०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

एसिड प्रहारमा श्रीमान्‌लाई कसुर, विक्रेतालाई सफाइ

Logo
प्रकाशित सोमबार, साउन २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ श्रावण। आरती साहलाई एसिड प्रहार गरेको आरोपमा धनुषा जिल्ला अदालतले उनका श्रीमान् सञ्जीव साहलाई कसुर गरेको ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ । एसिड विक्रेता नागेन्द्र साहको हकमा भने अदालतले सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायधिश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई कसुर ठहर गरेको हो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार कसुर ठहर गरिएका सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रमै अर्को फैसला हुनेछ ।

गतवर्ष मात्र ल्याइएको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार एसिड प्रहारमा यतिविध्न कठोर सजाय तोकिएको यो नै पहिलो घटना हो । सरकारले यो अध्यादेश जारी गरेलगत्तै आरतीमाथि एसिड प्रहार गरिएको थियो । यो मुद्दामा ७ चोटी पेसी चढेको थियो ।

आरतीको तर्फबाट सरकारी वकिल कार्यालय जनकपुरका प्रमुख सिताराम अर्याल, रिंकुकुमारी यादव र अच्यूतम आचार्यले बहस गरे भने प्रतिवादीका तर्फबाट सुदीप कोइराला, दीपक केसी र अरुणकुमार झाले बहस गरेका हुन् । एसिड आक्रमणले दाहिने आँखा नै गुमाएकी आरती भने काठमाडौंमा उपचाररत्त छिन् । उनको कृत्रिम आँखा लगाउने उपचार भइरहेको छ ।

छुट्टिएर बसिरहेकी श्रीमती र छोरीलाई डेरामै पुगेर गत वर्ष कात्तिक २९ गतेको बिहान सञ्जीवले एसिड प्रहार गरेका थिए । जनकपुरधाम–७ पेठिया इलाकामा बस्ने २२ वर्षीया आरती र ४ वर्षीया छोरी रिया एसिड प्रहारबाट घाइते भएकी थिइन् ।

आरतीलाई लक्षित गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रियाको बायाँ हात पनि जलेको थियो । आरतीलाई जनकपुरको जानकी हेल्थ केयरको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

एसिड प्रहारले आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको छ । सञ्जीव र आरतीको ५ वर्षअघि विवाह भएको थियो । बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्न थाले । छोरीसँगै राखेकी आरती तरकारी बेचेर गुजारा चलाउथिइन् । सञ्जीव विभिन्न पसलमा काम गर्दै छाड्दै हिंड्ने गरेका थिए । दुवैबीच सम्पत्ति लेनदेनमा झगडा थियो ।

घटनापछि फरार रहेका श्रीमान् सञ्जीव साहलाई साँझ धनुषा प्रहरीले पक्राउ गर्‍यो । अनुसन्धानमा साहले निखिल स्टोरबाट एसिड खरिद गरेको वयान दिएपछि प्रहरीले एसिड बिक्रेता नागेन्द्र साहलाई अर्कोदिन ५८ बोतल एसिडसहित नियन्त्रणमा लियो । यी दुवैविरुद्ध सरकारी वकिलको कार्यालयले २४ मंसिर २०७७ मा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । यो अध्यादेश बमोजिम दर्ता भएको यो नै पहिलो मुद्दा हो ।

सञ्जीव र नागेन्द्रको विरुद्धमा अंगभंग, कुरुप र एकीकृत कसुरसहित ३ वटा मुद्दा दर्ता गरियो । मुलुकी ऐन कानुन अनुसार र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार दुवैविरुद्ध तीनवटै मुद्दामा १५ वर्ष ६ महिना कैद सजाय र क्षतिपूर्ति माग गरिएको थियो । कान्तिपुरमा अजित तिवारीले लेखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]