२३ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

कांग्रेसमा लेबी उठाउनै समस्या

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ भाद्र। सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गुनासो गरे। समयमा लेबी उठाउन पछिल्लोपटक भदौ ८ गते केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो।

परिपत्रमार्फत तत्काल लेबी बुझाउन ताकेता गरिएको थियो। परिपत्रमा लेबी नबुझाएको व्यक्ति पार्टीको १४औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार हुन नसक्नेसमेत उल्लेख गरिएको छ। लेबी नबुझाएको व्यक्ति वडा अधिवेशनमा समेत उम्मेदवार हुन नपाउने व्यवस्था पार्टीको नियमावलीमा छ। तर बिहीबारबाट कांग्रेस वडा अधिवेशन हुँदै गर्दा अघिल्लो दिनसम्म कैयौं कार्यकर्ताबाट लेबी उठ्न नसकेको बताइएको छ।

‘लेबी नुबझाउने व्यक्तिले पार्टीको कुनै पनि चुनावमा भाग लिन नपाउने व्यवस्था नियमावलीले गरेको छ। हामीले पनि पटकपटक ताकेता गरेका छौं,’ उनले भने, ‘तर पनि अझैसम्म पूरा लेबी उठ्न सकेको छैन।’ कति संख्यामा लेबी उठ्न सकेन भन्नेबारे हिसाब हुन बाँकी रहेको पनि उनले बताए। ‘कुनकुनबाट लेबी उठ्यो, कहाँबाट उठेन, त्यो हिसाब गर्न बाँकी छ। तर उठ्नुपर्ने लेबी उठ्न सकेको छैन,’ उनले भने। नेपाली कांग्रेस रोल्पा जिल्ला समितिका अध्यक्ष अमर पुनले लेबी उठ्नै नसकेको बताए। उनले भने, ‘अहिलेसम्म रोल्पाबाट एक रूपैयाँ पनि लेबी उठेको छैन।’

कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७६ असार २९ गते बसेको बैठकले नियमावली पारित गरेको थियो। उक्त नियमावली २०७६ साउन १ गतेबाट लागु भएको थियो। नियमावलीमा सार्वजनिक लाभको पदमा निर्वाचित, मनोनीत वा नियुक्त भएका पार्टीसम्बद्ध व्यक्तिले मासिक शुल्क (लेबी) बुझाउनुपर्ने व्यवस्था गरिएको छ। नियमावली पास भएपछि केन्द्रीय कार्यालयले पहिलोपटक २०७७ माघ २० गते ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो। त्यसपछि पनि लेबीका लागि पटकपटक ताकेता गरिएको जनाइएको छ।

नियमावलीमा केन्द्रको कोषमा केन्द्रीय सदस्यहरू, संघीय सांसद तथा प्रदेशसभाका सांसद, पालिका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले मासिक पारिश्रमिकको २० प्रतिशत तथा जिसस सदस्यहरूले मासिक पारिश्रमिकको १० प्रतिशत केन्द्रको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। यीबाहेक पार्टीमातहतका विभिन्न समितिमा आबद्ध भएका पार्टी सदस्यहरूले सोही समितिमा लेबी बुझाउनुपर्ने व्यवस्था गरिएको मुख्य सचिव पौडेलले बताए।

अहिले नेपाली कांग्रेसको मुद्दती खातामा १० करोड रूपैयाँ छ। बाँकी करिब २ करोड रूपैयाँ बचत खातामा राखिएको उनले बताए। उनका अनुसार क्रियाशील सदस्यता वितरणबाट यो वर्ष पार्टीलाई धेरै राहत भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]