३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

सांसद विकास कोषको रु १५ लाख कागजमै काम सम्पन्न

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,२५ श्रावण । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ । वडा नं १ को किसनपुरस्थित सडक मर्मतका लागि निकासा भएको सो रकम काम नै नगरी सकिएको आरोप लगाइएको हो ।

गाउँपालिकाले असार १५ गते नै सडक स्तरोन्नति भइसकेको भन्दै प्रतिवेदन तयार पारेपनि स्थानीयवासीले कामै नभएकोे बताउँदै आएका छन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडक स्तरोन्नतिका लागि आएको सो रकम गाउँपालिका अध्यक्ष र वडाध्यक्ष मिलेर अनियमितता गरेको सोही स्थान निवासी अवधलाल रायको आरोप थियो ।

उहाँले भन्नुभयो, “अहिले पनि यो सडक पुरानै अवस्थामा छ, सांसदले उपलब्ध गराएको रकम कहाँ गयो थाहा छैन । जिल्लामा विकासको काम गर्दा कम्तीमा आधामात्र भए पनि काम गर्ने गरिन्थ्यो तर यहाँ एक मुठी माटो र बालुवा पनि हालिएको देखिएन ।”

आर्थिक वर्ष २०७७÷७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत आएको सो रकमबाट कागजीरुपमा भइसकेको देखाइएको अर्का स्थानीयवासी राजकुमार महतोको गुनासो थियो ।

आफूहरुले इमान्दारीपूर्वक काम गर्दा पनि अनियमितता भएको भन्दै झुटा कुरा गरेर बदनाम गर्ने कार्य गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनुभयो । सडकको स्तरोन्नतिका लागि स्थानीयवासीको स्वीकृत योजनाअनुसार भेलाबाट उपभोक्ता समिति गठन गरी रामवृक्षको घरदेखि बेचन पासवानको घरहँुदै भैसियाही खोलासम्मको सडक स्थानीय सरकारको निर्देशिका र मापदण्दअनुसार स्तरोन्नति गरिएको उहाँको जिकिर थियो ।

अध्यक्ष महतोले गाउँपालिकाको प्रतिक्रियाबिना एकतर्फी समाचार बनाइ केही सञ्चारमाध्यमले पीतपत्रकारिता गरेको आरोप पनि लगाउनुभयो । जुन सडकमा योजनाअनुसार काम भएको छ, त्यसलाई नदेखाई खाल्टो भएको सडकलाई आधार बनाएर समाचार सम्प्रेषण गर्नेलाई पनि कानूनी दायरामा ल्याउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

उक्त सडक मर्मतमा जनसहभागितासहित रु १६ लाख ७७ हजार खर्च भएको कुनै अनियमितता नभएको जिकिर गर्दै अध्यक्ष महतोले रामवृक्षकोे घरदेखि भैसियाहीसम्म तीनवटा सडक रहेकामा एउटा सडक मात्र स्तरोन्नति गरिएको र सोहीअनुसार उपभोक्ता समितिलाई भुक्तानी दिइएको जानकारी दिनुभयो ।

सोही वडाका वडाध्यक्ष बच्चे राय यादवले सो स्थानमा कामै नभएको भन्दै साउन ५ गते गाउँपालिकामा उजुरी दिनुभएकामा पछि विचार परिवर्तन गर्नुभएको थियो । पहिले तोकिएको भन्दा अर्कै सडक स्तरोन्नति भएको छ भन्ने सुनेको छु कामै नभएको होइन, काम भएको तर सडक फरक परेको हुनसक्ने सांसद प्रमोद साहले बताउनुभयो ।

उहाँका अनुसार ‘जुन सडकमा काम गर्नुपर्ने हो, त्यहाँ काम भएको देखिएको छैन,’‘मेरो सहमतिबिना योजना अर्कै ठाउँमा सारिएको रहेछ ।’ अर्को ठाउँमा काम गरिए पनि योजनानुसार नगरिएकाले यस्तो काम गर्नेलाई कारवाही गरिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]