०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

रौतहटमा विद्यार्थी खाजाको रकम हिनामिना

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८

न्यूजमधेश डेस्क
रौतहट ,१७ भाद्र। सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा शिक्षा समिति र जनप्रतिनिधिले आफूखुसी गरेको खुलेको छ । प्रोत्साहनस्वरूप सरकारले ल्याएको दिवा खाजा कार्यक्रमको रकम स्थानीय तहले नियमविपरीत निकासा गरेका हुन् ।

महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा रौतहटको परोहा, फतुवाविजयपुर, गरुडा, दुर्गाभगवती र यमुनामाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा नियमविपरीत दिवा खाजाबापतको ४ करोड ८७ लाख ६१ हजार १ सय रुपैयाँ निकासा गरेको उल्लेख छ । शिक्षा संयोजकले प्रतिवेदन पेस गरेको भरमा पालिकाले रकम दिँदा अनियमितता भएको महालेखाको ठहर छ । परोहा नगरपालिकाले १ करोड १७ लाख, फतुवाविजयपुर नगरपालिकाले ९७ लाख, गरुडा नगरपालिकाले ७७ लाख, दुर्गाभगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार र यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार रकम नियमविपरीत निकासा गरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले दिवा खाजाको संयोजक सम्बन्धित नगरपालिकाका उपप्रमुखलाई तोकेको छ । तर, गरुडाकी उपप्रमुख रंगीलादेवी जयसवालले गत आर्थिक वर्षमा विभिन्न विद्यालयका बालबालिकाको दिवा खाजामा अनियमितता भएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेपछि शिक्षा संयोजक मौजेलाल राय यादवले उपसंयोजक गठन गरेर ७७ लाख रुपैयाँ निकासा गरे । ‘शिक्षा संयोजकले कहिले र कसरी रकम निकासा गरे भन्ने मलाई थाहा छैन,’ जयसवालले भनिन् ।

कार्यक्रम पारदर्शी हुनुपर्ने उनको जिकिरपछि संयोजकबाट पाखा लगाइएको थियो । शिक्षा संयोजक यादवले गत चैत ६ गते अगाडि विद्यालय सञ्चालन भएका बेलाको दिवा खाजाको रकम पछि निकासा गरेकाले लकडाउनका बेला भन्ने भ्रम परेको दाबी गरे । ‘मलेपको प्रतिवेदनमा उल्लेख भएअनुसार गलत निकासा भएको छैन,’ उनले भने, ‘निकासा लकडाउनका बेला लिएको हुनाले अन्यथा पर्न गएको हो ।’ उनले नियमविपरीत काम नगरेको दाबी गरे । यो नगरपालिकामा २३ वटा सामुदायिक विद्यालय छन् । शिक्षा संयोजककै भरमा प्रतिवेदन तयार पारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर रकम निकासा दिएको आरोप छ । उनीहरूले भने महालेखा परीक्षककै प्रतिवेदन गलत भएको दाबी गरिरहेका छन् ।

परोहा नगरपालिकाले दिवा खाजा कार्यविधिविपरीत अभिभावकलाई नगदै वितरण गरेको पाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले कार्यविधिविपरीत अभिभावकलाई रकम वितरण गरेको स्विकारे । ‘विद्यालयमा खाजा बनाएर खुवाउनुपर्ने हो । तर, भौतिक संरचनाका कारण त्यो गर्न सकिएन,’ उनले भने, ‘समस्या भएरै नगद दिएका हौं । तर, लकडाउनका बेला विद्यालय बन्द भएको समयको पैसा दिएका छैनौं ।’ उक्त नगरपालिकाले नगद बुझाउने व्यवस्था नभए पनि नियमविपरीत दिवा खाजाबापत १ करोड १७ हजार निकासा गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाका शिक्षा संयोजक कृष्णप्रसाद कलवारले दिएको प्रतिवेदनको भरमा रकम निकासा भएको हो । ‘नगद दिन नहुने थियो,’ उनले भने, ‘एक पैसा पनि हिनामिना नगरी अभिभावकलाई नगदै दिएका हौं । महालेखाले भनेको जस्तो अनियमितता भएको छैन ।’ यो नगरपालिकामा २१ वटा विद्यालय छन् ।

फतुवा विजयपुर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक बुनिलाल यादवले नियमविपरीत दिवा खाजा रकम निकासा गरेको बारे अहिलेको संयोजक हरेन्द्र यादवले कुनै जानकारी नभएको बताए । ‘बुनिलालजीले के गरी कति पैसा निकासा गराउनुभयो, त्यो मलाई थाहा छैन,’ उनले भने, ‘महालेखाको प्रतिवेदन सार्वजनिक भएपछि मात्र थाहा पाएँ । यस सम्बन्धमा बुझ्छु ।’ यस नगरपालिकामा ३२ वटा विद्यालय छन् ।

दुर्गाभगवती र यमुनामाईले पनि लकडाउनका बेला रकम निकासा नभएको दाबी गरेका छन् । यी नगरपालिकामा पनि शिक्षा संयोजककै प्रतिवेदनका आधारमा रकम निकासा भएको पाइएको छ । कोरोना महामारीका कारण २०७६ चैत ११ गतेबाट लकडाउन जारी भएर विद्यालय बन्द रहेको अवस्थामा रकम निकासा गरेको भन्दै महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

विद्यार्थी हाजिर संख्या विषयमा छानबिन गरी बढी भुक्तानी रकम असुल गर्नुपर्ने महालेखाको सुझाव छ । कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई १ सय ८० दिनसम्म दिवा खाजाका लागि बजेट विनियोजन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]