२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

सञ्जय साहको सजाय उच्च अदालतले घटाए , ७ वर्षमा झारे

Logo
प्रकाशित सोमबार, आश्विन १८, २०७८

श्रवण देव
जनकपुरधाम ,१८ असोज । उच्च अदालत जनकपुरले जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’लाई ज्यान मार्ने उद्योग गरेको आरोपमा १२ वर्षको कैद सजाय घटाएर ७ वर्ष बनाएको छ । न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय घटाएको हो ।

बम विस्फोट गराई व्यक्ति हत्या गरेको हकमा उच्च अदालतले कसुरदार ठहर गरेको छ । कति समय कैद गर्ने भन्ने विषयमा अर्को सुनुवाइपछि निर्णय हुनेछ ।

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले मुलुकी संहिताभन्दा अघि नै ज्यान मार्ने मुद्दाको प्रक्रिया अघि बढेकाले एकैसाथ सजाय पनि सुनाइएको बताए । तर कर्तव्य ज्यानको मुद्दा भने संहितापछि अघि बढेकाले कसुरदार ठहरिएपछि सजाय निर्धारणको लागि मिति तोकिएको हो । विचमा दशैंविदा भएकाले त्यसपछि कैद सजायका बारेमा सुनुवाइ र फैसला हुने उनले बताए ।

साहको हकमा ज्यान मार्ने उद्योगमा सजाय घटाए पनि उच्च अदालतले अरुको हकमा जिल्ला अदालतले गरेको सजाय सदर गरेको हो । आइतबार राति अबेर मुद्दाको फैसला गर्दै राय तयार भएकाले त्यसको विस्तृत विवरण तयार भएको छैन ।

२०६८ साल बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । संविधान निर्माणका क्रममा मिथिला राज्यका लागि दवाव दिन मिथिला राज्य संघर्ष समितिले धर्ना कार्यक्रम गरेको ठाउँमा विस्फोट भएको थियो ।

उक्त घटनाको जनतान्त्रिक तराई मुक्ती मोर्चाका राजन मुक्ती समूहले जिम्मा लिएको भनिए पनि पछि सञ्जय साह लगायतले घटनाको योजना बनाएको खुल्यो । त्यसपछि प्रहरीले उनीविरुद्ध ज्यान मारेको र ज्यान मार्ने प्रयास गरेको आरोपमा एकैसाथ दुई मुद्दा चलाएको थियो ।

त्यो मुद्दामा साढे २ वर्षअघि २०७५ साल चैत १४ गते जिल्ला अदालत धनुषाले साह सहितका आरोपितहरु घटनामा संलग्न रहेको ठहर सहित जन्मकैदको फैसला गरेको थियो । जिल्ला अदालतले घटनामा संलग्न रहेको ठहर सहित जय प्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र रिपेन्द्र झालाई १२ वर्ष कैद सजाय सुनाएको थियो, जुन उच्च अदालतबाट पनि सदर भयो ।

कसरी संलग्न थिए साह ?

जिल्ला अदालत धनुषामा रहेको मुद्दाको मिसिल अनुसार, धर्ना कार्यक्रममा रहेका जीवनाथ चौधरीको हत्या गर्ने योजना अनुसार साहले बम विस्फोट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चौधरी त्यतिबेला जिल्ला विकास समिति धनुषाका लेखापाल थिए र उनको सञ्जयकुमार साहसँग चर्को दुस्मनी थियो ।

घटनाको अनुसन्धानको दायराबाट टाढै रहेका मुकेशकुमार चौधरी करिव तीन वर्षपछि २०७० साल फागुन १९ गते हतियार सहित पक्राउ परे ।

उनले बयानका क्रममा रामानन्द चोकमा भएको विस्फोटमा आफ्नो संलग्नता स्वीकार गरे । मुकेश चौधरी र सञ्जय साह बीच पटक-पटक फोन सम्पर्क भएको प्रहरी प्रतिवेदनबाट खुलेको थियो । त्यतिबेला तराई टिभीबाट चौधरी र योजनाकार भनिएका साहबीचको टेलिफोन वार्ता नै प्रसारण भएको थियो । जिल्ला अदालतले यिनै तथ्यका आधारमा साहलाई दोषी ठहर गरेको हो । साहमाथि बम विस्फोट गराउन मुकेश चौधरी लगायतलाई ५ लाख रुपैयाँ लगायतको रकम दिएको आरोप थियो ।

‘संगठित समूहबाट गरिने यस्तो प्रकृतिको वारदातमा सबैको भूमिका समान रहँदैन । कोही मुख्य योजनाकारको रुपमा रहेका हुन्छन् भने कोही योजना कार्यान्वयन गर्न संलग्न रहेका हुन्छन्,’ फैसलामा भनिएको छ, ‘यस्तो अपराधमा संलग्न व्यक्तिहरु समान उद्देश्य प्राप्तीका लागि सामूहिक रुपमा तोकिएको जिम्मेवारी गर्न सक्रिय हुन्छन् । तसर्थ यस्तो अपराधलाई अन्य अपराध भन्दा पृथक रुपमा हेर्नुपर्ने र प्रमाणको मूल्यांकन समेत त्यसै सोही अनुरुप गर्नुपर्ने हुन्छ ।’

सूचना प्रविधिको युगमा विश्वको जुनसुकै कुनामा बसी आपराधिक क्रियाकलाप सञ्चालन गर्न सकिने अवस्था हुने भन्दै जिल्ला अदालतले रञ्जीत झा, मुकेश कुमार चौधरी र सञ्जय कुमार साह घटनास्थलमा उपस्थित नभए पनि योजनाकार रहेको ठहर गर्‍यो । अनि जन्मकैदको फैसला सहित १२ वर्ष कैद सजाय तोक्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]