१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

‘सामाजिक परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै मतलब छैन’

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८

‘सामाजिक  परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै मतलब छैन। त्यसैले हामीले राजनीतिकसँगै सामाजिक परिवर्तनको कुरा उठाएका छौं।’

जनमत पार्टीको नेतृत्वमा डेढ महीनादेखि मधेश प्रदेशमा किसान आन्दोलन चलिरहेको छ। कतिपय ठाउँमा प्रहरीसँग झडप पनि भएको छ। किसान आन्दोलनलाई सम्बोधन गर्न मधेश सरकारले समिति पनि बनाएको छ। तैपनि किसान आन्दोलन जारी रहेको छ। किसान आन्दोलनसँगै समसामयिक राजनीतिक विषयमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग संचारकर्मी वीरेन्द्र रमणले लिएको अन्तर्वार्ता हो ।

– तपाईहरूले चलाएको किसान आन्दोलन किन रोक्नु भयो?

हामीले रोकेका छैनौं। यसअघि घोषणा भएको कार्यक्रम २ देखि २० माघसम्म थियो। २० माघपछि राजमार्ग केन्द्रित कार्यक्रम शुरुआत गर्ने तय गरेका थियौं। त्यो कार्यक्रम सञ्चालन पनि भयो, तर एक्कासी मौसममा परिवर्तन आयो, ठूलो आँधीबेहरी आयो। त्यसपछि जनताको दुःख र मौसमको प्रतिकूलताका कारणले आन्दोलनलाई तत्कालनका लागि स्थगित गरेका मात्रै हौं। स्थानीय तह केन्द्रित आन्दोलन अहिले पनि जारी नै छ।

– किसान आन्दोलन हिंसात्मक बन्दै गएपछि पछाडि हट्नु भयो भन्ने छ नि?

हाम्रो तर्फबाट आन्दोलनमा कुनै पनि हिंसात्मक गतिविधि भएका छैनन्। प्रहरीको तर्फबाट आन्दोलनलाई दबाउन हिंसाको सहारा लिइएको छ। सप्तरीको भारदह लगायतका स्थानमा प्रहरीले आन्दोलनकारीमाथि दमन गर्‍यो।

शान्तिपूर्ण आन्दोलनको क्रममा प्रहरीले धेरै ठाउँमा लाठीचार्ज गरेको छ। यसले हाम्रो थुप्रै साथीहरू घाइते भएका छन्। सरकारको तर्फबाट आन्दोलनलाई हिंसात्मक बनाइयो अर्थात हामीमाथि दमन भयो।

करीब डेढ महीनादेखि किसान आन्दोलन चलिरहेको छ। लाखौंलाख किसान सडकमा उत्रिरहेका छन्। त्यो किसानको आन्दोलनको समाचार कुनै पनि मिडियाको प्राथमिकतामा परेन।अहिले हामीले आन्दोलनको स्वरुप परिवर्तन गरेका छौं। त्यसको मुख्य कारण भनेको मौसममा आएको परिवर्तन नै हो। आन्दोलनको कारणले कसैको विचल्ली नहोस भन्ने सोचेरै नै आन्दोलनको स्वरुप परिवर्तन गरेका हौं। १ फागुनबाट अर्को चरणको आन्दोलन घोषणा गर्छौं।

– आन्दोलनका क्रममा विभिन्न ठाउँमा सवारी साधनमाथि तोडफोड भयो, आन्दोलनमा सहभागी किसान पनि तोडफोडमा उत्रिए। तपाईले भनेजस्तो शान्तिपूर्ण त भएन नि?

