१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

संरचनाको विकासले जगमगिँदै धार्मिक नगरी मटिहानी

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी, १७ कार्तिक। दीपावली पर्वको रमझममै महोत्तरीको मटिहानीमा सुन्दर वाटिका निर्माण हुँदैछ । रामायणकालदेखि महत्व र चर्चा पाएको मटिहानी नगरमा सुन्दर वाटिका निर्माण थालिएको हो ।

दीपावली पर्वको अवसर पारेर नगरस्थित लक्ष्मीनारायण मठ अगाडिको चभचा पोखरी डिलमा मटिहानी नगरपालिकाले रु ५६ लाखको लागतमा वाटिका निर्माण भइरहेको छ । यसअघि ५१ फिट अग्लो घण्टाघर, जलेश्वर–मटिहानी सडक र मटिहानी–जनकपुर सडक (रामजानकीपथ)मा नगर प्रवेशद्वार, लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा, मटिहानीबजार समिप निर्मित अत्याधुनिक अतिथिगृह र लक्ष्मीनारायण मठ अगाडि दुर्गा मन्दिर निर्माण गरिएको थियो । वाटिका निर्माणले धार्मिक नगरीको सौन्दर्य अझ बढ्ने नगरवासीले आश गरेका छन् । दीपावली पर्वले जताततै जगमगाएका बेला आफ्नो ठाउँमा सुन्दर वाटिका निर्माणको थालनीले धार्मिक नगरीमा थप उत्साह देखिन्छ ।

“हाम्रो नगरको धार्मिक महत्ता उजागर गर्न प्रयत्न भएका छन्, यी संरचनाले ठाउँको ओज बढाउने छ”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य विजयकुमार साह भन्नुहुन्छ, “वाटिका निर्माणले नगरको सौन्दर्य अझ बढ्ने छ ।” नगरपालिकाले निर्माण सम्पन्न गरेका र निर्माणाधीन यी संरचनालाई अनुत्पादक काममा लगानी गरिएको टिप्पणी गर्ने पनि भेटिएका छन् । नगरप्रमुख हरिप्रसाद मण्डल भने नगरको विगतदेखिको धार्मिक, सांस्कृतिक र पौराणिक परिचय उजागर गर्न यी काम महत्वपूर्ण भइरहेको बताउनुहुन्छ ।

“हाम्रो नगरको परिचय त्रेतायुगसँग जोडिन्छ, त्यसैले ती पौराणिक परिचय अझ उजागर गर्नु हाम्रो कर्तव्य र दायित्व हो”, उहाँ भन्नुहुन्छ, “त्रेतायुगमा राम–सीताको विवाहसँग जोडिएर हाम्रो नगरका पौराणिक कथा छन्, तिनमा गौरववोध गर्ने हो भने त्यो परिचय उजागर गर्नुपर्ने हुन्छ ।” पछिल्लो स्थानीय तह निर्वाचनयता धार्मिक नगरी मटिहानीको प्राचीन परिचय अझ बढाउन बनाउन जे–जति सम्भव छ, त्यो गरिएको मण्डल बताउनुहुन्छ । यी कामबाहेक आम जनताको जनजीविकासँग जोडिएका कृषिसम्वद्ध थुप्रै काम गरिएको पनि मण्डलको जिकिर छ ।

मटिहानीस्थित करिब ५५० वर्ष पुरानो इतिहास बोकेको राजगुठीअन्तर्गतको लक्ष्मीनारायण मठ, ३०३ वर्षअघि स्थापना भएको राजकीय संस्कृत पाठशाला (अहिले राजकीय संस्कृत माध्यमिक विद्यालय) र विदेहराज जनकको प्राज्ञ (विद्वान) सभाका मनिषि महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)को स्थापनाका लागि ठाउँ छनोट नै रामायणकालीन जनश्रुति आधार भएको यहाँका विद्वानको मत छ ।

“मटिहानीको पहिलो महत्व भनेकै राम–सीताको विवाहमा वेदि (वैवाहिक समारोहका लागि यज्ञस्थल) बनाउन माटो लगिएको भन्ने जनश्रुति हो”, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका नेपाली भाषा साहित्य विषयका उपप्राध्यापक ध्रुव राय भन्नुहुन्छ, “त्यही आधार टेकेर ठाउँको महत्व चहकिलो बनाउन पूर्वजले यहाँ मठ, विद्यालय र अन्य संरचना स्थापना गरेका हुन् ।” मटिहानीस्थित अहिलेको लक्ष्मीसागर (तलाउ) भएको ठाउँबाट नै राम–सीताको विवाहमा वेदि बनाउन माटो लगिएको जनविश्वास छ ।

