०९ जेठ २०८२, शुक्रबार
23-05-2025 , Fri
×

माओवादीमा ‘दाहालतन्त्र’

Logo
प्रकाशित शनिबार, चैत्र २६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौँ ,२६ चैत्र । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् ।

पुसमा आयोजित पार्टी महाधिवेशनले अध्यक्षमा दाहाललाई चयन गरे पनि अन्य पदाधिकारी पछि तोक्ने भन्दै प्रतिनिधिलाई घर पठाइएको थियो । फागुनमा बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले छोरीज्वाइँसहित ९७ जना नयाँ केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए । छोरी रेणु र बुहारी बिना मगर भने पहिले नै केन्द्रीय सदस्य छन् । छोरीज्वाइँलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको भन्दै केही केन्द्रीय सदस्यले विरोध गरेका थिए ।

तर पार्टीभित्र र बाहिरको आलोचनाको परवाह नगर्ने दाहालले भाइ नारायणलाई राष्ट्रिय सभामा पठाउन प्रधानमन्त्री देउवालाई मनाएका थिए । एक मन्त्रीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले नारायण दाहाललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् ।

बुहारी बिना सांसद तथा पूर्वमन्त्री, छोरी रेणु महानगरकी मेयर, कान्छी छोरी राज्यको सुविधा पाउने गरी पूर्वप्रधानमन्त्री (दाहाल) की स्वकीय सचिव, भाइ अब राष्ट्रिय सभामा सांसद, उनीहरू मात्र होइन, कान्छा ज्वाइँ पनि केन्द्रीय सदस्य

माओवादीकै कोटामा परेका रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त पदमा अध्यक्ष दाहालले भाइलाई छानेका हुन् । तर नारायणलाई राष्ट्रिय सभामा सिफारिस गर्नेबारे पार्टीमा औपचारिक छलफल नभएको एक नेताले बताए । १० वर्ष सशस्त्र युद्धमा नारायण पनि सहभागी थिए तर दाहाल परिवारले मात्र पटक–पटक अवसर पाएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । ‘सँगै युद्धमा हिँडेका परिवारलाई साँझ–बिहानको समस्या छ, धेरै घाइतेलाई पार्टीले बिर्सिएको छ तर दाहाल परिवारका सदस्यले भने पटक–पटक मौका पाउने ? यो अनौठो भएको छ,’ माओवादीका एक नेताले भने । नारायण यसअघि पनि पटक–पटक सांसद भएका छन् ।

संविधानसभामा नारायण सभासद बनेका थिए । २०७४ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा दाहालले भाइ नारायणलाई प्रशासनिक सल्लाहकार बनाएका थिए । आठौं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीमा नारायण सदस्य भएका छन् । त्यसअघि नेकपाको वाग्मती प्रदेश अध्यक्ष थिए ।

अध्यक्ष दाहालकी छोरी रेणु पनि केन्द्रीय सदस्य बनेकी छन् । अघिल्लो पटक भरतपुरमा मेयर जिताउन दाहालले कांग्रेससँग तालमेल मात्र गरेनन्, मत नपुग्ने भएपछि माओवादी कार्यकर्ताले मतपत च्यातेर पुनः निर्वाचन गराएका थिए । अहिले पनि माओवादी अध्यक्षले भरतपुरलाई केन्द्रमा राखेर पाँचदलीय तालमेलको प्रयास गरिरहेका छन् । यद्यपि कांग्रेसको स्थानीय नेतृत्वको विरोध छ ।

दाहालले यसअघि बुहारी बिना मगरलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएका थिए । ‘जुनियर’ लाई मन्त्री बनाएको भन्दै त्यसबेला माओवादीभित्र विवादसमेत भएको थियो । कार्यसम्पादन अत्यन्तै कमजोर हुँदा पनि उनी तीन वर्ष मन्त्री रहेकी थिइन् । मगर अहिले संघीय सांसद हुन् । उनी आगामी चुनावी तयारीमा जुटिसकेकी छन् ।

दाहालले पूर्वप्रधानमन्त्रीका रूपमा राज्यबाट सुविधा पाउने गरी कान्छी छोरी गंगालाई स्वकीय सचिव बनाएका छन् । २०७४ को निर्वाचनमा कान्छा ज्वाइँ आचार्यलाई पनि प्रदेशसभा सदस्यको टिकट दिएका थिए । मोरङ–६ को (क) मा प्रदेशको टिकट पाए पनि उनी पराजित भएका थिए । अर्का ज्वाइँ सभामुखको सचिवालयमा छन् । परिवारप्रतिको ‘अतिमोह’ लाई लिएर माओवादी केन्द्रकै नेताहरू टिप्पणी गर्छन्, पार्टीमा ‘दाहालतन्त्र’ जहाँ परिवारबाहिरलाई अवसर दुर्लभ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]