न्यूजमधेश डेस्क
काठमाडौं ,१ माघ। थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया सबै मिलेर छनौट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ ।

धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।

विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

थारु बस्तीमा माघीको रौनक

थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ ।

कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम सञ्चालन भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का रामप्रसाद चौधरीले माघीले एक सातायता बस्तीमा चलहपहल बढेको बताए।

“हाम्रो मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै छौँ”, चौधरीले भने, “यस पटक पनि पर्वसँगै सावधानी अपनाउनुका साथै स्वास्थ्य सुरक्षामा समेत ख्याल गर्न जरुरी छ ।” वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरी मनाइँदै छ । माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन ।

‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुसियाली छ दाङमा, खुसियाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’

थारु समुदायको गीतमा भनिएझैँ यस समुदायमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकता छ । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी योे पर्वमा यो समुदायले विभिन्न खानाका परिकारलाई बढी जोड दिन कुटानीपिसानी गर्ने, नयाँ लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने गरेको चौधरीको भनाइ छ ।

त्यसैगरी यहाँको बेलौरी नगरपालिका–३ का स्थानीय घुम्मन चौधरीले परम्परागत रुपमा मनाउँदै आएको पर्वको रौनकता रहेपनि पहिले जस्तो नरहेको बताए । “माघीपर्वलाई जुन महत्व दिएर संरक्षण र सम्वद्र्धन हुनुपर्ने हो त्यो भएको छैन”, उनले भने, “माघीपर्व मात्रै नभई हाम्रो संस्कृति पनि हो ।” माघी पर्वको अवसरमा यहाँको शुक्लाफाँटा नगरपालिकाले माघ ३ गते एक दिन बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए।

“दीर्घकालीन रुपमा माघीको पर्व र संस्कृतिको जगेर्नाका लागि हाम्रो पनि सहयोग रहन्छ”, ऐरले धने, “थारु संस्कृति र पहिरन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छन्, संरक्षण गर्नै पर्छ ।” थारु समुदायले माघीपर्वकै अवसरमा बडघर र भलमन्सा छनोट गर्ने, छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना निर्माणसमेत गर्ने अवसरका रुपमा लिने प्रचलन रहेको छ ।

त्यसैगरी माघीमा विशेषतः ढिक्री, तरुल, सखरखण्ड र फर्सी उसिनेर खाने गरिन्छ । माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भन्ने प्रचलन रहेको बेलौरीकै सुकराम चौधरीले बताए। माघीको अघिल्लो दिन राति थारु समुदाय मासु, जाँड र ढिक्री खाएर रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने गर्दछ ।

माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सिक्का लुटाउने प्रचलन रहेको चौधरीको भनाइ छ । सो अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने धार्मिक मान्यतासमेत रहेको छ । माघीमा मनोरञ्जनका लागि घरमै मादकपदार्थसमेत उत्पादन गरेर खाने प्रचलन रहिआएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–२ का परदेशी चौधरीले कोरोना कहरले गर्दा माघीमा सचेत भएर मनाउनुपर्नेमा जोड दिनुभयो । “घर\छिमेकमै विधि प्रक्रिया पूरा गरी रमाइलो गरी मनाउने हो”, उनले भने, “धेरै तामझाम र भीडभाड गर्ने माहोल कोरोनाका कारण छैन ।” यता स्थानीय प्रशासनले पनि भीडभाड कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न यसअघि नै भनिसकेको छ ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

संचालक  : मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता

वरिष्ठ सल्लाहकार : बिपी साह
वरिष्ठ  सल्लाहकार : श्रवण देव

वरिष्ठ  सल्लाहकार : मोहन सिंह
वरिष्ठ  सल्लाहकार  : सन्तोष जादब

सम्पर्क

सि . एन . ए . मिडिया नेटवर्क प्रा.लि.

जनकपुरधाम , धनुषा ( नेपाल )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected] , [email protected]

Copyright © 2018-2022 News Madhesh