नेपाल–भारत सीमासँगै जोडिएको मटिहानी नगर धार्मिक मेला, उत्सवका लागि प्रसिद्ध छ । साउन शुक्लपक्षको झुला महोत्सव, असोज शुक्लपक्षको दुर्गा महोत्सव र दशमीका दिनको रावणवध उत्सव, फागुन शुक्लपक्षको फागु महोत्सव र मिथिला माध्यमिकी (१५ दिने) परिक्रमाको चौथो दिनको विश्राममा हुने परिक्रमा उत्सव मुख्य हुन् । यी धार्मिक उत्सवमा मटिहानीका स्वस्फूर्त जनजन परिचालित हुने गरेका उद्योग वाणिज्य सङ्घ महोत्तरीका अध्यक्ष मोहनप्रसाद गुप्ता बताउनुहुन्छ ।

आफ्नो ठाउँको परिचयसँग जोडिएको त्रेतायुगकालीन जनश्रुतिप्रति मटिहानीवासी गर्व गर्छन् । “जसरी मिथिलाका धनुषाधाम (रामले शिवधनुमा प्रत्यञ्चा चढाउँदा धनु टुक्रिएर झरेको मानिने ठाउँ), जनकपुरस्थित रङ्गभूमि (राम–सीताको स्वयम्वर गरिएको ठाउँ) र जनकपुरस्थित रामजानकी विवाहमण्डप र रामसीताले वनविहारका क्रममा फागु खेलेका ठाउँ मानिने महोत्तरीकै कञ्चनवनको प्रसिद्धि छ, हाम्रो ठाउँ पनि वेदि बनाउन माटो खनिएको ठाउँको महत्वले गर्वित छ”, वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानि बिन्देश्वरीप्रसाद मण्डल भन्नुहुन्छ, “मटिहानीवासीले यो पक्षलाई अझ उजागर गरी सुन्दर नगर बनाउनतिर लाग्नुपर्छ ।”

नगरका पुराना ऐतिहासिक वैभवसँगै पछिल्ला तीन–चार वर्षयता निर्माण भएका धार्मिक र अन्य विकास संरचनाले आफ्नो नगरको महत्ता झनै बढाएको मटिहानीवासी बताउँछन् । नगरपालिकाले यसै वर्ष करिब रु तीन करोडको लागतमा अत्याधुनिक रङ्गशाला पनि निर्माण गरेको छ । गत वर्षमात्र निर्माण सम्पन्न भएको ५१ फिट अग्लो घण्टाघरमाथि अवलोकन गर्न नगरवासी मात्र नभएर टाढाटाढाबाट आउने पर्यटकको जमघट देखिन्छ । दशगजा (नेपाल–भारत सीमा)सँगै जोडिएको हुँदा मटिहानीबजार छिमेकी भारतीयको पनि घुमफिरको गन्तव्य रहँदै आएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउनुहुन्छ ।

भारतीय सीमासँगैको मटिहानीबजार मिथिलाको माध्यमिकी परिक्रमासँग जोडिएको छ । फागुन शुक्लपक्षमा आयोजना हुने मिथिलाको महाकूम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीले चौथो दिनको रात्रिविश्राम मटिहानीमै गर्ने परम्परा त्रेतायुगमा मर्यादा पुरुष श्रीराम र मिथिला नन्दिनी आदर्श नारी सीताको ‘मिथिला विहार’सँग सम्बन्धित रहेको छ । नगर संस्कृत शिक्षाको अध्ययन केन्द्र, साधुसन्त परम्पराको प्रतीक र रामायणकालीन पौराणिक गाथासँग जोडिएको हुँदा सो परिचयलाई अझ मजबुत र दीर्घकालसम्म धार्मिक पर्यटनसँग गाँसी राख्न र यी सम्भावनाको भरपूर उपयोग गर्न आवश्यक रहेको मटिहानीका बासिन्दा बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]