१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

ऋण चुक्ता गरे पनि साहुले जग्गा फिर्ता नगर्दा…!

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

राजु विश्वकर्मा
लहान, २४ भाद्र । लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्दासमेत साहुले दृष्टिबन्धकमा राखेको जग्गा फिर्ता नगर्दा सप्तरीको बोदे बर्साइन नगरपालिका–५ का मोहमद तैयबको परिवार चिन्तामा डुबेको छ ।

घर खर्च चलाउन तैयबले २०७१ सालमा एक कठ्ठा आठ धुर जग्गा स्थानीय रामदेव साहको नाममा लिखत पास गरी रु ३८ लाख ७० हजार ऋण लिनुभएको थियो । तैयबले हालसम्म साहलाई साँबा ब्याजसहित रु ४५ लाख २० हजार बुझाइसक्नुभएको छ । बाँकी रकम चुक्ता गर्न आफू तयार भए पनि साहले जग्गा फिर्ता गर्न नमानेको उहाँ बताउनुहुन्छ । “मेरो पूरै परिवार मानसिक तनाबमा छ”, तैयबले भन्नुभयो ।

साहले तैयबको जग्गा फिर्ता गर्न विभिन्न बहाना बनाउँदै आउनुभएको छ । ऋणबापत लिएको रु ३८ लाख ७० हजारको हालसम्म साहले ब्याजसमेत गरेर रु ८१ लाख हिसाब भएको तैयबलाई सुनाउँदै आउनुभएको छ । आफ्नो जग्गा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ता तैयबलाई परेको छ ।

साहसँग धितोमा जग्गा राखेर २०७६ कात्तिकमा रु १२ लाख ऋण लिएका बोदे बर्साइन नगरपालिका–५ कै मदनलाल साह पनि एक वर्षमै ब्याजसहित रु २५ लाख तिर्नुपरेको पीडा सुनाउनुहुन्छ । घर खर्चका लागि १२ कठ्ठा १७ धुर जग्गा साहको नाममा दृष्टिबन्धक लिखत पास गरी रु १२ लाख ऋण लिएको उहाँले बताउनुभयो । “ऋण ब्याजसहित फिर्ता गरिसकेको छु, जग्गा फिर्ता गर्नुको साटो उल्टै साहले मेराविरुद्ध लेनदेनको मुद्दा हाल्नुभएको छ”, मदनलालले भन्नुभयो । ब्याजसहित ऋण चुक्ता गरिसकेकाले जग्गा फिर्ताका लागि गत वर्षदेखि नै साहलाई आग्रह गर्दै आएको उहाँको भनाइ छ ।

यस्तै रु १२ लाख ऋण लिएका सोही वडाका रामप्रसाद खत्बेको अवस्था पनि साहकै जस्तै छ । घर खर्चका लागि साहसँग लिएको ऋण एक वर्षअघि नै चुक्ता गरे पनि जग्गा फिर्ता नपाएको उहाँको गुनासो छ । सप्तरीको शम्भुनाथ नगरपालिका कठौनाका ललिता मण्डल पनि साहकै ऋणका कारण आफ्नो परिवार बिचल्लीमा पर्ने अवस्था आएको बताउनुहुन्छ । श्रीमान्लाई वैदेशिक रोजगारमा पठाउन १५ कठ्ठा जग्गा साहको नाममा लिखत पास गरी रु चार लाख ऋण लिएपनि हालसम्म ब्याजसहित रु २५ लाख फिर्ता गरिसकेको मण्डलले बताउनुभयो । “साहले जग्गा फिर्ता गर्न मान्नुभएको छैन”, उहाँले भन्नुभयो, “उल्टै धम्की दिँदै आउनुभएको छ ।”

सप्तरीको खड्क नगरपालिका–६ का छेदीलाल पासवानको पीडा पनि कहालीलाग्दो छ । उहाँले २०७३ सालमा चार कठ्ठा १९ धुर जग्गा साहको नाममा दृष्टिबन्धक पास गरी रु १६ लाख ऋण लिनुभएको थियो । पासवानले ब्याजसहित अहिलेसम्म रु ७६ लाख ६२ हजार तिरिसक्नुभएको छ । सप्तरीका ३० जनाभन्दा बढी साहको ऋणको भारी बोक्दै मानसिक तनाब झेल्दै आएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नहाका ध्रुवनारायण साह, बोदे बर्साइन नगरपालिका–९ देउरीका वीरेन्द्र यादव, शम्भुनाथ नगरपालिका–३ का रमाकान्त चौधरी, खड्क नगरपालिका–८ का बच्चालाल साह, सुरुङ नगरपालिका–४ का सबुर चौधरी, रुपनी गाउँपालिकाका अरबिन्द साह, बोदे बर्साइन नगरपालिकाका मोहमद सौदागर, सतदेव पौदार, मोहमद सागर हुसैन, मोहमद असलमलगायतले साहबाट ऋण लिँदा दुःख पाएका छन् । ऋण चुक्ता गर्दा पनि साहले जग्गा फिर्ता नगर्दा घरबारबिहीन भएको पीडितको भनाइ छ । साहले आफूहरुको जग्गा फिर्ता नगरे कानुनी उपचार खोज्ने उनीहरुले बताएका छन् ।

आरोपित साहले भने आफूले उनीहरुसँग रकम तिरेर जग्गा खरिद गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले जग्गा किनेको हुँ, अहिले जग्गाको मूल्य बढ्ेकाले लोभ लागेर उनीहरुले जग्गा फिर्ता मागिरहेका छन् ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]