१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

सप्तरीमा दम्पती हत्याआरोपित सात वर्षपछि प्रहरीको फन्दामा

Logo
प्रकाशित आइतबार, जेठ ३०, २०७८

न्यूजमधेश डेस्क
सप्तरी,३० जेष्ठ ।सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आइतबार पक्राउ परेका छन्।

हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

पसलसँगै रहेको घरमा सुतिरहेका व्यापारी दम्पतीको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेको बताइएको छ । यसअघि पक्राउ परेकाहरू सुनसरी हरीपुर गाविस–७ भण्टाबारीका २६ वर्षीय मो कैजुम मियाँलाई सप्तरी जिल्ला अदालतले २०७३ भदौ २६ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

श्रेस्तेदार कुमार मास्केका अनुसार सुनसरीको श्रीपुर गाविस–८ का ४० वर्षीय मो हैदर अली मियाँलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद भएको छ । सुनसरी जिल्लाको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट २०७१ जेठ २९ गते एक थान नल कटुवा पेस्तोल, दुई राउण्ड गोली र गरगहनासहित पक्राउ परेका कैजुम र हैदरलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले २०७१ असार २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।

यसैगरी सुनसरी हरीपुर गाविस–७ का २७ वर्षीय इनर भनिने इन्द्रदेव कामत र श्रीपुर गाविस–३ कुमयाहीका २६ वर्षीय सागिर मन्सुर मियाँलाई ११÷११ वर्ष कैद फैसला भएको छ । सुनसरी नरसिंह गाविस–९ चिरौनीबाट २०७१ असोज ४ गते पक्राउ परेका कामत र सागिरलाई सप्तरी जिल्ला अदालतले २०७१ असोज ६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो ।

आइतबार पक्राउ परेका मण्डल र सुनसरी हरीपुर गाविस–७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुल्तवी राखिएको छ । सलिम अझै पक्राउ परेका छैनन् ।

आरोपितहरूले २०७१ जेठ २१ गते राती हनुमाननगर बजारस्थित पसलसँगै रहेको घरमा वेगवानी दम्पतिको हत्या गरेका थिए। शवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७१ जेठ २३ गते पोष्टमार्टम भएको थियोे । जिल्ला प्रहरी कार्यालयले आरोपितहरूविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत ०७१ जेठ २३ गते मुद्दा दर्ता गरेको थियो ।

आरोपितहरूबाट गरगहना किन्ने सुनसरी ईनरुवा नपा–१ घर भई लौकही गाविस–६ मा सुनचाँदीको पसल गर्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाई मिले पनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ। रुपनी गाउँपालिका–१ बाट २०७१ असार ४ गते पक्राउ स्वर्णकार अदालतको आदेशमा २०७१ असार २९ गते नगद रु १० लाख धरौटी बुझाई रिहा भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]