०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मिटरब्याजले निलादेवीलाई उठिबास : ५० हजारको ८ लाख रुपैयाँ माग

Logo
प्रकाशित आइतबार, भाद्र ०६, २०७८

लक्ष्मी साह
बारा ,६ भाद्र । ५० हजार रुपैयाँ ऋण चुक्ता गर्न ७ वर्षमा साँवा ब्याजसहित ८ लाख रुपैयाँ पुग्छ भन्दा अचम्म लाग्न सक्छ । तर बारा सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटाकी ५० वर्षीया निलादेवी ठाकुर लोहारसँग साहु विन्दालाल यादवले चर्को ब्याज मागेका हुन् । निला भने आफू मिटर ब्याजीको फन्दामा परेको भन्दै प्रहरीकोमा पुगेपछि घटना बाहिर आएको छ । उनी अहिले आफ्नो उठिबास नै लाग्ने हो कि भन्ने चिन्तामा छिन् ।

निलाले ऋण लिएको ७ वर्षअघि हो । श्रीमान् जेल परेपछि निलालाई परिवार धान्नै समस्या हुन थाल्यो । ५ छोरा र २ छोरीको पढाइसँगै दैनिक जीवनयापन गर्न समस्या भएपछि निलाले जेठो छोरालाई विदेश पठाउने निधो गरिन् र ऋणको खोजीमा लागिन् । छिमेकी विन्दालाल ऋण दिन तयार भए । विन्दालालले ५० हजार रुपैयाँ ऋण दिएर निलासित चार लाख रुपैयाँ तिर्नुपर्ने तमसुक गराए । सयको प्रतिमहिना ४ रुपैयाँको दरले ब्याज तिर्ने सर्तमा निलाले ६ महिनाभित्र साँवा र ब्याज तिर्ने भाकामा ऋण पाइन् । यसरी ५० हजारको प्रतिमहिना दुई हजार रुपैयाँ ब्याज आउने रहेछ । चर्को ब्याजका कारण उनले समयभित्रै ऋण तिर्न सकिनन् तर तमसुक फिर्ता लिने प्रयास भने गरिरहिन् ।

सात वर्षपछि बल्ल गत साउन २९ मा उनले २ लाख रुपैयाँ जुटाएर तिरिन् । तिर्ने बेला हारगुहार गरेपछि साहु विन्दालालले रकम लिए र तमसुक रोहबरमै च्यातिदिए । तर उक्त तमसुक भने नक्कली रहेछ । विन्दालालले पैसा लिएको भरपाइ पनि गरिदिएनन् । त्यसपछि निला कान्छो छोरा र आफन्तसहित गत सोमबार गाउँ नजिकैको इलाका प्रहरी कार्यालय सिम्रौनगढ पुगिन् । पछिपछि विन्दालालका छोरा सरोज पनि पुगे । दुबै जना (निला र विन्दालालका छोरा) एकापसमा विवाद गर्न थालेपछि प्रहरी कार्यालयमै हल्लीखल्ली मचियो । ‘आठ लाख हिसाब भएकोमा ५ लाखसम्म तिरे तमसुक फर्काउँछु,’ बिन्दालालका छोरा सरोजले प्रहरी कार्यालयमै भन्न थाले, ‘मैले पनि अरुसित ऋण लिएर निलालाई ऋण दिएको हुँ ।’

सरोजको कुरा सुनेपछि ऋणी निलाले तमसुक फिर्ता वा दुई लाख तिरेको भर्पाइ माग्दै प्रहरीसमक्ष हारगुहार गर्न थालिन् । ‘कागज फिर्ता गर्ने सहमतिमा मैले तिरेको दुई लाखको भर्पाइ दिनु,’ निलाले भनिन्, ‘५० हजारको सात वर्षमा ८ लाख कहाँबाट दिऊँ ? छोरा लकडाउनमा काम गर्न नसकेर विदेशमै फसेको छ, पति जेलमा हुनुहुन्छ ।’ प्रहरी निरीक्षक दिपक सुवेदीले दुबैलाई कार्यालयभित्र बोलाएर सोधपुछ थाले । सरोजलाई तमसुक फिर्ता गर्न भनेपनि उनले मानेनन् । त्यसपछि प्रहरीले सरोजलाई त्यस दिन हिरासतमै राख्यो ।

गाउँमै गएर तमसुक फर्काउने सर्तमा गाउँलेको जमानी कागजमा मंगलबार सरोजलाई प्रहरीले छाडेको छ । ‘१०/१५ दिनभित्रमा १५ देखि २० हजारसम्म (दुई लाखबाहेक) थप रुपैयाँ साहुले लिने सर्तमा सरोजलाई कागज गराएर छाडिएको छ,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘साहुले त्यति लिएर नमाने फेरि अर्को कारबाहीतर्फ लाग्छु ।’ रकम फिर्ता नदिएसम्म सुरक्षा दिन नीलाको आग्रह छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]