करीब डेढ महीनादेखि किसान आन्दोलन चलिरहेको छ। लाखौंलाख किसान सडकमा उत्रिरहेका छन्। ३० पुसको किसानको महार्‍यालीका क्रममा हरेक जिल्लामा १०औं हजारको संख्यामा किसान सडकमा आए। त्यो किसानको आन्दोलनको समाचार कुनै पनि मिडियाको प्राथमिकतामा परेन। हरेक दिन शान्तिपूर्ण आन्दोलन हुन्छ, त्यो मिडियाको प्राथमितामा पर्दैन।

धनुषाको पोर्ताहामा प्रहरीले आन्दोलनकारीमाथि गोली चलायो। जबकि गोली चलाउने कुनै कारण थिएन वा भनौ अवस्था थिएन। त्यसमा दमन भयो। गोली लागेका, हातखुट्टा भाँचिएका व्यक्तिको समाचार प्राथममितामा आएन। आन्दोलनमा हुँदै आएको दमन मिडियामा देखाइदैन। उनीहरूको कार्यक्रम वा आन्दोलन मिडियामा आउँदैन। किसानका माग र उनीहरूका समस्याका विषय मिडियामा प्राथमिता पाउँदैनन्।

कतिपय ठाउँमा छिटफुट घटना भएका हुनसक्छन। कतिपय ठाउँमा घुसपैठियाले गराएको पनि पाइएको छ। घुसपैठयालाई समातेर प्रहरीको जिम्मा पनि लगाएका छौं। किसान आन्दोलनको विरुद्धमा भ्रम फैलाउन, आन्दोलनलाई तुहाउनको लागि हिंसात्मक भएको कुरा प्रचारवाजी गरिएको छ।

चार वर्ष सरकार चलाउने मान्छेलाई किसानको समस्या के हो भन्ने थाहा छैन। करीब डेढ महीनादेखि त लेखेरै दिइरहेका छौं, किसानका समस्या। यो भनेको उनीहरूलाई जनतासँग कुनै सरोकार छैन, सत्ता मात्रै थाहा छ।

– प्रदेश सरकारले पनि किसानका समस्या पहिचान र सम्बोधनका लागि समिति बनाएको छ। यसलाई कसरी हेर्नु भएको छ?

त्यहि नै दुःखद कुरा छ। चार वर्ष सरकार चलाउने मान्छेलाई किसानको समस्या के हो भन्ने थाहा छैन। करीब डेढ महीनादेखि त लेखेरै दिइरहेका छौं, किसानका समस्या। यो भनेको उनीहरूलाई जनतासँग कुनै सरोकार छैन, सत्ता मात्रै थाहा छ। कहिले पनि जनतामाझ गएनन्। त्यसैले किसानको समस्यालाई पहिचान गर्नसमिति नै बनाउनुपर्‍यो।

अर्को, मधेश सरकारले चार वर्षमा कति वटा समिति बनायो? मलेठ घटनाको समिति बनायो, मुख्यमन्त्री कार्यालयमा भएको भ्रष्ट्राचारको छानविन गर्न समिति बनायो। यस्ता दर्जनौ समिति बने। कुनै पनि समितिको प्रतिवेदन बाहिर आएको देख्नु भएको छ? समिति बनाउने केही दिनपछि प्रतिवेदनको त कुरै छाडौ, समिति नै हराउने अवस्था समेत आउने गरेको छ।

जनता तथा मिडियाको ध्यान आन्दोलनबाट विमुख पार्न समिति बनाइएको छ। यो कामै नलाग्ने समिति हो। यस्ता समिति बनाउँदैमा आन्दोलन रोकिँदैन, जनता पनि दिग्भ्रमित हुदैनन्।

– प्रदेश सरकारले छलफल गर्न बोलायो भने के गर्नुहुन्छ?

छलफलको लागि नजाने कुरा होइन। हामीले संघीय सरकारसँग माग राखेका छौं र त्यहि अनुसार आन्दोलन गरिराखेका छौं। त्यसैले प्रदेश सरकारतिर जोड पनि थिएन।

हामीले उठाएको माग सम्बोधन गर्नु तीनै तहका सरकारको दायित्व हो। कुनै पनि सरकार आफनो दायित्वबाट पन्छन मिल्दैन। संवाद र छलफलको लागि तयार छौ, आफ्ना माग समेटेर प्रदेश सरकरलाई पनि ज्ञपानपत्र दिएका छौं।

– लामो समयदेखि किसानका समस्या यवाथत छन्। विगतमा विभिन्न राजनीतिक दलले पनि आफ्नो स्वार्थका लािग उठाए। तपाईको पनि त्यस्तै त होइन?

