०७ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
×

सप्तरीको तिलाठीमा यस्तो बाढी वर्षौंपछि आए: देवनारायण यादव

Logo
प्रकाशित बिहिबार, साउन ०९, २०७६

अवधेशकुमार झा,सप्तरी । खाडो खोलामा बुधबार आएको बाढी सप्तरी जिल्लाको तिलाठी कोइलाडी–१ को तिलाठी र बेल्ही गाउँका अधिकांश घरमा पसेको छ । साताअघि खाडोको पश्चिमी तटबन्ध दुई स्थानमा भत्किएको थियो । सुरक्षाकर्मीले बाँध निर्माण गरिरहेको भएपनि पुरा नहुँदा बाढीको पानी बस्तीमा पसेको हो ।

‘एकाधबाहेक हरेक घरमा पानी पसेको छ,’ स्थानीय ललितनारायण झाले भने, ‘बिहानैदेखि पानी घरघरमा पसेपछि तिलाठीवासीले जसोतसो ज्यान जोगाएका छन् ।’ खाडो खोलाको पश्चिमी तटबन्ध निर्माण गरिने जग्गाधनी र सरकारबीच मुआब्जाको कुरा मिल्न नसक्दा तिलाठीनजिक पश्चिमी तटबन्ध निर्माण हुन सकेको छैन । बलियो तटबन्ध नहुँदा खाडो खोला तिलाठीतर्फ पसेको हो ।

‘यस्तो बाढी तिलाठीमा वर्षौंपछि आएको छ,’ स्थानीय देवनारायण यादवले भने, ‘बाढीले कुनै घर बाँकी रहेनन्, हरेकले घरभित्र खाटमा बस्नुपर्ने बाध्यता छ । कतिपय घरमा त खाटसम्मै पानी छ ।’ स्थानीय नीरजकुमार झाले कहिल्यै डुबानमा नपर्ने ठानिएकोहरूका घरहरूमा पनि पानी पसेको बताए ।

‘साँझ पानीको बहाव कम भए पनि पर्न रोकिएन, बाढीले लैजाने भयो भनेर हामी सबै डराएका छौं,’ उनले भने । बाढीले तिलाठीको सडक सम्पर्क चारैतर्फबाट विच्छेद भएको छ । राजविराज–तिलाठी सडक खण्डको लचका पुलनजिक सडकबाटै पाँच फिटसम्म पानी बगिरहेको छ । केही स्थानमा बाढीले सडक पनि कटान गरेको छ ।

‘तिलाठीबाट अहिले न राजविराज जान सकिन्छ, न पूर्वको भन्सारतर्फ,’ तिलाठी कोइलाडी–१ का वडाध्यक्ष दीनेश्वर मिश्रले भने, ‘तिलाठीवासी चारैतर्फबाट खाडोको बाढीले घेरिएका छन् ।’ गाउँपालिकाको विपद् व्यवस्थापन संयोजक राजेशकुमार झाका अनुसार खाडो र जिता लगायतका खोलाका कारण बुधबार तिलाठीका २ हजार ५ सय घर डुबानमा परेका छन् । वडा १ को तिलाठी र बेल्ही टोलका ८ सय ७५ घर डुबानमा परेको र त्यसमध्ये अधिकांश घरमा बुधबार साँझसम्म पानी बगिरहेको उनले जानकारी दिए ।

यस्तै जिता लगायतका खोलाले वडा ४ का अधिकांश घर डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंह लगायतको टोलीले बुधबार दिउँसो डुबान क्षेत्रको निरीक्षण गरेका छन् । ‘पश्चिमी तटबन्ध भत्काएर तिलाठीमा बस्ती र पूर्वी तटबन्ध भत्काएर बेलही बस्तीतर्फ खाडो सोझिएपछि जोगाउनका लागि सेना र प्रहरीले तटबन्ध निर्माण गरिरहेका थिए,’ उनले भने, ‘मंगलबार रातिदेखिको अविरल वर्षाले बाढी आयो ।’

बाढीमा जलबग्न बस्तीका अधिकांश घरमा बुधबार बिहानदेखि चुलो बलेको छैन । ‘घर घरमा रहेका अन्न सबै भिजिसकेका छन्,’ स्थानीय देवनारायण यादवले भने, ‘अधिकांश परिवारमा बुधबार साँझ खान पाक्न सक्ने स्थिति छैन ।’ स्थानीय बासिन्दाहरू झन ठूलो बाढी आउन सक्ने भन्दै त्रसित छन् । बाढीले गाउँपालिकाको कार्यालय, वडा समिति र स्वास्थ्यचौकी पनि डुबानमा परेका छन् ।- कान्तिपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]