१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

विनिताको दुःख : ८ वर्ष अगाडि विदेश गएका पति हराएपछी खोजी दिन सबैसंग बिन्ती गर्दै

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

न्यूजमधेश डेस्क 
जनकपुरधाम ,१५ भाद्र । अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ । विनिता देवीले आठ बर्षअघि मनमा यही सोचेकी थिइन् ।

ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई साउदी अरबतर्फ विदा गरिन् ।

पतिलाई विदाई गर्दा ९ बर्ष र ७ बर्षका छोराको पालनपोषण कसरी गर्ने भन्ने चिन्ता विनितालाई थियो नै । ‘दुबै जना काम गर्दा पनि ऋण लागिरहन्थ्यो, छोराहरुलाई स्कुल पठाउन समस्या थियो’, ३८ बर्षीया विनिता भन्छिन्, ‘त्यसबेला २ लाख ऋण लिएर उहाँ विदेश जानुभएको थियो ।’

विदेशमा कमाइ हुन थालेपछि दुःख विस्तारै हट्दै जाने विश्वास उनीहरुलाई थियो । नभन्दै, दुई महिनापछि नै दुखीले साउदी अरबबाट रकम पठाउन थाले । ‘कुनै महिना १० हजार त कहिले २० हजार रुपैयाँ पठाउन थाल्नुभयो’, विनिता भन्छिन्, ‘तर, लगभग तिन बर्षपछि उहाँ नै हराउनुभयो । सम्पर्कविहीन भएको नै पाँचबर्ष लाग्यो ।’

विनिता देवीले थाहा पाएसम्म दुखी पल्मबरको काम गर्न गएका थिए । तर उनलाई  उँट र बाख्राको रेखदेख गर्ने काममा लगाएको थिए । दुखीसँग मोवाइल फोन नभएकाले उनलाई मालिक (कपिल) ले परिवारसँग सम्पर्क गराउँथे । अहिले त कपिल पनि सम्पर्कमा नआएको विनिता बताउँछिन् ।

‘पाँच बर्षअघि कपिलकै मोवाइलमा बोल्दा अब घर आउनुस् भनेकी थिएँ’, उनी भन्छिन्, ‘त्यसपछि एक दिन कपिलले फोन गरेर दुखी मण्डल नेपाल गइसकेको बताएका थिए ।’

तर, एक महिनासम्म पनि पति घर नआउँदा कपिलको नम्बरमा पटक–पटक फोन गरेको तर, सम्पर्क नभएको विनिता बताउँछिन् । दुखी अझै परिवारको सम्पर्कमा आएका छैनन् ।

ऋण तिर्न विदेशिएका छोराले पाएनन् काम

दुखी विदेश जाँदा लिएको ऋण चुक्ता भइसकेको थिएन । साँवा–व्याजको लागि साहुले ताकेता बढाएपछि विनितामाथि चर्काे तनाव प¥यो । त्यसपछि थप ऋण लिएर उनले जेठा छोरालाई दुई बर्षअघि दुबई उडाइन् । तर, त्यसको केही दिनमै कोरोना संक्रमण रोक्न दुवई पनि लकडाउन भयो ।

‘लकडाउन भएर खाली बसेको छोराले महिना दिनअघि बल्ल काम पाएको छ’, उनले भनिन्, ‘यता म ऋणले पुरिएर बसेकी छु । पतिको अवस्थाले उस्तै चिन्तामा पारिरहेको छ ।’

पतिलाई कहाँ, कसरी खोज्ने होला ?

पतिलाई साउदी अबर पठाएको मात्रै थाहा छ उनलाई । त्यसबाहेक केही जानकारी छैन । कुन कम्पनीमा काम गर्न, कुन म्यानपावर कम्पनीमार्फत् गए केही थाहा छैन, विनितादेवीलाई ।

दुखी मण्डल विदेश गएपछिका भिसासहित वा बिनाका कुनै कागजात घरमा हुने कुरै भएन । ‘मानिसहरु कागज भएको भए धेरै कुरा बुझ्न सकिन्थ्यो भन्छन्, तर केही छैन । के गर्ने होला ?’ विनिता भन्छिन्, ‘मेरो पतिको खोजी गरिदिन म सबैसँग बिन्ती गर्छु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]