किसानको समस्या धेरै लामो समय देखिएको समस्या हो भने त्यसलाई झन प्राथमकितामा दिएर सम्बोधन गर्नुपर्ने हो। अब त तीन वटै तहका सरकार मिलेर किसानका समस्या सम्बोधन गर्नुपर्छ, मिलेर लाग्नुपर्छ। यो धेरै पुरानो समस्या हो भनेर पन्छिन मिल्दैन।

किसानको समस्या किन यस्तो रहिरह्यो भने राजनीतिक दलहरूको प्राथमिकतामा परेन। सत्तामा जाँदासम्म किसानको समस्या देख्ने, सत्तामा गइसकेपछि बिर्सिने गरे।
किसानको समस्या किन यस्तो रहिरह्यो भने राजनीतिक दलहरूको प्राथमिकतामा परेन। सत्तामा जाँदासम्म किसानको समस्या देख्ने, सत्तामा गइसकेपछि बिर्सिने गरे। अहिलेसम्म जनताको जनजिविकाको सवालमा आन्दोलन भएको छैन, बरु सत्तामा कसरी पुग्ने, त्यसको लागि मात्रै आन्दोलन भएको छ।

हाम्रो पार्टीको झण्डामा अष्टदल अंकित छ। त्यो अष्टदल भनेको सम्यक क्रान्तिको प्रतिक हो। हामी राजनीतिक, आर्थिक, समाजिक लगायत सम्पूर्ण परिवर्तनका लागि कटिवद्ध छौं। त्यसैले अहिले आर्थिक र समाजिक क्रान्तिमा लागेका छौं। अब राजीतिक मात्रै होइन, सामाजिक मुद्दा उठाउनुपर्छ। हामीले किसानको मुद्दा उठाएका छौं, यसमा गर्व छ।

तपाईप्रति मधेश केन्द्रित दलहरू किन आक्रमण बनेका छन्?

उनीहरू मधेश केन्द्रित दल होइनन्, सत्ता केन्द्रित दल हुन्। जताबाट सत्ता आउछ, उतै जाने गरेका छन्। जुनवेला काग्रेसबाट सत्ता जान पाइन्थ्यो, त्यतिवेला कांग्रेसमा थिए। माओवादीको नाउमा सत्तामा जान पाउँदा, माओवादी भए। जब मधेशको नाममा सत्ता पाइने भयो, त्यसपछि मधेशी दल भए। उनीहरूको पृष्ठभूमि छर्लङ्गै हुन्छ।

उनीहरूमा के सोच छ भने मधेश भनेको मेरो जमिन्दारी हो। यसमा कसैले आउन नपाउने, राजनीति गर्न नपाउने, कुनै गरिब किसानका छोराछोरी नेता बन्न नपाउने। यस्तो खालको राजनीतिक चरित्र लादेको अवस्था छ।

यो किसान आन्दोलन भए पनि यसका पछाडि केही कारण छन्। यो वर्गीय समस्या पनि हो। यो मधेश केन्द्रित दलविरुद्ध थिएन। संघीय सरकारले मात्रै हाम्रो माग सम्बोधन गर्छ भनेर आन्दोलन गरेका हौं। तर, मधेशमा किसानविरुद्ध जुलुस निकालियो। जब सरकारसँग सहमति गरेर जनकपुर आउँदै थियो, त्यो वेला प्रदेशका आन्तरिक मामिला मन्त्रीले सीके राउतलाई कारबाही गर्छौ भन्ने बयान दिए। उनीहरू सीके राउत मधेशमा आयो भने आफ्नो जमिनदारी जान्छ भनेर त्रसित बनेका छन्।

– तपाई सुट लगाउनु हुन्छ, तपाईको जीवनशैलीसँग किसानको कुरा मिल्दैन भन्छन् नि?

