०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज, २२ असोज। मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो ।

पछिल्लोपटक भारतबाट आयात भएको मेशिनरी सामग्रीमा कम मूल्याङ्कनको प्रज्ञानपत्र राखी यस्ता सामग्री नेपाल भित्र्याउन खोजिएको तथ्य फेला परेको छ । चक्लेटजन्य सामग्रीमा वीरगञ्ज भन्सार नाकाबाट सामग्रीको यर्थाथ कम मूल्याकङ्नको प्रज्ञापनपत्र जारी गरी चक्लेट नेपाल भित्राइएको भन्दै प्रहरीले चक्लेट बोकको ट्रक नियन्त्रणमा लिएर कारवाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

केही दिनअघि भारतबाट जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडले भारतको चेन्नइस्थित टिभीएस कम्पनीबाट आयात गर्ने गरेका तीन चक्के टेम्पोको पार्टस् भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँचपास गराई चेसिस र इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गरेको थियो । उक्त सामग्रीलाई भन्सारले तीनचक्के टेम्पोको पार्टस् भनेर लाग्ने भन्सार मूल्यभन्दा कम मूल्याकङ्नको प्रज्ञापनपत्र राखी जाँचपास गराई इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गर्न खोजेको सार्वजनिक भएपछि कार्यालयले यसबारे ढाकछोप गर्न जगदम्बा अटो गु्रपसँग थप रु १३ लाख ८० हजार राजस्व लिएर मात्र सामग्री छाडेको बताइएको छ ।

पहिलो चरणमा सामग्री जाँच गरी कम मूल्याकङ्नमा सामग्री छाड्न खोजेको बाहिर आएपछि पुनः जाँचका नाममा जगदम्बा अटो गु्रपलाई कारबाहीस्वरुप जरिवाना गरिएको विषयले पनि कर्मचारी र व्यापारीबीच मिलोमतो भएको आरोप लागेको छ । उक्त कम्पनीले यसअगावै पनि यसरी कम मूल्याकङ्न गरी सामग्री लगेको हुनसक्ने र पछिल्लो चार वर्षभन्दा अघि यसरी सामग्री लगेको भए केही कारबाही गर्न नसकिने प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले राससलाई जानकारी दिनुभयो । यद्यपि यसबारे पछिल्ला चार वर्षयता जगदम्बा अटो गु्रपले लगेका सामग्रीबारे थप अनुसन्धान गर्न सकिने प्रावधान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो ।

केही दिनअघि उक्त भन्सारबाट मालवाहक ट्रकमा विभिन्न किसिमका चक्लेटसमेत यथार्थ मूल्यभन्दा कम मूल्याकङ्नको प्रज्ञापनपत्र राखी नेपाल भित्रिएको भन्दै प्रहरीको टोलीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएर राजस्व विभाग पथलैया पठाएको छ । लाग्ने दरभन्दा कम मूल्याकङ्न गरी भन्सार छली नेपाल भित्र्याइएको करिब रु ७३ लाख बराबरको चक्लेट र भारतीय ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ट्रकमा लोड रहेका सामानको तौल र मोल फरक पारी ब्राण्ड उल्लेख नगरी भन्सार कर्मचारीसँग मिली सुगर ललिपपका नाममा कम मूल्याकङ्नको प्रज्ञापनपत्र बनाई बिनाअनलाइन बिल (भिसीटिएस) खुसी बच्चा नामक भारतीय चक्लेट बरामद गरी राजस्व कार्यालयलाई बुझाइएको प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उक्त चक्लेटबारे एकीकृत जाँचचौकीका भन्सार अधिकृत (जाँचकी) रमेश सुकमनीले ठूलो ट्रक भएका कारण सबै चक्लेट हेर्न नसकिएको तर यद्यपि सबै नियमानुसार चक्लेटको राजस्व लिइएको बताउनुभयो । प्रहरीले सो क्रममा ट्रक र चालक भारत मध्यप्रदेश ग्वालियर बानमौर थाना वडा नं १४ बस्ने वर्ष ३३ का जबर सिंहलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सामान तथा ट्रकको रु ७३ लाख मूल्याकङ्न गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

प्रहरीले नियमविपरीत कम मूल्याकङ्नको प्रज्ञापनपत्र बनाई अनलाइन बिलबिना चक्लेट नेपाल भित्रिएको भन्दै पक्राउ गरी आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पठाएको छ । भन्सारमा कार्यरत कर्मचारीले नियमानुसार मूल्याकङ्न गरिएको दाबी गरेका छन् । यसबारे राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराका सूचना अधिकारी गौरव पन्थीले उक्त गाडीको अनलाइन बिल नरहेकाले नियमानुसार कारबाही हुने र यसबारे थप अनुसन्धानका लागि भन्सार कार्यालयबाट थप कागजपत्र माग गरिएको जानकारी दिनुभयो ।

भन्सार प्रशासक विश्वप्रसाद अर्याल प्रहरीले बरामद गरेको चक्लेटबारे अनलाइन बिल भन्सार कार्यालयअन्तर्गतको जाँचचौकीको काम नभएकाले सोको दोषी स्वयं आयात कम्पनी रहेको र जगदम्बा अटो गु्रपले भित्र्याएका चेसिस र इञ्जिनसहितको टेम्पोका सामग्रीको पुनः मूल्याकङ्न गरी दोषी पाइएकाले कारबाहीस्वरुप गु्रपलाई जरिवाना गरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]