२५ कार्तिक २०८२, मंगलबार
11-11-2025 , Tue
×

पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

Logo
प्रकाशित शुक्रबार, साउन १५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ श्रावण । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ ।

कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन् । “भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, तनहुँसम्मका आन्तरिक पर्यटक झरना हेर्न तथा नुहाउन आइरहेका छन्”, उहाँले भन्नुभयो, “यतिबेला दैनिक २०० को हाराहारीमा आन्तरिक पर्यटक झरनामा आउँछन् ।” युवायुवती यहाँ आएर गर्मी छल्नेदेखि तस्वीर लिने, टिकटक बनाउने तथा भिडियो लिने गर्दछन् ।

कालिकाको शक्तिखोर–सिद्धि सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि सिन्ती झरना पुगिन्छ । सिन्ती झरनासम्म मोटर बाटो पुगेको छैन । यहाँको मोटर बाटोबाट ४० मिनेट उकालोे हिँडेपछि झरना पुगिने वडाध्यक्ष क्षेत्री बताउनुहुन्छ । कोरोना महामारीका कारण लामो दूरीका पर्यटकीय गन्तव्यमा जाने वातावरण नहुँदा युवापुस्ताको आकर्षण स्थानीय सिन्ती झरनामा बढिरहेको वडा सदस्य लालबहादुर गुरुङले बताउनुभयो । “चार वर्षअघिसम्म यसको खासै चर्चा थिएन, जनप्रतिनिधि आएपछि झरनाको प्रचार हुन थालेको हो । त्यसपछि आन्तरिक पर्यटक आउन थालेका हुन्”, गुरुङले भन्नुभयो ।

महाभारत पर्वत शृङ्खलाअन्तर्गत सिन्तीखोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको उहाँ बताउनुहुन्छ । झरनाको लम्बाइ करिब ५० मिटर रहेको बताइन्छ । सौराहाबाट पथप्रदर्शक र केही आन्तरिक पर्यटक लिएर झरना पुग्नुभएका पर्यटन व्यवसायी विजय लामाले झरना अत्यन्तै आकर्षक र सुन्दर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले आन्तरिक पर्यटक मात्र होइन, भोलिका दिनमा सौराहा आउने बाह्य पर्यटकलाई पनि लोभ्याउन सक्नेछ ।”

उहाँले माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताउनुभयो । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सौराहाबाट पर्यटक लैजान सकिन्छ, तर त्यहाँ उद्यान, होटल, खानेपानी र शौचालयको राम्रो प्रबन्ध हुन जरुरी छ, बाह्य पर्यटकले सुरक्षित महसुस गर्नलाई त्यहाँको सुरक्षा व्यवस्था गर्न प्रहरी बिटको स्थापना गर्नुपर्छ ।”

नगरपालिकाका सूचना अधिकारी अच्युतराज रेग्मीले गुरुयोजना बनाएर झरनाको विकास र प्रचारप्रचार गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार झरनाको गेट निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थललगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाउन लागिएको छ । झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदलमार्ग सुधार, व्यवस्थित शौचालय निर्माण गरी यसको प्रचारप्रसारसम्मको भूमिका बढाउने गरी योजना तयार पारिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि नगरपालिकाले कार्यविधि बनाउँदैछ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]