राम्रो कुरा गर्नुभयो, पोशाक के हो? मान्छेको पृष्ठिभूमलाई झल्काउँछ। विद्यालय जाँदा विद्यालयले निर्धारण गरेको पोशाकमा जानुहुन्छ। तपाई गरिब हो वा धनि हो त्यो कुरा कुनै महत्त्व राख्दैन।

मार्क्स, लेनिन, एंगल्स किसान थिएनन्, किसानका शुभचिन्तक थिए। उनीहरुले किसानको समस्या उठाए। कसैको पनि समस्या उठाउनको लागि त्यही वर्गको मान्छे आउनु पर्छ भन्ने छैन, जसले पनि उठाउन सक्छ।सबै ठाउँमा आ-आफ्नो पोशाक लगाउने नियम हुन्छ। मेरो प्राज्ञिक पृष्ठिभूमि छ। म क्याम्ब्रिजमा पढेको मान्छे, त्यहाँ त खाना र नास्ताको लागि समेत छुट्टै पोशाक निर्धारण गरिएको हुन्छ। जसको पृष्ठभूमि पढे-लेखेको हुन्छ, त्यसले त्यो कुरालाई बुझ्न सक्छ।

जसको पृष्ठिभूमि गुण्डागर्दी छ, जो कहिले विश्वविद्यालयको मुख नै हेरेको छैन, उनीहरू यस्तो कुरा गर्छन्। लठैत र चाकरीको बलमा मन्त्री र राज्यमन्त्री बन्न पुगेका छन्। उनीहरूले यस्तै कुरा गर्छन।

मैले आफ्नो पैसाले किनेर लगाइरहेको छु, यसैमा मलाई गर्व हुन्छ। सबैलाई थाहै छ, मेरो तलब करोडौं रुपैयाँमा थियो। मन्त्री बन्नुअघि उनीहरूको अवस्था कस्तो थियो? अहिले पो भ्रष्टाचारको पैसाले यत्रो साख देखाइरहेका छन्।

मार्क्स, लेनिन, एंगल्स किसान थिएनन्, किसानका शुभचिन्तक थिए। उनीहरुले किसानको समस्या उठाए। कसैको पनि समस्या उठाउनको लागि त्यही वर्गको मान्छे आउनु पर्छ भन्ने छैन, जसले पनि उठाउन सक्छ। राजनीति विचारधाराले हुन्छ, पोशाकले होइन। जुन व्यक्तिमा विचारधारा हुदैन, विचार शुन्य हुन्छ, उनीहरू यस्तै वाहियात कुरा गर्छन्।

– काग्रेस, एमाले, माओवादी वा मधेश केन्द्रित दल भन्दा तपाईको पार्टीलाई कसरी फरक मान्ने?

जुन-जुन पार्टीको नाम लिनु भयो, ति सबै राजनीतिक पार्टीहरूले व्यवस्था परिवर्तनका लागि आन्दोलन गरे। कसैलाई राणा मन परेन, आन्दोलन गरे। राजा मन परेन, आन्दोलन गरे। तर सत्तामा पुगेएपछि कसैले पनि जनताका लागि काम गरेनन्।

सामाजिक परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै मतलब छैन। त्यसैले हामीले राजनीतिकसँगै सामाजिक परिवर्तनको कुरा उठाएका छौं। हामी सम्यक क्रान्तिको पक्षधर हौं, राजनीतिक वा सत्ताको लागि मात्रै आन्दोलन गरिरहेका छैनौं।

– अब चुनावमा के गर्नुहुन्छ?

राजनीतिक पार्टी भएपछि त चुनावमा भाग लिनुपर्छ। चुनावमा भाग लिन्छौं। मधेशमा राजनीतिक जमिदारी लादिएको छ, त्यसलाई तोड्न पनि चुनाव लड्छौ।हिमालखबरबाट लइएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

न्यूजमधेश डेस्क काठमाडौं ,१९ मंसिर ।नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मंसिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको संघीय संसद्मा प्रतिनिधित्व हुने […]

न्युजमधेस डेस्क काठमाडौ, १०साउन। भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा […]

न्युजमधेस डेस्क काठमाडौ,८ साउन। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको बीबीसीले जनाएको छ । संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । विश्वव्यापी स्वास्थ्य संकटकाललाई […]