दा ऐन र ऐनभन्दा नियमावली सङ्कुचित नागरिकताका विषयमा संविधानभन्दा ऐन र ऐनभन्दा नियमावली सङ्कुचित बनेकाले समस्या समाधानमा अप्ठ्यारो हुने नागरिकताको प्रमाणपत्र पाउन नसकेका एवं सरोकार भएका अधिकारीको बुझाइ छ ।

महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा यही जेठ १७ गते संशोधन भई जेठ २४ गतेको नेपाल राजपत्रमा सार्वजनिक नेपाल नागरिकता (दोस्रो) संशोधन नियमावली, २०७८ मा नागरिकता नपाएकाले जन्मदर्ता प्रमाणपत्र ल्याउनुपर्ने प्रावधान राखिएको छ । अभिभावकको नागरिकता नहुनेका बालबालिकाको जन्मदर्तासमेत नहुने गरेकाले यो प्रावधान समस्या पार्ने मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए।

संशोधित नियमावली दुई दिन राजपत्रमा प्रकाशित भएकामा अझै जिल्ला प्रशासन कार्यालयमा परिपत्र नभएकाले यसअघि सरकारले जारी गरेको नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ समेत कार्यान्वयनमा चुनौती आएको उनले सुनाए।नागरिकतासम्बन्धी कानूनी व्यवस्थाका कारण लाखौँ नेपाली नागरिकले अझै नागरिकताको प्रमाणपत्र पाउन नसकेकाले वास्तविक तथ्याङ्क लिन यसै वर्ष गर्न लागिएको जनणनामा नागरिकता छ वा छैन ? भनी प्रश्नावली थप गर्नुपर्ने माग मञ्चले राख्दै आएको छ ।

नागरिकताको प्रमाणपत्र दिने कानून स्पष्ट, पारदर्शी एवं कसैलाई दिन नसकिने हो भने जवाफदेही हुनुपर्ने अधिवक्तासमेत रहेका कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ। नागरिकताको प्रमाणपत्र वितरणका सवालमा प्रमुख जिल्ला अधिकारीलाई धेरै स्वविवेकीय अधिकार दिइएकाले पनि सबैतिर समानरुपमा काम हुन नसकेको सरोकार भएका निकायका अधिकारी भनाइ छ।

अन्तरिम संविधान २०६३ अनुसार २०४६ चैत मसान्तसम्ममा नेपालमा जन्मिएकालाई जन्मसिद्ध नागरिकताको प्रमाण दिइएको छ। दुई वर्ष अवधि राखेर १ लाख ९० हजार ७२६ लाई जन्मसिद्ध नागरिकताको प्रमाण पत्र वितरण गरिएको हो। यसरी नागरिकता लिएकाका सन्ततिलाई नेपालको संविधानको धारा ११ (३) ले वंशजका आधारमा नागरिकता दिने भनिए पनि दाङका फारुकीले अझै पाउन नसकेको मञ्चले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले […]

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय यादवले प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित श्रम तथा यातायात मन्त्रालयमा पुगी कार्यभार ग्रहण गरेका छन् । कार्यभार सम्हालेलगत्तै मन्त्री यादवले अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् । मधेश प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा म्यानुअल तबरबाट चालक प्रमाणपत्रका लागि परीक्षा […]

जनकपुरधाम । दुर्घटनामा दर्जनौले ज्यान गुमाइ सकेको जनकपुर ढल्केवर सडक खण्डको बसही पुल यथाशिघ्र निर्माण गर्न माग गर्दै जनमत पार्टी मिथिला नगरपालिकाको नगर कार्य समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई शुक्रवार ध्यानाकर्षण पत्र बुझाएको छ । मिथिला नगरपालिका वडा नं. २ र ६ को सिमानामा पर्ने बसही खोलाको सो पुलमा सवारी दुर्घटनामा परि दर्जर्नौ व्यक्तिको ज्यान गईसकेकोले […]